इलाम । रोनाल्डो, जिनेदिन जिदान, एन्ड्रेस इनिएस्टा, फाबियो ग्रोसो, पेले, म्याराडोना र यहाँसम्म कि पापा बाउबा डिओप - हामी सबैलाई फिफा विश्वकपको पहिलो वा अन्तिम गोल गरेकोमा चिन्छौं । तर, त्यहाँ एक व्यक्ति छन् जसको गोलले सबै उन्मादलाई बाहिर निकाल्यो ।
सन् १९३० को उरुग्वे विश्वकप देखि २१ संस्करणको रुस विश्वकपको फाइनलसम्म १ हजार ३ सय भन्दा बढि खेलाडीले २ हजार ५ सय ४८ गोल गरेका छन् । तर, विश्वकप फुटबलमा पहिलो गोल गर्ने खेलाडी को होला ? फुटबलका चाख राख्नेहरुको लागि खोजीको विषय समेत हो ।
विश्वकपको पहिलो गोलकर्ता हुन्, फ्रान्सका लुसियन लरेन्ट । सन् १९३० मा भएको पहिलो विश्वकपमा मेक्सिकोविरुद्धको पहिलो खेलको १९ औं मिनेटमै गोल गर्दै कीर्तिमान रचेका थिए । यद्यपि उक्त विश्वकपमा एउटै समयमा फ्रान्स र मेक्सिको तथा अमेरिका र बेल्जियमबीच उद्घाटन खेल खेलाइएको थियो ।
अर्को खेलमा अमेरिकाका बार्ट म्याकघीले २३ औं मिनेटमा मात्र गोल गर्न सकेकाले उनी विश्वकपको इतिहासमा गोल गर्ने दोस्रो खेलाडी बन्न पुगे ।
लरेन्ट पहिलो गोलको सम्झना यसरी गर्छन्, 'पहिलो दस मिनेटमा खेलमा कुनै पनि टोलीले वास्तवमा अग्रता लिन सकेनन् त्यसपछि, अचानक, डेलफोरले एक अवसर पाए र लिबेराटीलाई दाहिने विङ्गमा पास गरे लिबेराटीले मेक्सिकोका डिफेन्डरलाई पछि पारेपछि बल केन्द्रित भयो । मैले बललाई हावाबाट सीधै बाहिर निकाले र बोनफिग्लियो (मेक्सिकोका गोलरक्षक) लाई पछि पार्दै १–० को अग्रता दिलाए ती दिनहरूमा, बधाईहरू आजकल जस्तो उत्साहजनक थिएनन् । मैले पीठमा केही थोपाहरू पाएँ र यो भयो,’ उनले भने ।
'जब मैले मेरो गोल गरे, जुन प्रतियोगिताको पहिलो र फ्रान्सको लागि मेरो पहिलो थियो, हामीले एक अर्कालाई बधाई दिएका थियौं तर उनीहरूले अहिले जस्तै एकअर्कालाई उफ्रिन नदिईकन,’ उनले थपे ।
विश्वकप फुटबलको इतिहासमा एउटै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी पनि फ्रान्सकै आन्द्रे मास्चिनट हुन् । उनले मेक्सिकोविरुद्घको खेलको ४३औं र ८७औं मिनेटमा गोल गरेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिनुअघि लरेन्टले फ्रान्सका लागि केवल १० खेल खेलेर दुई गोल गरेका थिए । अर्को गोल १ वर्षपछि इङल्यान्ड विरुद्धको मैत्रीपुर्ण खेलमा गरेका थिए ।
पहिलो विश्वकपको पहिलो र दोस्रो खेल खेले पनि घाइते भएका कारण उनले तेस्रो खेल भने खेल्न सकेका थिएनन् । घाइते भएकै कारण उनले सन् १९३४ को विश्वकप पनि खेल्न सकेनन् । उनले विभिन्न क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । दोस्रो विश्वयुद्धको समयमा उनी सेनामा पनि भर्ना भए ।
विश्वयुद्धका क्रममा जर्मन सेनाले उनलाई तीन वर्ष बन्दी बनाएका थिए । सोही समयमा जर्मनहरुले उनको विश्वकप जर्सी समेत चोरेका थिए ।
सन् १९०७ को डिसेम्बर १० मा जन्मिएका लरेन्टको मृत्यु ११ अप्रिल २००५ मा ९७ वर्षको उमेरमा फ्रान्सको बेसाङकनमा भयो ।
पहिलो गोलकर्ता लरेन्ट सन् १९९८ मा घरेलु भुमिमा फ्रान्सले ट्रफी चुमेको देख्ने पहिलो पुस्ताको एक मात्र साक्षी बन्ने अवसर पाए ।