" बुद्धिले थला परेको भोटर "

image रमेश कुमार सुबेदी बिहीबार, मङ्सिर १ २०७९
image

एउटा भाले कुखुरा र हिटलरको कथा विभिन्न माध्यममा मैले पढेको थिए,त्यो कथामा सत्यता कति छ ? थाहा नभए पनि कथाको मर्म मन पोल्नेखालको छ। अहिले त्यै कथाले मलाई पोलेको छ,मन उथलपुथल बनाई दिएको छ..........,
                      हिटलरले आफुले पालेको एउटा भालेको सबै प्वाँख उखलेछ्न। भालेको प्वाँख उखलेको कतिपय ठाउमा रगत निस्किएको पनि देखिन्थ्यो । कतै छाला निस्किएको थियो। सरल भाषामा भन्दा भाले मर्छ कि बाँच्छ भन्ने अवस्थामा पुगेको थियो ।
                    त्यो भालेलाई हिटलरले जमिनमा राख्दछन । आफु जुरुक्क उठेर हिड्दछ्न। उनि हिड्दै जादा पछाडि तिर अन्न छर्दै-छर्दै हिड्छ्न।त्यो अन्न खादै भालेले हिटलरलाई पछ्याउँदै जान्छ।
उसले हिटलरले प्वाँख उखलेर मर्नु न बाँच्नुको दोसाँधमा पुर्‍याएको सबै बिर्सन्छ। उ हिटलरको मायामा अल्झिरहन्छ।

 "चुनाव आउदैछ"

त्यो प्वाँख उखलेको भाले र "म अर्थात एउटा भोटर"मा के फरक छ ? बुझ्न खोज्दैछु।
                  कतै म त्यो भालेको पहिलेको(प्वाँख उखलिएको) अवस्थामा त छैन ? के मलाई देशको बागडोर समालेका कयौं नेता ज्यूहरुले त्यो भालेको जस्तै हालतमा पुर्‍याईएको त छैन ?  मेरो जीवनमा मैले कति चोटि चिथोरिनु अनि निचोरिनु पर्‍यो ? त्यसको हिसाब एउटा भोटरको हैसियतले यसै पटक लिनु पर्छ कि तिनैलाई पुनः मौका दिने हो ?  कि भालेको जस्तै नेताज्यूको तिलस्मी मायाजालामा रमाउदै जाने हो ?

             यो मायाजालको रमिता कति पटकसम्म एउटा भोटरले थेगिदिनु पर्ने हो ? मंसिर चार सम्म कि पाँच बर्षसम्म ? कि निरन्तर रुपमा यस्तै पटकेलाई खेप्न सक्नुपर्ने हो ? अनि यसरी पटकेलाई नै खेप्तै जादा देश चाहीँ कसले समाल्ने हो?  यस्तै-यस्तै कयौं जिज्ञासाको समाधान म खोजी रहेको छु।
               बिगतका नेताज्यू हरुले गरेको कार्य सम्पादनको मुल्यांकनलाई विभिन्न माध्यमबाट स्बिष्लेषित गरेको तथ्यगत विवरण हेर्दा मेरो अवस्था त्यही कुखुराको भाले भन्दा कमचाँही छैन ! फरक यति नै हो, म एउटा भोटरको हैसियतले नेताज्यू हरुको शव्द जाल,आश्वासन तथा पुरा गर्न नसकिने बाचाहरुको मोहजालमा पुलकित भएर भालेले झैं तिनै नेतालाई पछ्याउने कि, अरुलाई नै रोज्ने हो ? अझै मैले निर्णय गर्न सकिरहेको छैन ।

                 सायद मेरो मनको अन्तर कुन्तरमा हामीले बिश्वास गरेका नेताज्यूहरुको सम्मान अझै बाकी नै रहेर हो अथवा म मा आफुप्रतिको बिश्वासको कमीका कारणले हो ,कि मेरो चेतना स्तर उँधो भएर हो ? मैले खुट्टाउन सकेको छैन।तसर्थ मेरो मनमा हलचल भैरहेको छ ? आखिर किन मैले एक भोट दिनलाई निर्णय गर्न सकेको छैन ? यहीँ नेर मेरो विवेकले मलाई साथ दिन मानी रहेको छैन। किन ?
       सायद! तपाईलाई पनि मलाई जस्तै भएको हुनुपर्छ । सोच्नुस् त ! एकैछिन घोतलिनुस् त ! हाम्रा नेताले हामीलाई कतिपटक खुइल्याउने प्रयास गरे! कतिपटक निचोरे, चिथोरे नङ्ग्याए अनि चुनावको बेला कसरी सुम्सुम्याउन आईपुग्दै छ्न। के यो सुम्सुम्याई गोहीको आँसु जस्तो लाग्दैन ?
           अरु त अरु नै भयो,धान काट्न,दाउनी(धान झार्न/झाँट्न)गर्न, बारी खन्न अनि रोचक त के छ भने ढाड भाँच्चिने गरी निहुरियाएर नमस्कार गर्न र खुट्टा ढोग्न समेत थालेको देख्दा यिनलाई  "नौटङ्कि बाज" भन्न मन लाग्छ। नेतामा यस्तो गुण कदापि  हुदैन। नेताले जनताको पीर हटाउन के कस्तो नीति ल्याउदा राम्रो हुन्छ ?

                यसैमा चिन्तन गर्छ,मनन गर्छ।तर  यस्तो नमस्कार ,ढोगगर्दै एउटा भोटरलाई झुक्याउन गरिने छलकपड जस्तो  गुण अवसरबादी मान्छेमा हुन्छ। यस्तैले हो अगाडि दाँत ङिच्च देखाएर जनताको ढाडमा झिर रोप्ने ।
           यस्ता कपटपूर्ण उमेदवारबाट जनताले के आशा राख्ने होला ? तरपनि मेरो एक भोट यस्तैलाई दिउ- दिउ जस्तो लाग्छ । किन ? सायद मेरो बुद्धिले मलाई थला(बिरामी) पारेको हुनसक्छ।
        कृषिप्रधान देशका हाम्रा सांसदहरु कृषकको आँखामा आँसु आउने नीति बनाउछन। अन्न छर्ने बेलामा न बिउ भेटिन्छ,न मल पाईन्छ। बल्लतल्ल पसिनाको भरमा अन्न फलायो,कृषकको त्यो पसिनाको मुल्य पाउन समेत उसले एकपटक मर्नु कि बाँच्नु पर्नेहो,अन्योलमा हुन्छ।

कृषकलाई जीवन जिउन भन्दा मर्न बेस भन्ने अवस्थामा पुर्‍याउने यस्ता नीतिकारलाई मैले एक भोट दिनै पर्छ। उखु उत्पादन गर्ने किसानको कुरै नगरौं,अझै रकम पाएको कुनै जानकारी समाचारबाट सुन्न पाईएको छैन।
         त्यहीपनि देश हाक्छु भनेर हाँक दिइरहेको सुनिन्छ। देशको लागि यस्तो छाती खोलेर किसानको हकहितमा
नबोल्ने,काम नगर्ने होनहार किसान प्रेमी सांसद हुन ईच्छुक उमेदवारलाई मैले एक भोट किन नदिने ? म पक्कै एक भोट यिनैलाई दिन्छु,किनकि मेरो बुद्धिले यस्तै नेता रोज्न मन पराउछ। अरुले जेसुकै भनुन म यि र यिनैलाई भोट दिन्छु।
        मेरा छिमेकीलाई क्यान्सर भयो।उनको खुट्टा काट्नु पर्ने निश्चित भयो। उनीसँग त्यो खुट्टा काट्ने पैसा भएन।उनका छरछिमेक सहितका मनकारी मान्छेहरुले फेसबुकमा उनको उपचारको लागि सहयोग माग्नु पर्‍यो।

त्यही समय अवधिमा (सायद एकदुई दिन पछि होला!) टेलिभिजनले समाचार दिदै थियो - कुनै नेताजीको उपचारको लागि  राज्यकोषबाट लाखौं रकम सहयोग प्रदान गरिएको छ । म सोच्न बाध्य भए!  जाबो एउटा भोटरलाई किन राज्यकोषबाट रकम दिने ?  भोटर पनि मान्छे हो र ? उ बिरामी होस कि मरोस्! हाम्रो नेताज्यू लाई के को चासो। पांँचबर्षमा एक पटक भोट दिन्छ,

नेताज्यूले पाँच बर्षमा मन्त्री हुनुपर्छ,करोडौंकरोड रुपैयाँ क्वाप्प खानु पर्छ।फेरि त्यो पचाउनु पर्छ। पचेनभने पखाला लाग्छ,त्यसको उपचार गर्न राज्यकोषबाट लाखौंको रकम सहायता लिनुपर्छ । अब यस्तो उदेश्य बोकेको महान नेतालाई भोट नदिएर हुन्छ ?
          राजकोषको रकम  सहायता पाउन कम्तीमा सांसद हुनुपर्छ कि त राजनैतिक पहुँच पुर्‍याउन सक्ने  हुनुपर्छ। अरु त ! मर्ने मर्दै गरुन भन्ने नीति,ऐन र कानुन बनाउने नेताज्यू लाई एक भोट खुसीका साथ दिउ-दिउ जस्तो लाग्छ। किन ?

किनभने छेरौटीलाग्दा पनि उहाहरु जस्तो खाँट्टी जनताका छोराछोरीलाई करोडौं करोड उपचार खर्च राज्यकोषबाट दिने ऐन नियम बनाउनलाई पनि एक भोट दिन पर्छ। जीताउन पर्छ,अनि पो देश बन्छ।
      यहा खाँट्टी रुपले देश बनाउछु भन्नेलाई म ज्यान गएपनि भोट दिन्न। देशबनाउने लाई होइन देश खानेलाई भोट दिनुपर्छ । किनभने मलाई देश दुखेको छैन,मलाई राष्ट्रियता नै बचाउन मन छैन। जसले जे भनोस,म त देशको ढुकुटी सक्नेलाई भोट दिन्छु-दिन्छु।

           यस्तालाई भोट दिए त पछिसम्म,बर्षौ बर्षसम्म देशमा केहि भएन,प्रगति भएन, नीति भएन,काम भएन, भन्न पाईन्छ । त्यो भन्ने बाटो खुलाउन लाई पनि म यिनैलाई भोट दिन्छु,दिन्छु। तपाई जेसुकै भन्नुहोस मेरो एक भोट यिनैलाई ।
          महँगीले मेरो जीवनस्तर उकास्न निक्कै सहायता गरेकोछ। कुनै समान किन्न त्यसको मुल्य सुन्नुपर्छ, मेरो ढाड न्यानोहुदै जान्छ।कहिलेकाही त गर्मीमा लाग्ने "लु" ले झै रिंगटा लागेर पसिना-पसिना भएको मेरो शरीरमा पानी नपुगेर लल्याकलुलुक हुन्छ,त्यो बेला मलाई यस्ता नेतालाई भोट हाल्दिन मन लाग्छ। चन्दा लिनु र उठाउनु, नदिएमा कुनै बहानामा दुख दिएर ब्यापारीको सातोलिन सक्ने कानुन बनाएर जनतालाई महँगीको राहत दिने यस्ता बहादुर नेतालाई मेरो एक भोट पक्कै आउछ। किन ? मेरो बुद्धिले यो भन्दा अरु राम्रो उमेदवार ठम्याउन सक्दैन, त्यसैले एक भोट यिनैलाई दिन्छु।

        नेताले मजस्ता जनताको जीवनस्तर उठाउने भनेको मेरै कानले सुनेको थियो।हाम्रो जीवनस्तर उठाउन बुढाहरुले बिश्व रेकर्ड राखी सकेका रहेछ्न! महँगीले सगरमाथा भन्दा अग्लो भाउ पाई सकेको रहेछ!अहिले सगरमाथा भन्दा अग्लो महँगी बनाउन सफल हाम्रा बर्षौ-बर्ष देश चलाएका नेतालाई सम्मान सहित गिनिज बुकमा नाम लेखाउन मात्र बाँकी छ ।अब यस्ता नेतालाई भोट नदिएर कसलाई दिनु ,मेरो एक भोट यस्तै बुढाखाडा  नेताहरूलाई , तपाईको नि ?
 

           हामीले एक-एक भोट दिउ-दिउ लाग्ने कयौं नेताजी हुनुहुन्छ।उहाहरुले देशको यस्तै उन्नति,प्रगति गरेर हाम्रो पेट साँघुरिएको,मन खुम्चिएको, शरीर गलेको छ। यस्तो उत्साही अवस्थामा भोट नदिउ न भन्ने योजना बनाउ खोजेको थिए।तर अदालतले समेत  "नो भोट" को ब्यवस्था गर्न दशबर्ष अघि नै निर्वाचन आयोगलाई निर्देशन दिएको अहिलेसम्म त्यसको ब्यवस्था हुनसकेको छैन। यसको कारण सांसदहरूले ऐनकानुन धेरै चाडैं बनाई दिएको भन्ने निर्वाचन आयोगको तर्क छ। यस्तो अवस्थामा जाबो एउटा भोटरले म भोट हाल्दिन,मलाई अहिलेका उमेदवार मनपरेन भन्न कहाँ सक्थे र ! जे भएपनि एक भोट त दिने बिचार गरेको नै छु।
           
  सारांशमा
                       मान्छे सुध्रिन,उसमा पश्चातापको लक्षण देखिनु पर्छ। उसको ब्यवहारमा परिवर्तन आउनु पर्छ।अनि न एउटा भोटरले उसलाई बिश्वास गर्छ। कुन-कुन नेताले ओहो!हामीले बिगार गरेकै हो भनेर थकथकी मानेर जनतामा पश्चात्ताप गर्न गएका छन। यिनले हामीलाई खेलौना सम्झेकै थिए,सम्झेकै छन र भबिस्यमा पनि खेलौना नै बनाउने कुरा यिनकै कामगर्ने शैलीबाट प्रमाणीत भैसकेको छ ।

यस्तो बेलामा जनताको जीवन शैलीमा सुख,समृद्धि र देशको बिकाश हुनुभनेको "हात्ती आयो,हात्ती आयो, फुस्सा" मात्र हो । यिनमा सुधारहुने लक्षण देखिएकै छैन, तसर्थ यस्ता म खाउँ मलाउँ मै मात्र बाँचु भन्नेलाई  हामीले भोट हालेर जीताउनु आफ्नै खुट्टामा बन्चरो हान्नु सरह होइन र ?
            चुनावी दौरानमा "एउटा भोटरको इच्छापत्रमा" जे पनि गर्दिन्छु भन्दै लाहा छाप लगाउन तछाडमछाड गर्ने हाम्रो उमेदवारले कहिलेपनि त्यो भोटरको इच्छापत्रको सम्मान राख्न सकेको देखिदैन।हाम्रो दैनिकी यथास्थितिको अवस्था भन्दा झन गएगुज्रेको छ , किन ?  थिति'को 'राजनीति' नेताले गर्न सकेनन् ।  'मिति' पुगेकाहरु लाई 'रिति' पुर्याएरै बिदा गर्न हामी भोटरले पनि प्रयास गरेनौं ।
          राजनीति गर्ने नेताले हामीलाई एकलवाद(एकतन्त्रीय ) बाट समाजवादमा ल्याएर ,प्रगतिशीलवाद र साम्यवाद भन्दै  अहिले राजनीतिलाई अराजकता वादमा ल्याएर छाडेको कारण नै हो यि नेताको इज्जत र साख दैनिक खस्कदै गएको। अराजकता वाद भन्नाले आश्वासन दिने,बाचा गर्ने र काम नगर्ने,ठगेर खाने जस्ता कयौं कुराहरु पर्दछ,जसले नीतिलाई मान्दैन,सहदैन ।

यस्तो अराजकता वादको उदय भएको अवस्थामा न नीतिले काम गर्छ,न कुनै सिस्टम(प्रणाली)ले काम गरेको हुन्छ । जसको शक्ति छ,उ रमाउछ,जसको शक्ति(पावर) छैन उ शक्तिको ढोका-ढोका चहार्दै हिड्नु पर्छ । नेताले जबसम्म अराजकता वादलाई बढावा दिरहेका हुन्छन्  यिनको मानमर्दन भैरहेको हुन्छ। यो कुरा नेताले राम्रोसँग बुझेका छन् तर बुझपचाएर पनि किन तै चुप मै चुप भएर  बसेका छन् ? यहि कुराले मेरो मन पोलेको छ ।पिरोलिएको छ , अब तपाई सोच्नुस् त यस्तालाई भोट दिनु अपराध नभएर के हो त ?

   भद्रपुर-७, झापा।