प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक, कुन दिन के?

image आँखा सम्वाददाता बुधबार, आश्वीन १९ २०७९
image

काठमाडौं, असोज , निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न यही असोज २३ गते आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची त्यसै दिन ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ। 

सूची सार्वजनिक भएपछि उम्मेदवारको विरोधमा उजुरी दिन असोज २४ गते सोमबार बिहान १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ।

त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने प्रक्रिया सुरू हुनेछ। यसका लागि निर्वाचन आयोगले असोज २४ गते अपराह्न ३ बजेदेखि २५ गते अपराह्न ५ बजेसम्मको समय निर्धारण गरेको छ।

जाँचबुझ गरी निर्णय गरेपछि असोज २५ गते अपराह्न ५ देखि साँझ ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। 

उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ।

यसअनुसार असोज २६ गते नै दिउँसो १ बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने त्यसै दिन ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।