लाल मोहम्मद हत्या आरोपित तीन जना सार्वजनिक, उत्तर दिनेभन्दा प्रश्न जन्माउने अनुसन्धान

image मनबहादुर बस्नेत शनिबार, आश्वीन १५ २०७९
image

मोहम्मद हत्यामा भारतद्वारा प्रायोजित आपराधिक गिरोहको हात रहेको आशङ्का छ। पक्राउ परेकाहरू घटनाको बाहिरी घेराका सहयोगी मात्र रहेको अनुसन्धानरत एक प्रहरी अधिकृत बताउँछन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले असोज १४ मा लाल मोहम्मद हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूबारे जानकारी दिन पत्रकार सम्मेलन गर्‍यो। प्रहरीको दाबी अनुसार‚ २१ वर्षीय महोरम मियाँ र १९ वर्षका रेहान मियाँ घटनाका योजनाकार एवं हतियार व्यवस्थापनको भूमिकामा देखिएका छन्। दुवै जना वीरगञ्जका हुन्। मकवानपुरको बकैया गाउँपालिकाकी २१ वर्षकी सुमी भनिने सुस्मिता स्याङ्तानले चाहिं मोहम्मदको गतिविधि निगरानी गर्ने जिम्मा पाएकी थिइन्।

परिसर र अपराध अनुसन्धान कार्यालयका प्रमुखहरू वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)द्वय क्रमशः जनक भट्टराई र भरत बोहरा उपस्थित पत्रकार सम्मेलनमा पक्राउ परेकामध्ये दुई जनालाई योजनाकारको भूमिकामा देखिएको दाबी गरियो। परिसरका एसएसपी बोहराले शुरूमै मियाँद्वयलाई योजनाकार तथा हतियार व्यवस्थापक भएको बताए। बोहरापछि बोलेका अपराध अनुसन्धान कार्यालयका एसएसपी भट्टराईले मियाँद्वयले वीरगञ्जबाट काठमाडौंसम्म हतियार ल्याउने काम गरेको बताए। 

“अहिलेसम्म प्राप्त सूचना अनुसार यी दुई जना वीरगञ्जदेखि काठमाडौंसम्म हतियार ल्याउने र एकजना रेकी गर्ने मानिस हुन्,” भट्टराईले भने, “अब चाहिं घटना किन, कसरी र कसले गर्‍यो भनेर अनुसन्धान हुन्छ?”

प्रहरीले मियाँद्वयलाई योजनाकारको भूमिकामा देखिएको दाबी गरे पनि हत्याको कारण र उद्देश्य भने अहिलेसम्म खुल्न नसकेको अनौठो जवाफ पत्रकार सम्मेलनमा दियो। एसएसपीद्वयको प्रस्तुतिले उनीहरू वीरगञ्जबाट काठमाडौंसम्म हतियार ल्याउने भरियाको भूमिकाभन्दा बढी नभएको प्रष्ट देखाउँथ्यो। उनीहरूलाई के उद्देश्यले हतियार लगिएको भन्ने थाहा थियो वा थिएन भन्नेबारे प्रहरीले उत्तर दिन सकेन। योजनाकार नै भनिसकेपछि हतियार काठमाडौं लिएर जानुको कारण थाहा हुनुपर्ने हो।

योजनाकारको भूमिकामा देखिनुको आधार के हो? भन्ने प्रश्नमा एसएसपी भट्टराईले गोलमटोल जवाफ दिए। उनले भने, “हतियार कसरी ल्याउने, कहाँबाट ल्याउने भन्ने यी दुई जनाले योजना बनाएका हुन्।” हतियार काठमाडौं ल्याउनुको उद्देश्यबारे यी दुई अभियुक्तलाई थाहा थियो वा थिएन भन्नेबारे प्रहरीले पत्रकार सम्मेलनमा खुलाउन सकेन।

असोज ३ मा काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा लाल मोहम्मदलाई गोली हानी हत्या गरिएको थियो। साँझ साढे ६ बजे सर्लाहीका ५८ वर्षीया मोहम्मदलाई कारबाट ओर्लनासाथै गोली हानिएको थियो। घटना घटेको ११ दिनपछि प्रहरीले घटनाको योजनाकार सहित तीन जना पक्राउ गरेको दाबी गरेको छ। घटना लगत्तै प्रहरी मुख्यालयले एसएसपी भट्टराईको अगुवाइमा विशेष अनुसन्धान समिति बनाएको थियो। तर‚ लामो समयसम्म घटनामा संलग्नबारे पहिचान हुन नसक्दा प्रहरीको आलोचना शुरू भएको थियो। 

सामान्यतः यस्ता घटनामा संलग्न शूटर र उनका सहयोगी ‘मिशन’ सकिएपछि २४ घण्टाभित्र सुरक्षित स्थानमा पुग्ने ‘टार्गेट’ दिइएको हुन्छ। मोहम्मद विगतमा जाली भारतीय नोट कारोबारमा संलग्न थिए। यही कारण उनलाई भारतीय पक्षले राज्य संरक्षित अपराधीलाई प्रयोग गरेर हत्या गरेको आशङ्का छ। घटनाको कार्यप्रणाली (मोडस अपरेन्डी) यसअघि शृङ्खलाबद्ध रूपमा भएका भारतीय नक्कली मुद्राको कारोबारमा संलग्न भनिएका व्यक्तिको हत्यासँग मिल्दोजुल्दो भएको प्रहरी अधिकारी बताउँछन्। मोहम्मदलाई भारतले बारम्बार आफूलाई बुझाउन वा कानूनी कारबाही गर्न आग्रह गर्दै आएको थियो। विशेष ब्यूरोले समेत यसबारे प्रहरी प्रधान कार्यालय मार्फत गृह मन्त्रालयलाई जानकारी गराएको थियो। तर‚ गृहले त्यसलाई बेवास्ता गरेको थियो।

मोहम्मद हत्यामा भारतद्वारा प्रायोजित आपराधिक गिरोहको हात रहेको आशङ्का छ। पक्राउ परेकाहरू घटनाको बाहिरी घेराका सहयोगी मात्र रहेको अनुसन्धानरत एक प्रहरी अधिकृत बताउँछन्। संगठित तवरमा गरिने यस्ता अपराधमा एकअर्काको भूमिका थाहा हुँदैन। वीरगञ्जबाट काठमाडौंसम्म हतियार ल्याउने मियाँद्वयलाई उक्त हतियार केका लागि प्रयोग गरिंदै छ भन्ने थाहा नभएको ती प्रहरी अधिकृत ठोकुवा गर्छन्। 

तर‚ पत्रकार सम्मेलनमा भने उनीहरू योजनाकारको हैसियतमा रहेको बताइयो। यसले प्रहरी आफ्नो उपलब्धि देखाउने हतार र दबाबमा रहेको सङ्केत मिल्छ। “आज जति प्रमाण उपलब्ध भए ती सबै सार्वजनिक गर्ने प्रवृत्ति देखिन्छ,” भारतीय जाली नोट र आतङ्कवादसँग जोडिएका अन्तरदेशीय अपराधबारे अनुसन्धानमा दखल राख्ने अवकाशप्राप्त एक अधिकारी भन्छन्।

प्रमाण छरपस्ट पारेर अनुसन्धान  
घटना लगत्तै मोहम्मद भाग्दै गरेको र शूटरले खेदीखेदी निशाना साँधेको क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) फूटेज सार्वजनिक भयो। अनुसन्धानलाई सही दिशातिर लैजाने यस्ता प्रमाण सार्वजनिक हुने क्रम यतिमै रोकिएन। केही समयपछि घटनामा संलग्न भनिएकाहरू बसेको होटल कोशीपारिको सीसीटीभी फूटेज पनि बाहिरियो। उक्त फूटेजबाट भारतीय नागरिक नीतिन मदन अरोराको पहिचान खुलेको थियो। फूटेजमा अरोरासँगै अर्का एक व्यक्ति पनि देखिन्छन्। क्याप लगाएका उनको अनुहार फूटेजमा प्रष्ट देखिंदैन जो शूटर हुन सक्ने प्रहरीको अनुमान छ। होटलबाट अरोराको परिचयपत्र पनि प्रहरीले बरामद गरेको छ।

काठमाडौंमा लामो समयदेखि बसेका नीतिन हुन्डी कारोबारमा संलग्न भएको आशङ्का प्रहरीको छ। घटनामा नीतिनको भूमिका खुलेको छैन। “अनुसन्धान नसकिंदै यसरी महत्त्वपूर्ण प्रमाणहरू बाहिर ल्याउनु पेशागत मर्यादाभित्र पर्ने काम होइन,” पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल भन्छन्, “यो विभागीय छानबिन गरेर कारबाही गर्नुपर्ने विषय हो।”

विगतले भन्छ- शूटर पक्राउ दुर्लभ 
भारतद्वारा पेशेवर अपराधी प्रयोग गरेर गरिएका अन्तरदेशीय अपराधमा संलग्न नेपाली मारिएका घटनामा शूटर पक्राउ परेका विरलै छन्। दुई दशकमा भएका झण्डै एक दर्जन घटनामा जम्मा दुई जना मात्र शूटर पक्राउ परेका छन्। पक्राउ परेकाहरू पनि घटनास्थलबाटै मात्रै। घटनास्थलबाट उम्किएपछि सहयोगी पक्राउ बाहेक प्रहरीको सफलता शून्य छ।

२०६७ फागुनमा भारतीय जाली नोट कारोबारमा संलग्न भएको आरोपमा जेल पुगेका युनूस अन्सारीलाई काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारभित्रै पुगेर गोली हान्ने मनमित सिंह पक्राउ परेका थिए। त्यसपछि २०७० सालमा बाराको जितपुरमा आफताब अन्सारीलाई गोली हान्ने फैद आलम पक्राउ परेका थिए। गोली हानेर भाग्दाभाग्दै प्रहरीले लखेटेर फैदलाई पक्राउ गरेको थियो। पक्राउपछि फैद डेढ महीनाअघि मात्रै बारामै गोली हानी मारिएका मोहम्मद आलम र २०६८ सालमा काठमाडौंको घण्टाघरमा इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्यामा संलग्न थिए।

यस बाहेक घटनास्थलबाट भागेपछि कुनै पनि घटनामा शूटर पक्राउ गर्न नेपाल प्रहरीले सकेको छैन। सबै घटनामा शूटर भारत भाग्ने गरेकोबारे प्रहरी जानकार छ। फैजान हत्या अनुसन्धान गरेका एक प्रहरी अधिकारी नेपाल प्रहरीले शूटरको पहिचान गरेर भारतीय समकक्षीलाई सहयोग गर्न आग्रह गरेको थियो। एउटा पक्षले बुझाउन राजी भए पनि अर्को पक्षले भगाइदिएको थियो। बारा लगायतका घटनामा अपराधमा संलग्नलाई भारत र नेपालका प्रहरीले व्यक्तिगत सम्बन्धका आधारमा अनौपचारिक रूपमा आदनप्रदान गर्ने गर्छन्।

घटना लगत्तै शूटर भाग्न सफल भएकाले नेपाल प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना कम छ। त्यसमाथि लाल मोहम्मद हत्याको तौरतरीका भारतीय जाली नोट कारोबारमा संलग्न यसअघिका हत्यासँग मेल खाने भएकाले शूटरलाई भारतले नै जोगाउने देखिन्छ। नेपाल प्रहरी भने बाहिरी घेराका सहयोगीलाई नै योजनाकारका रूपमा चित्रित गर्दै ठूलो सफलता मानेर प्रचार गरिरहेको हुन सक्छ।