कांग्रेसले तय गर्‍यो प्रत्यक्ष उम्मेदवारका लागि २ मापदण्ड

image आँखा सम्वाददाता मङ्गलबार, आश्वीन १८ २०७९
image

काठमाडौँ — कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार हुन लागि दुईवटा मापदण्ड तय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठकले उम्मेदवार हुनका लागि मापदण्ड तय गरेको हो ।

बैठकले तय गरेको मापदण्डमा वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना समेत हेर्ने र स्थानीय तहको गत चुनावमा उठेकालाई अहिले उम्मेदवार नबनाउने लगायत छ ।

बैठकले तय गरेको मापदण्ड यस्तो छ:

क) उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइनेछ ।

ख) हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने ।

बैठकले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसिर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपील गरेको छ । आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन व्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारबाहीको प्रकृयालाई तदनुकुल गर्ने गरि टुंगो गर्ने निर्णय गरेको पार्टी सचिव कृष्णप्रसाद पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।