विराटनगर महानगरमा मृतकका नाममा सुरक्षा भत्ता बापत १६ लाख भुक्तानी

image ध्रुव भट्टराई मङ्गलबार, श्रावण १७ २०७९
image

मोरङको विराटनगर महानगरपालिकाले मृत्यु भइसकेका व्यक्तिको नाममा सुरक्षा भत्ता वितरण गरेको पाइएको छ।

महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण प्रतिवेदनमा २६६ जना मृतकका नाममा सामाजिक सुरक्षा भत्ता बापत १६ लाख नौ हजार १०० रुपैयाँ भुक्तानी गरेको उल्लेख छ।

महालेखाले ब्यांकबाट प्राप्त स्टेटमेन्ट लगायतका कागजात परीक्षण गर्दा मृत्यु भएका लाभग्राहीले पाउने रकमभन्दा बढी रकम दिएको देखिएकाले आवश्यक छानबिन गरी बढी दाखिला भएको रकम असुल गर्न महानगरलाई सुझाव दिएको छ। 

यस्तै‚ महालेखाले एकै जनाको नाममा रहेको फरक फरक ब्यांक खातामा महानगरबाट सामाजिक सुरक्षा भत्ता दोहोरो भुक्तानी भएको पनि जनाएको छ। दोहोरो भुक्तानी पाउनेको सङ्ख्या १२४ छ। उनीहरूलाई दिइएको रकम असुल गर्न प्रतिवेदनले सुझाएको छ। असुल गर्नुपर्ने रकम १० लाख ७५ हजार ८८७ रुपैयाँ छ।

महानगरले लाभग्राहीको लगत अद्यावधिक नगरी एकै व्यक्तिको नाम, नागरिकता नम्बर, ब्यांक खाता तथा व्यक्तिगत खाता दोहोरो परेका लाभग्राहीलाई दोहोरो निकासा हुने गरी खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। 

विराटनगर महानगरपालिकालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि समीक्षा वर्षमा संघीय सरकारबाट ४० करोड ५१ लाख ६ हजार ८९४ रुपैयाँ आएको थियो। सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को बुँदा १५ अनुसार भत्ता खाईपाई आएका कुनै लाभग्राहीको मृत्यु भएमा मृत्यु भएको दिनसम्मको भत्ता निजको हकवालालाई भुक्तानी दिन सकिने व्यवस्था छ। 

त्यसै गरी महालेखाले तत्कालीन मेयर भीम पराजुलीले चाहिनेभन्दा धेरै कर्मचारी राखेको, प्रक्रिया नपुर्‍याएको, दरबन्दीभन्दा दोब्बर कर्मचारी नियुक्त गरेको, नियम विपरीत सेवासुविधा खुवाएको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ। करारमा १३७ जना कर्मचारी नियुक्त गरी चार करोड ७८ लाख २४ हजार ४७० रुपैयाँ भुक्तानी गरेर महानगरपालिकाले अनियमित खर्च गरेको प्रतिवेदनले औंल्याएको छ। त्यस्तै‚ कानून विपरीत ५७ जनाको तह वृद्धि र ५१ जनाको ग्रेड वृद्धि गरी कर्मचारी समायोजन गरेको पनि उल्लेख छ।