सिद्धान्तबिनाको राजनीति

image रमेशकुमार अधिकारी सोमबार, भाद्र १३ २०७९
image

महापुरुष महात्मा गान्धीले जीवनमा भूलवश पनि गर्न नहुने सात महापाप औंल्याएका थिए। ती सात महापाप यस प्रकार छन्– १) सिद्धान्तबिनाको राजनीति, २) चरित्रबिनाको ज्ञान, ३) काम नगरेर जोडेको धन, ४) नैतिकताबिनाको व्यवसाय, ५) त्यागबिनाको धर्म, ६) सचेतनाबिनाको आनन्द र ७) मानवताबिनाको विज्ञान। गान्धीले औंल्याएका यी सात महापापको सन्देश मानिसलाई पापकर्मबाट जोगिएर मनुष्य बन्ने अभिप्रेरणा दिएको रूपमा बुझ्न सकिन्छ। 

अर्को शब्दमा, मानव जीवनलाई सधैं असत्य मिथ्याबाट शाश्वत सत्यको पथमा लाग्न निर्देशन दिएको रूपमा ग्रहण गर्न सकिन्छ। नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा देशको राजनीति गर्माइरहेको अवस्था छ। सत्तामा पुगेका राजनीतिक दलको सिद्धान्त र व्यवहारमा देखिएको भिन्नताउपर सञ्चार माध्यम र सामाजिक सञ्जालले लगातार खरो टिप्पणी गरिरहेका छन्। पछिल्लो ३०–३२ वर्षदेखि हालिमुहाली गरिरहेका शीर्षस्थ नेताहरूले घुमाइफिराइ आफू सत्तामा टिकिरहन आफ्नो राजनीतिक सिद्धान्त छाडेको जस्ता शब्दबाँण पनि बर्सिरहेका छन्।

नेपालले अवलम्बन गरेको राजनीतिक प्रणाली सही छ। यसो भन्नुको अर्थ राजनीति सही सैद्धान्तिक धरातलमा खडा छ। व्यवहारमा भने राजनीतिले आमजनताको भलाई र कल्याण हुनेभन्दा सीमित व्यक्ति वा वर्गको स्वार्थपूर्तिको साधन बनेको घटनाक्रमले पुष्टि गरिरहेका छन्। वर्तमान संविधानअन्तर्गत भएको पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् सुरुमा बनेको नेकपा एमालेको सरकार र हालको गठबन्धन सरकारको कार्यसम्पादनलाई हेर्दा उहाँहरू स्वयंले राम्रो ग¥यौं वा गरिरहेका छौं भन्नेबाहेक स्वतन्त्र रूपले प्रशंसा भएको पाइँदैन। बाहिरबाट हेर्दा सत्तारूढ दलका नेताका नातेदार, आफन्त र चरणभक्तहरू लाभान्वित हुने परिवेश मौलाउँदै गएको देखिन्छ। यस पृष्ठभूमिमा सिद्धान्तबिनाको राजनीति फस्टाउन थालेको अवस्था छर्लंग हुन्छ। जुन देश र नागरिकका लागि दुर्भाग्य हो।

राजनीतिमा सिद्धान्तको महŒव किन छ भने प्रथमतः सिद्धान्तको प्रतिपादन हजारौं टन रबलबाट रुवि प्रशोधन गरेजस्तै गरी हुन्छ। अत्यन्त सघन शोध र प्रयोगबाट सिद्धान्तको प्रतिपादन हुन्छ। कैयौं अनुमानित कारण र अपेक्षित परिणामका तथ्य र सूचनाहरूको विश्लेषण तथा संश्लेषण गरेर विकल्प विकास गरिन्छ। ती विकल्पहरूको परीक्षण गरेर श्रेष्ठ ठहरिएकालाई सिद्धान्तको रूपमा स्वीकार गरिन्छ। त्यसैले सिद्धान्त कालजयी हुन्छ। सिद्धान्तको स्वरूप आदर्श हुन्छ र गुण बहुजन हिताय हुन्छ। सिद्धान्तले नेतृत्वको विचार प्रवाहलाई निर्देशन गर्छ। सिद्धान्तकै आधारमा दलका नीति तथा कार्यक्रमको तर्जुमा गरिन्छ। यसै कारण राजनीतिमा सिद्धान्तको उच्च महŒव छ।

राजनीतिक दलहरूले सिद्धान्तबाट निर्दिष्ट भई दलको नामकरण, झन्डाको स्वरूप, नेतृत्व सोपान र निर्वाचन चिह्नको निर्धारण गर्ने गर्छन्। दलका नेता, कार्यकर्ता र साधारण सदस्यले आफ्नो दलको नाम, झन्डा, नेतृत्व र निर्वाचन चिह्नप्रति अगाध श्रद्धाभाव राख्छन्। दलको विधानको पालना गर्दै नेतृत्वमा पुग्ने भविष्य देखेर नै नागरिकहरू दलमा आबद्ध हुन्छन्। सरकारको कार्यपालिका र व्यवस्थापिकाका लागि हुने निर्वाचनले शासन व्यवस्थामा सरिक हुने अवसर दिने भएकाले दलको आबद्धता उज्ज्वल भविष्य निर्माणका आधारमा सदस्यहरूले हेर्ने गर्छन्।

कुनै पनि देशको राजनीतिको मूल चरित्र सो देशको संविधानले परिभाषित गरेको हुन्छ। यसरी परिभाषित गर्दा राजनीतिक सिद्धान्तका आयामहरूको चर्चा गरिएको हुन्छ। लोकतान्त्रिक देशमा राजनीतिका खेलाडी राजनीतिक दलहरू हुन्छन्। राजनीतिक दलहरूको जन्म पनि राजनीतिक सिद्धान्तमा आधारित भएर हुन्छ। त्यसैले चाहे देशको राजनीति होस् वा राजनीति दलहरू होउन्, सबैको जीवन जीवन्त बनाउने प्रमुख आधार सिद्धान्त हो। निःसन्देह देशको राजनीतिका सञ्चालक राजनीतिक दलहरू नै हुन्। यस सन्दर्भमा राजनीतिक दलहरूमा सैद्धान्तिक निष्ठा अटल रहनु पर्छ। राजनीतिक दलहरूको सैद्धान्तिक निष्ठाले नै दलका नेता तथा कार्यकर्ताहरूमा निष्ठा, नैतिकता, आचरण, कर्तव्य, जिम्मेवारी, जवाफदेहिताजस्ता चरित्रप्रधान पक्षहरू सबल हुन्छन्। लोकतन्त्र, लोकतान्त्रीकरण र लोकतान्त्रिक संस्कार सुदृढ हुन्छ।

लोकतन्त्रले आवधिक रूपमा आयोजना हुने निर्वाचनका माध्यमबाट राजनीतिक दललाई सत्तामा पुग्ने अवसर प्रदान गर्छ। सत्तामा पुगेको समयमा गरेको काम र परिणामका आधारमा जनताले आफ्नो अमूल्य मतमार्फत उनैलाई नवीकरण गर्ने वा नयाँ परिवर्तन गर्ने कार्य गर्छन्। लोकतन्त्रको यही सुन्दरताले सत्तामा पुग्ने नेता निरंकुश बन्न पाउँदैन। २०७२ असोज ३ मा वर्तमान नेपालको संविधान जारी हँुदा राजनीतिक दलका नेताहरूले नेपालमा विकास र समृद्धिको स्वर्णयुग सुरु हुने आश्वासन बाँडेको झलझली याद हुन्छ। एउटा सरकारको ठाउँमा तीन तीनवटा सरकारमार्फत जनताले सुरक्षा, न्याय र विकास पाउने भएकाले साँच्चिकै समृद्धिको नयाँ युग सुरु हुन्छ भन्ने कुरा पत्यारिलो लागेको थियो। २०७४ मा सम्पन्न तीनै तहको निर्वाचनमार्फत गठित सरकारले गरेका कामले भने जनता पटक्कै उत्साहित हुन सकेका छैनन्।

सत्तारूढ दलका नेताका नातेदार, आफन्त र चरणभत्ताmहरू लाभान्वित हुने परिवेश मौलाउँदै गएको देखिन्छ। यस पृष्ठभूमिमा सिद्धान्तबिनाको राजनीति फस्टाउन थालेको अवस्था छर्लंग हुन्छ। जुन देश र नागरिकका लागि दुर्भाग्य हो।

स्थानीय तहका लागि आयोजित पहिलो निर्वाचनबाट निर्वाचित पदाधिकारीले स्थानीय सरकार के हो भन्ने सिक्दासिक्दै अवधि सकिएको छ। प्रथमपटक निर्वाचित पदाधिकारीलाई संघीयता र स्थानीय सरकारको चुरो कुरो सिकाउन खासै ध्यान दिइएन। संघ सरकारले आफूलाई केन्द्र सरकारकै रूपमा राख्न रुचायो। सहअस्तित्व, सहकारिता र समन्वयको मर्म सिकाउन र प्रयोगमा ल्याउन रुचि देखाएन। दलहरूका केन्दीय नेताहरूले पनि पहिलो कार्यकालका पदाधिकारीलाई प्रशिक्षण दिएनन्। जसले गर्दा पहिलोपटक निर्वाचित जनप्रतिनिधिले जे जानेका थिए, त्यही गरे। कसैले राम्रो गरे, कसैले ठिकै गरे। जे भए पनि संघ र प्रदेश सरकारभन्दा राम्रो गरे। हाल स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर नयाँ निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकारको नेतृत्व गर्न सुरु गरेको अवस्था छ। यसपालि ठूला राजनीतिक दलहरूले आआफ्ना दलसम्बद्ध निर्वाचित प्रमुख उपप्रमुखलाई एकै स्थानमा भेला गराएर प्रशिक्षण दिएको अवस्था छ। यसलाई सकारात्मक मान्नु पर्छ। स्थानीय सरकार सरकारकै रूपमा चलुन् भन्ने हो। कसरी चल्ने हुन् त्यो भने भविष्यले बताउला।

प्रदेश सरकारको कुरा गर्दा संघीय सरकार परिवर्तन हुनासाथ प्रदेश सरकार पनि बदलिने अनपेक्षित अनुभव यसबीचमा भएको छ। संघ र प्रदेश सरकार स्थिर होउन् भन्ने जनताको चाहना राजनीतिक दलका नेताहरूले मिथ्या सावित गरिदिएका छन्। भविष्यतर्फ हेर्दा यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। अहिले दलहरू जसरी पनि सत्ता कब्जा गर्ने रणनीतिमा लागेका देखिन्छन्। प्रत्येक दल स्वतन्त्र रूपले निर्वाचनमा सहभागी भएर जनताबाट पाउने मतका आधारमा आफ्नो हैसियत यकिन गर्नपर्नेमा सैद्धान्तिक धरातललाई लत्याएर राजनीतिक गठबन्धनमा दलहरू जोडिएका छन्। पहिले नै सिट भाग लगाएर निर्वाचनमा जाने तयारी गर्दैछन्। यसबाट जीवनभर आफ्नो पार्टी, झन्डा, निर्वाचन चिह्न र नेतृत्वप्रतिको अनुशासन भत्काएर शीर्ष तहले जुन निर्वाचन चिह्नमा भोट हाल्ने निर्देशन दिन्छन्, सोही निर्वाचन चिह्नमा भोट हाल्ने अवस्थामा गठबन्धन आबद्ध दलहरूले कसरत गर्दैछन्।

दृश्य कस्तो हुने देखिन्छ भने जीवनभर रुख चिह्नलाई सर्वस्व ठानेको कांग्रेसको सदस्यले गोलाकार भित्रको हँसिया हथौडा चिह्नमा भोट खसाउनु पर्नेछ। यस्तै, माओवादी केन्द्रको सदस्यले रुख चिह्नमा भोट हाल्नु पर्नेछ। यस्तो अवस्था हुनु भनेको पार्टीको विधान, झन्डा, निर्वाचन चिह्नप्रतिको आस्था र विश्वासदेखि विच्छेद भएर नेतृत्वको आज्ञापालक हुनुमात्र हो। हुन त दलहरूले यो अभ्यास गत स्थानीय तहको निर्वाचनमा पनि गरेका हुन्। त्यसबखत कार्यकर्ता तहमा अनिच्छापूर्वकको आज्ञाकारिता वा विद्रोहको मनोविज्ञान प्रकट भएको हो। यसलाई केन्द्रीय स्तरका शीर्ष नेताहरूले खास वास्ता गरेका छैनन्।

वास्तवमा राजनीतिक सिद्धान्तले दलका नेतालाई निष्ठाको राजनीति गर्न घचघच्याइरहेको हुन्छ। दलका नेताहरूमा सैद्धान्तिक विचलन हुँदा अरूबाट पाउने विश्वास गुम्ने खतरा रहन्छ। विश्वास सदा अटुट रहोस् भनेर नै सिद्धान्तबिनाको राजनीतिलाई महापाप भनिएको हो। नेपालका राजनीतिक दलहरूले सत्ताका निम्ति गरिरहेको गठबन्धनले नौलो चरित्र देखाउँदैछ। केन्द्रीय नेता सुरक्षित रहने र प्रदेश तथा स्थानीय तहका नेताहरूको नेतृत्वका लागि प्रतिपस्र्धा गर्ने अवसर अवरुद्ध पार्ने स्थिति बनाउँदै छ।

राजनीतिक दलभित्र व्यक्तिको नेतृत्व विकासमा पनि सिद्धान्तको उच्च महŒव हुन्छ। व्यक्ति सिद्धान्तनिष्ठ हुँदा निजको चरित्र असल र क्षमता अब्बल हुन्छ। फलस्वरूप सेवाभाव प्रबल हुन्छ। अध्ययनशील दैनिकी हुन्छ। भविष्य निर्माणको चिन्तन हुन्छ। सधैं सकारात्मक ऊर्जा प्रवाह हुन्छ। जीवनलाई एक साहसी खेलको रूपमा ग्रहण गर्ने स्वभाव बन्छ। सन्तुलित जीवन जिउने आदत बस्छ। स्वयंको नवीकरण गर्ने बानी हुन्छ। सिद्धान्त, दर्शन, नीति, विचार, कार्यक्रमका माध्यमबाट राजनीति जीवन्त भइरहनु पर्छ। राजनीतिमा प्राण भर्ने उल्लेखित तŒवहरू डगमगाउँदा राजनीति पिँध नभएको लोटाजस्तो ढुलमुल भइरहन्छ। मूल्यमान्यता हराउँछन्। आस्था घट्छ। विश्वास गुम्छ।

राजनीतिका प्रणेताहरूले सिद्धान्त र दर्शनलाई दरिलो गरी परिभाषित गरेका हुन्छन्। राजनीतिमा नीति र नेतृत्वको सर्वोपरि महŒव हुन्छ। नीति र नेतृत्व अभिप्रेरित हुने आधार सिद्धान्त र दर्शन हो भने लोकप्रिय हुने आधार विचार र कार्यक्रम हो। राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता तथा सदस्यहरूलाई अरू दलको निर्वाचन चिह्नमा मतदान गर्ने निर्देशन दिन उन्मुख भइरहँदा गीता तृतीय अध्यायको ३५औं श्लोकमा रहेको ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः’ को स्मरण हुन्छ। हुन त सन्दर्भ फरक छ तर आसय भने मिल्छ। अर्थात् जीवनभर दृढ रहेको निर्वाचन चिह्न छोडेर अरूको निर्वाचन चिह्नमा मतदान गर्ने अवस्था आउनु भनेको भयावहको संकेत हो। अतः प्रत्येक राजनीतिक दल एक्लाएक्लै रूपमा जनताको अभिमतले परीक्षण हुने कुरा नै राजनीतिमा सिद्धान्तको परिपालना हो।