उपेन्द्र यादवको क्षेत्रबाट चुनाव लड्ने सीके राउतको घोषणा

image आँखा संवाददाता शनिबार, श्रावण २१ २०७९
image

जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी-२ बाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन्।

सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै अध्यक्ष राउतले उम्मेदवारी घोषणा गरेका हुन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणा गरेको छ।

सप्तरी-२ जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको क्षेत्र हो। उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

जनमत पार्टीका अध्यक्ष राउतको घर पनि यही क्षेत्रमा पर्छ। उनी सप्तरी-२ मा पर्ने महदेवा गाउँपालिका-२ का बासिन्दा हुन्।  

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका केही वडामा जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। स्थानीय चुनावबाट सप्तरीमा जनमत पार्टीको उपस्थित बलियो देखिएको छ। हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर र बलानबिहुल गाउँपालिकाको अध्यक्षमा पनि जनमत पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित भएर बसेको जनमत पार्टीको केन्द्रीय कमिटीको बैठकमा राउतको उम्मेदवारीका विषयमा छलफल भएको जनाइएको छ। केन्द्रीय सदस्यहरूको आग्रहपछि आफू सप्तरी-२ बाट निर्वाचन लड्ने निष्कर्षमा पुगेको अध्यक्ष राउतले बताए।

आगामी निर्वाचनमा सुशासन, सेवाप्रवाह र सामाजिक मुद्दालाई लिएर चुनावमा सहभागी हुने उनको भनाइ छ। “देशमा संघीयता आए पनि जनताले संघीयताको अनुभूति गर्न सकेका छैनन्, स्वायत्तता सहितको संघीयता हाम्रो मूल अजेन्डा हो,” राउतले हिमालखबरसँग भने। जनतालाई अनुभूति हुने गरी संघीयता र लोकतन्त्रको अभ्यास गर्न आफू चुनाव लड्न लागेको उनको भनाइ छ।

२०७५ फागुन २४ गते जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो। त्यसयता जनमत पार्टीले तराई मधेश केन्द्रित रहेर आफ्नो राजनीतिक गतिविधि अघि बढाउँदै आएको छ।

सप्तरी-२ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष यादव २१ हजार ६२० मतले विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेश यादवले ११ हजार ५८० मत पाएका थिए। त्यस्तै, स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले नौ हजार ४५९ मत पाएका थिए।