टिप्पणी : ‘अराजक’ रविको राजनीतिक परीक्षा

image उमेश श्रेष्ठ शनिबार, भाद्र ४ २०७९
image

शासकीय अव्यवस्थाले आजित बनेको ठूलो समूहलाई उत्तेजक पत्रकारिताका बलमा अन्धभक्त बनाउन सफल रविको राजनीतिक पथ टेलिभिजन कार्यक्रममा कसैलाई थर्काए जति सजिलो भने छैन।


प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्न मन्त्रिपरिषद् बैठक बस्दै गर्दा नेपालगञ्ज रङ्गशालाको मञ्चमा एक अधबैंसेलाई डाकियो। माइकअघि उभिएर उनले भने, “नमस्कार, म रामबहादुर विश्वकर्मा।” त्यसपछि शब्दै रोकियो।

त्यहाँ भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बाँके जिल्ला भेला चल्दै थियो। तर, मञ्चमा कुनै नेता थिएनन्। सहभागीमध्येबाटै उद्घोषकले १० जनालाई ‘मेरो परिकल्पनाको देश’ शीर्षकमा बोल्न तीन मिनेट दिएका थिए।

केही बेरको मौनतापछि विश्वकर्मा अश्रुमिश्रित आवाजमा बोले, “मेरो देश यस्तो बनोस्, रवि लामिछाने जस्तो बनोस् !” अर्का सहभागी बालकृष्ण चापागाईंले भने, “रवि सरले जे परिकल्पना गर्नुभएको छ, मेरो देश त्यस्तै बनोस्।” आफूप्रतिको यही ‘अन्धविश्वास’लाई रवि लामिछाने अहिले राजनीतिमा उपयोग गर्ने प्रयासमा छन्। र, यस्तो लगाव उनको ‘नेतागिरी’ होइन, टेलिभिजन प्रस्तोताका रूपमा बनाएको सेलेब्रिटी छविको उपज हो।

राजनीति र मिडियाको सम्बन्धबारे अध्यापन गराउने प्राध्यापक जोन स्ट्रिटका अनुसार, टेलिभिजनबाट राजनीतिमा ‘सेलेब्रिटी इन्फ्लुएन्स’ गर्न सजिलो हुन्छ। कारण, अरू माध्यमभन्दा बढी दर्शकसँग नजिक महसूस गराउने र जनताको मानवीय पक्षमा बढी केन्द्रित हुने यसको विशेषता।

अघिल्ला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, भारतीय अभिनेत्री स्मृति इरानी टीभीबाटै लोकप्रियता कमाएर राजनीतिमा लब्धप्रतिष्ठ बनेका पछिल्ला अन्तर्राष्ट्रिय उदाहरण हुन्।

रविले न्यूज २४ टेलिभिजनमा चलाउन थालेको ‘सीधा कुरा जनतासँग’ ले छोटो समयमै उनलाई यसरी पत्याउनेको ठूलो जमात् खडा गरिदियो, जुन सामाजिक सञ्जालमा मात्र होइन, देशका विभिन्न शहरमा हुँदै गरेका पार्टी भेलाहरूमा पनि देख्न सकिन्छ।

‘अन्धविश्वास’ नै शक्ति

२०७३ मंसीरदेखि रविले न्यूज २४ टेलिभिजनमा चलाउन थालेको ‘सीधा कुरा जनतासँग’ ले छोटो समयमै उनलाई यसरी पत्याउनेको ठूलो जमात् खडा गरिदियो, जुन सामाजिक सञ्जालमा मात्र होइन, देशका विभिन्न शहरमा हुँदै गरेका पार्टी भेलाहरूमा पनि देख्न सकिन्छ। तर, ती भेला राजनीतिक नभएर ‘सेलेब्रिटी’ हेर्न आएकाहरूको जमघट जस्ता लाग्छन्। अधिकांश सहभागी ‘रवि दाइ’सित सेल्फी खिच्ने होडबाजीमा हुन्छन्। उनको भाषणलाई मोबाइलमा कैद गर्छन्। माहोल ‘म्यूजिकल कन्सर्ट’ जस्तो बन्न पुग्छ।

सामाजिक सञ्जालमा पनि उस्तै पकड छ। फेसबूकमा उनलाई १० लाखभन्दा बढीले पछ्याउँछन् जुन प्रधानमन्त्री शेरबहादुर देउवाको भन्दा करीब आठ लाख, पूर्व प्रधानमन्त्री केपी ओलीको भन्दा सात लाख र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको भन्दा ६ लाखले बढी हो।

रविप्रतिको सार्वजनिक ‘क्रेज’ २०७६ सालमै देखिएको हो, जब उनलाई शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा चितवन प्रहरीको हिरासतमा राखियो। पुडासैनीले आत्महत्याअघि बनाएको भिडिओमा लगाएका आरोपलाई समर्थकले वास्ता गरेनन्। बरु, रविका पक्षमा विभिन्न शहरमा प्रदर्शन चर्काए। यो अन्धविश्वास नै उनको यस्तो ‘शक्ति’ हो जसको उपयोग उनले राजनीतिमा गरिरहेका छन्।

चितवनकै घटनापछि राजनीतिमा आउने सोच बलियो बनेको रवि बताउँछन्। त्यसपछि नै नेता छान्ने रियालिटी शो ‘द लिडर’को घोषणा गरे जसमा सहभागी प्रतिभावान् व्यक्तिहरूलाई समेटेर नयाँ पार्टी खोल्ने उनको योजना थियो। तर, बन्दाबन्दीले ‘अडिसन’ नै हुन सकेन।

आचारसंहिताले नबाँधिएको छवि

‘सीधा कुरा’ को अधिकांश भागको ‘मोनोलग’मा रवि नेताकै आलोचना गरिरहेका हुन्थे। नेपाली समाजलाई सबैभन्दा छुने वैदेशिक रोजगारीको ठगी, विमानस्थल अध्यागमनको बेथिति अनि भ्रष्टाचारका विषयमा उनी आक्रामक भएर लागे। लाइभ अन्तर्वार्तामै सरोकारवालाको झाँको झार्नेदेखि अलपत्र परेकाहरूको उद्धारसम्मका घटनाले उनलाई चर्चित बनायो। समस्या समाधान हुने आशमा उनको कार्यालयमा भीड देखिन थाल्यो।

दर्शकमाझ रविको यो छवि पत्रकारिताको सीधा बाटोबाटभन्दा पनि आचारसंहिता तोडेर बनेको थियो। नत्र कुनै राष्ट्रिय टेलिभिजनको कार्यक्रम प्रस्तोताले ‘लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर, घुमाएर एक-एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी’ भनेको इतिहास छैन।

गत साउन २० मा राष्ट्रिय स्वतन्त्र पार्टीको दाङ जिल्ला भेलामा समर्थकमाझ रवि लामिछाने।
प्रेस काउन्सिलले सचेत गराउँदै पत्र पठाउँदा उनले जवाफ लेखेका थिए, ‘म पत्रकार होइन, भइसकेको छैन।... अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्नेछु।’ नियामक निकायलाई यो जवाफ उपयुक्त नभए पनि अन्धसमर्थकहरूले साइबर युद्ध छेडेरै उनको समर्थन गरेका थिए।

आफ्नो समेत लगानी रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा आएपछि भने मर्यादा नाघेर जे पनि बोलिदिने र अतिथिलाई हप्काए जसरी प्रश्न सोध्ने उनको शैली केही मत्थर देखियो।

सामाजिक सञ्जालको भीडले टीभीमा चिच्याएर हुँदैन, नेतृत्व लिन राजनीतिमा आउनुपर्छ पहिल्यैदेखि भनिराखेकै थियो। रवि उपयुक्त समयको पर्खाइमा थिए। “पछिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा उठौं कि भन्ने सोच आएको थियो,” उनी भन्छन्। निर्वाचनको नतीजापछि भने दल खोलेरै राजनीतिमा आउन प्रेरणा मिलेको उनले गृहजिल्ला काभ्रेमा आयोजित भेलामा खुलाएका छन्। पत्रकारितामा फरक शैली अपनाएकैले जसरी जनतासँग नजिक भए, त्यसरी नै उनले राजनीतिमा पनि फरक काम गर्न सक्लान् त?

फेवातालमै ‘सेट’ बनाएर कार्यक्रम चलाउने तरकिब उहिल्यै लगाएका उनले केही प्रयास भने गरेको देखिन्छ। जस्तो, उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा मञ्चमा नेतालाई राखिँदैन, सहभागीबाट छानिएका १० जनालाई राखिन्छ। उनीहरूका कुरा नेताले दर्शकदीर्घामा बसेर सुन्छन्। कार्यक्रम निर्धारित समयमै घण्टी बजाएर शुरू गरिन्छ। जुनसुकै निर्वाचनमा उम्मेदवारीको टिकट साधारण सदस्यहरूको मतबाट दिने, भ्रातृ संगठन र कार्यकर्तारहित पार्टी बनाउने उनको उद्घोष छ।

उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा मञ्चमा नेतालाई राखिँदैन, सहभागीबाट छानिएका १० जनालाई राखिन्छ।

कहाँबाट निर्देशित?

कोरोना खोप नेपालमै बनेकोदेखि भूताहा घरसम्म- रविको कार्यक्रमका धेरै सामग्री यस्ता पनि थिए। तथ्य विनाका यस्ता सामग्रीले ‘भ्यूज’ बढाउन सघाए पनि सही कुरा नउठाउने र गलत पक्षपोषणको खतरा रहन्छ। नेताले त भीडलाई सही र गलत बुझाएर आफ्नो अजेन्डामा डोर्‍याउने क्षमता राख्नुपर्छ। नेपालमा आफूसित त्यस्तो नेतृत्वको अनुभव नभएको रवि स्विकार्छन्। तर, अमेरिकामा छँदा कार्यरत संस्थामा ठूलै समूहको नेतृत्व गरेको र ग्राहकका समस्या समाधानको सीप विकास गरेको उनको दाबी छ।

राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा आउँदै गर्दा उनी गणतन्त्र र संघीयता विरोधी मुद्दा उठाएर सामाजिक सञ्जालमा चर्चा कमाइरहेका थिए। स्थानीय निर्वाचनअघि रवि पनि राप्रपा प्रवेश गर्नेबारे छलफल भएको थियो। राप्रपाको पुरातन शक्ति र उनको सेलेब्रिटी छविको समागमले हजारौंको बलिदानपछि आएको व्यवस्थामा चुनौती थपिने सम्भावना हुन्थ्यो। तर, नयाँ पार्टी खोलेर उनले भीडबाट निर्देशित नहुन खोज्ने प्रयास गरेको देखिन्छ। यद्यपि, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे पार्टीको स्पष्ट धारणा अझै आइसकेको छैन।

वैकल्पिक राजनीतिमा आशा जगाएकाहरू संगठित भएको साझा (पछि विवेकशील साझा) पार्टीको नेतृत्व गरेका पूर्व सञ्चारकर्मी रवीन्द्र मिश्रले पनि संघीयता खारेज गर्ने, राजतन्त्र राख्ने र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने धारणा राखेसँगै पार्टी छिन्नभिन्न भयो। स्थानीय निर्वाचनमा समेत यसको प्रदर्शन बिर्सनलायक रह्यो।

राष्ट्रिय स्वतन्त्र पार्टीका भेलाहरूमा प्रवक्ता मुकुल ढकाल यस्ता मुद्दामा पार्टीभित्रै विचार उठाउने अधिकार रहने र पारित भए पार्टीको आधिकारिक अजेन्डा र नीति हुने बताउँछन्। तर, यसो गर्दा पार्टीले पहिल्यै जनमत पाइसक्ने अनि त्यसपछि वैचारिक नीति चाहिं संघीयता र गणतन्त्र विरोधी आए थुप्रैको बलिदानपछि आएको व्यवस्था संस्थागत नहुँदै धरापमा पर्ने जोखिम रहन्छ।  

“टीभीमा बोल्नभन्दा भाषण गर्न गाह्रो रहेछ,” रवि स्विकार्छन्, “टीभीमा दस्तावेज र फ्याक्टका आधारमा बोलिन्थ्यो, भाषणमा अमूर्त कुरा पनि बोल्नुपर्ने रहेछ।”

प्रयोगमाथि प्रयोग

रविले सामाजिक सञ्जाल र देशकै लोकप्रिय टेलिभिजन कार्यक्रमबाट कमाएको लोकप्रियता प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा भोटमा परिणत हुन्छ कि हुँदैन, मंसीर ४ पछि मात्र थाहा हुनेछ। यो भनेको परम्परागत दल र पुराना नेताहरूप्रतिको वितृष्णाबीच मतदाता विकल्प खोज्नतिर लाग्छन् कि लाग्दैनन् भन्ने परीक्षण पनि हो।

चितवन, झापा, धरान, विराटनगर, कास्की, धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ र बुटवलका भेलाहरूमा भएका स्वस्फूर्त सहभागिताले आफ्नो हौसला बढेको पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा बताउँछन्। तर, धनगढीको प्रदेश भेलामा रिपोर्टिङका लागि पुगेका स्थानीय पत्रकार महेन्द्र बम एउटा सहकारीको चुनावमा पनि त्यति भीड जम्मा हुने तर्क गर्छन्।

यी भेलाहरूमा कहिल्यै कुनै पार्टीको सदस्य नभएकाहरू समेत नागरिकता र मतदाता परिचयपत्रको नम्बरै राखी फारम भरेर सदस्यता लिइरहेको देखिन्छ। तर, तिनको मत सोही पार्टीलाई खस्छ/खस्दैन, ठोकुवा गर्न सकिँदैन। अर्कातिर, परम्परागत दलले हलुका रूपमा लिए काठमाडौं महानगरमा बालेनले जसरी नै रविको पार्टीले उनीहरूको ‘भोट ब्यांक’ काट्न सक्ने सम्भावना पनि नकार्न सकिन्न। तर, रविको ‘सेलेब्रिटी क्रेज’ले भीड ताने पनि पार्टीमा देखाउने उम्मेदवार र नेताको अभाव छ।

नेताका रूपमा उनका भाषण कार्यक्रम प्रस्तोताको जस्तो दमदार सुनिन्नन्। “टीभीमा बोल्नभन्दा भाषण गर्न गाह्रो रहेछ,” रवि स्विकार्छन्, “टीभीमा दस्तावेज र फ्याक्टका आधारमा बोलिन्थ्यो, भाषणमा अमूर्त कुरा पनि बोल्नुपर्ने रहेछ।”

रवि टीभीबाट राजनीतिमा आएर एउटा प्रयोग गर्दै छन्, दर्शक मतदाताका रूपमा नयाँ नेतालाई चुन्ने-नचुन्ने अर्को प्रयोग गर्दै छन्। यो प्रयोगले देशलाई फाइदा गर्ने हो कि बेफाइदा, नतीजा आइसकेपछि मात्र थाहा हुनेछ। तर, आगामी निर्वाचनमा यो दलले समानुपातिकतर्फ स्थापित भनिएका दलहरूले नसोचेको मत ल्याए आश्चर्य नहुन सक्छ।

(श्रेष्ठ नेपाल फ्याक्ट चेकका सम्पादक हुन्। हिमालको २०७९ भदौ अंकबाट।)