संघीय सरकारले गर्‍यो ६६३ अस्थायी दरबन्दी सिर्जना

image आँखा संवाददाता बुधबार, भाद्र १५ २०७९
image

नेपाल सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका आयोजनाका लागि ६६३ अस्थायी दरबन्दी सिर्जना गरेको छ। 

मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत मात्रै ४३१ दरबन्दी सिर्जना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोग अन्तर्गत सञ्चालित परियोजना र कार्यक्रमका लागि १०५ अस्थायी दरबन्दी स्वीकृत गरिएको मन्त्री कार्कीले बताए। 

यस्तै, मन्त्रिपरिषद्ले उद्योग, वाणिज्य मन्त्रालय अन्तर्गत ३०, कृषि तथा पशुपन्छी मन्त्रालय मातहतका परियोजनाका लागि ५० र वन तथा वातावरण मन्त्रालय अन्तर्गत ४७ अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
 
भदौ १४ गते आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नयाँ नियुक्त गर्ने नभएर स्थायी कर्मचारीबाटै पूर्ति गर्ने गरी अस्थायी दरबन्दी सिर्जना गरिएको बताए।