शेखर समूहले ‘कन्स्ट्रक्टिभ’ विद्रोह गर्ने!

image आँखा संवाददाता शुक्रबार​, आषाढ १७ २०७९
image

डा. कोइराला समूहले बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला गरेको छ। भेलामा समसामयिक राजनीतिसँगै पार्टीको आन्तरिक सुशासनका विषयमा छलफल भएको नेता चन्द्र भण्डारीले बताए।

भेलापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता भण्डारीले भने, “आजको बैठकमा ‘कन्स्ट्रक्टिभ’ विद्रोहको कुरा भएको छ।”

उनले यस विषयमा धेरै चर्चा गर्न खोजेनन्। सञ्चारकर्मीले यसबारे राखेको प्रश्नमा उनले भने, “अहिले यति नै बुझौं, भोलि निष्कर्ष सुनाउँछौं।”

भेलामा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, समूहको पार्टी संस्थापन पक्षलाई दबाब दिन भेला आयोजना गर्ने, गोष्ठी गर्ने, जुलूस निकाल्नेसम्मका विद्रोहका कार्यक्रम गरिनेछ। त्यस्तै, सरकारलाई सुशासनमा चल्नका लागि दबाब दिन प्रदर्शन पनि गरिने भएको छ। “विधिवत् रूपमा चलाउन आफ्नै पार्टी र सरकार विरुद्ध जुलूस निकाल्ने, विरोध प्रदर्शन गर्नेसम्मका विषयलाई ‘कन्स्ट्रक्टिभ’ विद्रोह भनिएको हो,” ती केन्द्रीय सदस्यले भने।

त्यस्तै, डा. कोइराला पक्षको भेलामा पार्टीको आन्तरिक विषयमा पनि छलफल भएको छ। “राजनीतिक सोचाइमा पनि परिवर्तन भएको छ। हाम्रो विचार समूहलाई कसरी लैजान भन्ने विषयमा छलफल भएको छ,” नेता भण्डारीले भने।

यससँगै समसामयिक राजनीति, गठबन्धन, आगामी चुनावका विषयमा पनि विस्तृत छलफल भएको उनले बताए। यी विषयमा थप छलफलका लागि शुक्रबार दिउँसो २ बजे पुनः बस्ने भएका छन्। शुक्रबारको भेलापछि आफ्नो समूहको निष्कर्ष सार्वजनिक गरिने भण्डारीले बताए।

आजको भेलामा डा. कोइरालासँगै कांग्रेस महामन्त्री गगन थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, नेताहरू बलबहादुर केसी, चन्द्र भण्डारी लगायत केन्द्रीय सदस्य र युवा नेता सहभागी थिए।