कोरोना भाइरसको ओमिक्रोन बीए फाइभ भेरिअन्ट कति घातक?

image आँखा संवाददाता सोमबार, आषाढ २० २०७९
image

युरोप र अफ्रिकामा फैलिएको कोरोनाभाइरसको ओमिक्रोन बीए फाइभ उपप्रजाति नेपालमा पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, "असार १५ गते कोभिड पुष्टि भएका व्यक्तिको जीन सीक्वेन्सिङ गर्दा १७ गते बीए फाइभ भेटिएको हो। यो नयाँ भेरिअन्ट होइन, ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रजाति हो र सर्ने तरिका पनि उही नै हो।"

बीए फोर र बीए फाइभ भेरिअन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ।ओमिक्रोन भेरिअन्टको नयाँ उपप्रजातिबाट सङ्क्रमण पुष्टि भएकै साता नेपालमा ३४९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो उपप्रजातिहरूलाई मार्च महिनामा निगरानीको सूचीमा थपेको हो र युरोपमा यो 'चिन्ताजनक भेरिअन्ट'को सूचीमा छ।प्रारम्भिक अध्ययनहरूमा कम घातक भनिए पनि छिटो फैलन सक्ने देखिएकाले जोखिम समूहमा रहेका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

 

ओमिक्रोन भेरिअन्ट कोरोनाभाइरसका अघिल्ला उत्परिवर्तनहरूभन्दा कम घातक देखिएको प्रारम्भिक विवरणहरू आए पनि यसबारे विस्तृत अध्ययन नभएको विज्ञहरूले बताएका छन्।

पछिल्लो समय पहिचान भएका बीए फोर र बीए फाइभ उपप्रजाति नेपालमा सबैभन्दा बढी क्षति पुर्‍याएका डेल्टा भेरिअन्ट जस्तो घातक नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजकसमेत रहेका पुनले बताए।

"यसअघि जस्तो डराउनुपर्ने अवस्था छैन। एकदमै घातक हुन्थ्यो भने यसले युरोप र अमेरिकामा ठूलो क्षति पुर्‍याइ सकेको हुने थियो," पुन भन्छन्।"तर दुई मात्रामा खोप लगाएको छ, छैन। बुस्टर लगाएको छ, छैन। दीर्घ रोगी र जोखिम बढी हुने उमेर समूहका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्छ।"यसअघि कोरोनाभाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरिअन्टहरू देखिएका थिए जसले सङ्क्रमणको ठूलो लहर निम्त्याएका थिए।

यो भेरिअन्ट कहाँ देखिएको छ?

सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान भएको यो भेरिअन्ट छिमेकी देश भारतसहित अधिकांश युरोपेली देशहरू, अमेरिका, अस्ट्रेलिया र अफ्रिकामा पुष्टि भएको छ।पछिल्लो समय युरोपका धेरै देशहरूमा अधिकतम सङ्क्रमण बीए फाइभ प्रजातिको छ।

"कोभिड रोकथामसम्बन्धी प्रतिबन्धहरू अहिले नरहेका कारण नेपालसँग आवतजावत भइरहने देशहरूमा भेटिएका कुनै पनि भेरिअन्ट नेपालमा रोक्न सकिने अवस्था अहिले देखिँदैन" पुन भन्छन्।

खोपले काम गर्छ?

धेरै मानिसमा विगतमा भएको सङ्क्रमण र खोपका कारण रोगप्रतिरोधी क्षमता विकास भइसकेको छ जसले समग्रमा सङ्क्रमणलाई कम जोखिमपूर्ण बनाउन मद्दत पुर्‍याउँछ।

इन्फोग्राफ

तर नयाँ प्रजातिबाट सङ्क्रमण छिटो फैलनुमा मानिसको रोगप्रतिरक्षा क्षमता कम हुँदै जानुले प्रभाव पारेको हुन सक्ने ठानिएको छ। तर यसको मुख्य कारण भाइरसमा देखिएको उत्परिवर्तन नै हो।

यो भेरिअन्ट विरुद्ध खोपको प्रभावकारिताबारे धेरै अध्ययन हुन बाँकी नै रहे पनि "खोपले काम नगरेका कारण मानिसहरू अस्पताल भर्ना भएको अझैसम्म नदेखिएको" टेकु अस्पतालका पुनले बताए।धेरै देशहरूले कोभिड-१९ नियन्त्रणका लागि लागु गरेको प्रतिबन्धहरू हटाएका छन्। यसको मतलब मानिसहरू घुलमिल भएका छन्। यस्ता गतिविधिले पनि भाइरसलाई फैलिने मौका दिन्छ।

 

हालसालै ओमिक्रोनको अन्य भेरिअन्टको सङ्क्रमण भएका मानिसहरूमा पनि पुनः बीए फोर र बीए फाइभ उपप्रजातिको ओमिक्रोन देखिएको छ।सङ्क्रमणको नयाँ लहरमा धेरै मानिसहरू अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुग्न सक्छन् वा मृत्युदर बढ्न सक्नेप्रति कतिपय विज्ञहरूले सचेत गराएका छन्।

कोभिड खोपहरू उत्परिवर्तित प्रजातिविरुद्ध अद्यावधिक गर्न खोजिएका छन् र तिनको परीक्षण भइरहेको छ।उत्पादकहरूले उत्पादनलाई तीव्र बनाउन सक्छन् र र नियामक निकायहरूले यस प्रक्रियालाई कसरी छिटो अगाडि बढाउने भन्ने विषयमा छलफल गरिरहेका छन्।

इन्फोग्राफ

उत्परिवर्तन किन हुन्छ?

भाइरसहरूले पुनः उत्पादनका निम्ति आफ्नै प्रतिलिपिहरू बनाउँछन् तर यस कार्य सधैँ पूर्ण नहुन सक्छन्।पुनरुत्पादन क्रममा हुने त्रुटिहरूका कारण आनुवंशिक संरचना परिवर्तन हुन्छ र त्यसले गर्दा भाइरसको नयाँ संस्करण देखिन्छ।

यस्ता उत्परिवर्तनका कारण भाइरस जीवित रहने सम्भावना रहन्छ भने त्यो भेरिअन्ट फस्टाउन पुग्छ।कोरोनाभाइरस जति धेरै समय मानव शरीरमा रहन्छ त्यति नै प्रतिलिपि बनाउने अवसर पाउँछ र उत्परिवर्तनको सम्भावना पनि ज्यादा रहन्छ।

 

सङ्क्रमणबाट कसरी जोगिने?

कोरोनाभाइरसका अन्य भेरिअन्टमा जस्तै यी नयाँ उपप्रजातिहरूले पनि वृद्धवृद्धालाई वा अन्य स्वास्थ्य अवस्था रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने जोखिम यथावत् रहन्छ।

हाल उपलब्ध खोपहरू यी भेरिअन्टका लागि सर्वोत्तम उपाय होइन। यद्यपि सुरक्षाको लागि खोप महत्त्वपूर्ण छ।ती खोपहरूले डेल्टा, अल्फा र बीटाजस्ता प्रजातिका कोभिड फैलिँदा मानिसहरूलाई गम्भीर अस्वस्थताबाट जोगाएका छन्।

चिकित्सकहरूले कोभिडका हालसम्म देखिएका र आगामी दिनमा देखिन सक्ने भेरिअन्टहरूविरुद्ध सर्वाधिक सुरक्षाका निम्ति सुझाइएको मात्रा खोप लगाउनु अपरिहार्य रहेको बताएका छन्। BBC