प्रदेश १ को नामकरण गर्न एमालेले बनायो पाँच सदस्यीय समिति

image आँखा संवाददाता बिहीबार, जेष्ठ २६ २०७९
image

बिराटनगर, जेठ २६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ को नामकरणका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा प्रदेश नामकरण समिति गठन गरेको हो । 

समितिको सदस्यमा पूर्वसामाजिक विकासमन्त्रीद्वय जीवन घिमिरे र उषाकला राई, पूर्वउद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत र सांसद अर्जुन राई रहनुभएको छ । निर्वाचन सकिएको पाँच बर्ष पुग्नै लाग्दासमेत अन्य प्रदेशको नामांकण भइसके पनि प्रदेश १ ले मात्रै नामाकरण गर्न सकेको छैन । सोही कारण यसै अधिवेशनबाट नामाकरणको टुंगो लगाउने सवै दलको गृहकार्य रहेको छ । यही आधारमा एमालेले समिति बनाएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनु भयो ।

‘समितिले प्रदेशको नामकरणका लागि दलका सांसदहरुबीच सहमति जुटाउनुका साथै अन्य दलहरुबीच सहमतिका लागि संवाद गरेर चालु बजेट अधिवेशनबाटै नामकरण गर्छौं,’ राजभण्डारीले भन्नुभयो, ‘एमाले बाहेक दलले प्रदेशको नामकरण गर्न नसक्ने अवस्था रहेकाले प्रदेशको नामकरणका लागि कटिबद्ध भएर समिति गठन गरेका छौं ।’ यसअघि सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनको सरकारले पनि यसअघि सामाजिक विकासमन्त्री तथा जसपाका संसदीय दलका नेता जयराम यादवको नेतृत्वमा नामकरणका लागि समिति गठन गरेको थियो । 

उक्त समिति गत फागुन १० गते सर्वदलीय बैठक आयोजना गरेपछि निष्कृय भएको छ । दुई तिहाई बहुमतले प्रदेश नामकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार एमालेको समर्थनबिना नामकरण सम्भव नभएपछि यादव नेतृत्वको समिति निष्कृय भएको थियो । ९२ सदस्यीय प्रदेशसभामा ५ दलीय गठबन्धनमा ५० जना प्रदेश सांसदमात्रै छन् । प्रमुख प्रतिपक्षी एमालेका ४१ र राप्रपाका १ प्रदेश सांसद छन् ।प्रदेशसभाबाट प्रदेशको नाम पारित गराउन आवश्यक ६२ सांसद पुर्याउन एमालेको समर्थन अपरिहार्य छ ।

तर सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलभित्रकै सांसदहरु प्रदेश नामकरण भूगोल र पहिचानको आधारमा हुनुपर्नेमा विभाजित छन । जसले प्रदेश नामकरणको प्रक्रिया अघि बढ्न सकेको छैन । आदिवासी जनजाति प्रदेशसभा सदस्यहरुले पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने पक्षमा छन् भने खस, आर्य, ब्राहृमण, क्षेत्री, मधेसीलगायतका प्रदेशसभा सदस्यहरु भूगोलको आधारमा नामकरण हुनुपर्ने पक्षमा देखिएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने प्रस्ताव सार्वजनिक रुपमै गरिसक्नु भएको छ । गत माघ २१ गते प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशनको उदघाटन समारोहमा एमाले अध्यक्ष ओलीले प्रदेशको नाम कोशी सवैभन्दा उपयुक्त रहेको बताउनु भएको हो ।