इस्टु झापाको घोषणा : सरकारी नियम मिच्ने बिरूद्ध कडा संघर्ष गर्ने

image आँखा शनिबार, जेष्ठ २८ २०७९
image

 

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला समितिले झापा जिल्लामा सञ्चालनमा रहेका विद्यालयहरूले विभिन्न बाहना बनाएर सार्वजनिक विदा मिच्ने तथा न्युनतम पारिश्रमिक दिन आनकान गर्ने बिरूद्ध कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष होमराज खतिवडाको अध्यक्षता तथा केन्द्रीय सचिव यादवप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न विस्तारित बैठकले प्याब्सन, एन प्याब्सनका नाममा सरकारले तोकेका सार्वजनिक विदा तथा श्रम ऐन अनुसार वर्षौंदेखि कायम रहेका सेवा सुविधा अतिक्रमण गरेर कानुन विपरित सञ्चालन भइरहेका विद्यालयहरूको पहिचान गरी कारवाही प्रकृयामा लैजान प्रतिवाद गर्ने निर्णय गरिएको हो ।

कोरोनाको बाहना बनाएर शिक्षक तथा कर्मचारीहरूलाइृ न्युनतम पारिश्रमिक समेत भुक्तानी नगर्ने, सार्वजनिक विदा अतिक्रमण गर्ने, शिक्षक कर्मचारीलाई अनावश्यक दुःख दिने नियत राखी आन्तरिक नियमको बाहनामा श्रम र समय बर्वाद हुने गरी शोषण गर्ने,  समयमा पारिश्रमिक नदिएको कार्यप्रति खेद व्यक्त गरिएको छ ।

युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक वर्ष २०७७ सालको ९ महिना पूरा हुन लाग्दा समेत शिक्षक, कर्मचारी, चालक तथा सहचालकहरूलाई पूर्ण पारिश्रमिक नदिइ विद्यालय सञ्चालकहरूले झारो टार्ने प्रयास गरिरहेको प्रति खेद प्रकट गर्दै अन्याय बिरूद्ध लड्न  कठोर कदम चाल्न सक्ने समेत चेतावनी दिइएको छ ।

बैठकले कोरोनाका कारण विद्यालय बन्दको बाहना देखाएर राज्यको नीति नियम अतिक्रमण भएको दुई वर्ष पूरा हुन लाग्दा समेत प्याब्सन, एन प्याब्सन नेतृत्वमा सहज अवस्था आएको चेत नखुलेकोमा दुःख प्रकट गरिएको छ ।

बैठकले संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, चालक, सहचालकको सम्युक्त भेला सम्पन्न गरी हरेक विद्यालयमा हुने गरेका अन्याय बिरूद्ध कडा आन्दोलन गर्न मातहत समितिलाई निर्देशन समेत दिइएको छ ।

साथै बैठकले नीति, नियम र कानुनलाई हातमा लिएर विद्यालय सञ्चालन गर्ने सोच त्याग्न विद्यालय सञ्चालकहरूसित आग्रह गर्दैे संस्थागत विद्यालयको शैक्षिक उन्नतिमा शिक्षक कर्मचारीको योगदान नबिर्सन अनुरोध समेत गरेको छ