रैथाने खेती हराउँदै, विषादीको प्रयोग बढ्दै

image आँखा संवाददाता शनिबार, जेष्ठ २१ २०७९
image

गलेश्वर, २१ जेठ  ः तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आउनुभएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्नुहुन्थ्यो । कुनै पनि विषादी र भिटामिनको प्रयोग नगरिकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल, हिउँदे र बर्खे बाली बिक्री गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मङ्गलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताउनुहुन्छ । जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन । प्राङ्गारिक तरकारी मात्रै फलाउने र बिक्री गर्ने कार्कीले ‘इमानदार कृषक’ को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेसाप्रति वितृष्णा जागेको हो । 

जलवायु परिवर्तनका कारण माटोको उर्बरा शक्तिमा ह्रास आउँदै गएपछि प्राङ्गारिक रैथाने कृषि उत्पादन अब तीव्ररुपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षौंदेखि गर्दै आएको ‘खेती गरौँ की छोडौँ’ को स्थितिमा पुगेको उहाँले बताउनुभयो । “मैले सुरुदेखि नै प्राङ्गारिक रैथाने जातका खेतीलाई महत्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडेँ”, कार्कीले भन्नुभयो, “विगत पाँच÷छ वर्षयता माटोमा अम्लियपना बढ्दै गयो, रैथाने विऊबाट फसल उत्पादन घट्दै जान थाल्यो, विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो”, उहाँले भन्नुभयो । 

“अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन, बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाइ सुक्खै छैन”, कार्कीले भन्नुभयो । कृषिमा जलवायु परिवर्तनले पारेको असरका कारण यस्तो समस्या उत्पन्न भएको अगुवा कृषक कार्कीको बुझाइ छ । कृषक कार्कीको बुझाइसँग कृषि विज्ञहरु पनि सहमत छन् । उनीहरुका अनुसार कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ । फलफूल ढिलो पाक्न थालेका छन्, वातावरणीय सन्तुलन बिग्रँदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको कृषि विज्ञहरुले बताएका छन् । 

कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन जताततै देखिन थालेका छन् । कृषि वैज्ञानिक कार्की भन्नुहुन्छ, “जलवायु परिवर्तनका कारण रैथाने जातको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बीउ त लोप पनि भइसकेका छन् ।” 

जलवायु परिवर्तनले रैथाने जातका बीउ हराउने मात्रै होइन कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको उहाँको भनाइ छ । परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयास नगरिँदा यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको कृषि विज्ञहरुको भनाइ रहेको छ । 

किसानका अनुसार सुन्तला, आँपलगायतका फलफूलमा कोपिला लाग्ने, फूल फुल्ने र फल पाक्ने समय पनि परिवर्तन भएको छ । सुन्तला मङ्सिरमा पाक्न थालेको छ । पहिला पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अहिले आँपको फूल कि त चैत कि त वैशाखमा फुल्न थालेको कृषकले बताएका छन् । 

नेपालका प्रायः सबै किसान प्राकृतिक हावापानीमा नै भर पर्ने हुनाले कृषिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्न थालेको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । 

त्यस्तै अनपेक्षितरूपमा कम वा बढी वर्षा हुँदा सिमी, आलु, करेला, भिन्डी, काँक्रो, बोडी र घिरौँलाजस्ता तरकारीको गुणस्तर र रङ र स्वाद पनि बदलिएको कृषकको भनाइ छ । हिउँदमा खेती गर्ने काउली र बन्दाजस्ता तरकारीका फलको आकार पछिल्लो वर्ष सानोभन्दा सानो हुँदै गइरहेको बेनी नगरपालिका–२ सानालेकका कृषक धु्रव थापाले बताउनुभयो । 

 

बालीनालीमा मात्रै होइन पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नुपरेको किसानको गुनासो छ । “घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो, मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु”, कृषक तीर्थ सापकोटाले भन्नुभयो । कृषि प्राविधिकका अनुसार जलवायु परिवर्तनका कारण मान्छेको खाद्यान्नमा झैँ पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् । 

ad