सौन्दर्य बजारको कुरूपता

image डा. साधना प्रतीक्षा शनिबार, आषाढ ४ २०७९
image

स्थानीय निर्वाचनको गर्मी सेलाउन नपाउँदै हाम्रा सडक–गल्ली पुनः ताते, यौनहिंसाविरुद्ध न्यायको आवाज बुलन्द गर्दै। एउटी किशोरीले आठ वर्षअघि झेलेको यौनिक उत्पीडनको घटना सामाजिक सञ्जालमार्पmत सार्वजनिक गर्दा विशेषगरी महिलाहरूको मुटु नराम्ररी चस्कियो। त्यसको प्रत्यक्ष प्रमाण सामाजिक सञ्जाल, आमसञ्चार माध्यमलगायत सडकमा देखिएको विद्रोहले दिएको छ। यो नौलो घटना होइन, समाजमा दिनानुदिन हुने यस प्रकारका घटनामा थप एउटा घटना मात्र हो यो। निर्मला पन्तमाथि भएको जघन्य अपराधको घाउ पुरिएको छैन। त्यसपछि असंख्य महिला किशोरी तथा बालिका बलात्कृत भइसकेका छन्।

केही समयअघि मात्र एउटी गायिकाले आआफू नाबालिग हुँदा आआफूमाथि भएको यौन शोषणको खुलासा गरेकी थिइन्। पछि न्याय खोज्दै गरेको उनैको आवाज धर्मरायो। त्यसको कारण उनैलाई थाहा होला। तर, त्यसले के संकेत गरेको छ भने हाम्रो समाजमा यौनहिंसा पीडित महिलाले त्यसविरुद्ध आवाज उठाए पनि न्याय पाउन सजिलो छैन। निष्पक्ष न्यायसम्म पुग्ने उनका पाइला बीचबाटोमै अदृश्य नेलहरूमा जकडिन्छन्। सत्य ओकल्ने मुख पनि कसैले नदेख्ने गरी थुनिइन्छ। बयान फेरिन्छ, प्रमाण नष्ट गराइन्छ। अन्ततः दोषी निर्दोष साबित हुन्छ किनकि दोषी हाम्रो सामाजिक संरचनाको शक्ति केन्द्रमा रहेको पुरुष नै हुन्छ। आखिर कतिन्जेल हारिरहने महिलाले ?

विगतका घटनाभन्दा अहिलेको घटना भिन्न यसर्थ छ कि पीडित महिला ‘ग्ल्यामर’को रंगीन संसार र सौन्दर्य बजारसँग सम्बन्धित देखिएकी छन्। सौन्दर्य बजारमा महिलाको शरीरलाई वस्तुसरी विज्ञापनमा प्रदर्शित गराएर मुनाफाको व्यापार गरिन्छ। त्यसैले त्यहाँ कति महिलाले यौन दुव्र्यवहार खेपिरहेका होलान् ? सहजै अनुमान गर्न सकिन्छ। यसो भए पनि सम्पन्नता र लोकप्रियता दुवैको प्राप्ति हुने भएकाले यो बजार निरन्तर फस्टाउँदै गएको छ। एकातिर रहरहरू होलान् अल्लारे किशोरीहरूका र अर्कातिर बाध्यता पनि होलान् सहनुपर्ने। यस्तै परिस्थितिमा कठै ती किशोरीले आठ वर्ष कसरी बिताएकी होलिन् ? यस्तै बाध्यात्मक परिस्थितिमा कति किशोरीहरू विक्षिप्त भएका होलान् ? कति त चुपचाप जीवनबाटै विमुख पनि भए होलान्। सुस्मिताले घटनाको उजागर गर्दै न्यायका लागि आवाज उठाउने साहस गरिन्। सलाम छ यो साहसलाई ! उनको न्यायका लागि आवाज बुलन्द गर्दै भएको प्रदर्शन, त्यसको फलस्वरूप अभियुक्तको पक्राउ तथा बलात्कारजन्य अपराधमा भएको हदम्यादसम्बन्धी कानुन संशोधनको बहस एउटा उपलब्धि हो। यसबीच पैसा र  ‘पहुँच’का आधारमा अपराधी नउम्केला भन्न पनि सकिँदैन। विगतका घटनाहरूले यस्तै देखाएको छ।

पुरुषसत्ताको चर्को विरोध गर्नेहरूले अब पुँजीवादभित्र सोही पुरुषसत्ताले फिँजाएको सौन्दर्य बजारको सञ्जालविरुद्ध पनि आवाज उठाउनुपर्ने बेला आएको छ।

यौनहिंसाका मुद्दामा कानुनी प्रावधान बलियो हुनुपर्छ, यो अकाट्य माग हो। अझ महत्त्वपूर्ण कुरा त यसमा राज्य तथा प्रहरी–प्रशासन हदैसम्म संवेदनशील हुनुपर्छ। यसो भए मात्र पीडित महिलाले आफूमाथि भएको हिंसाबारे खुलेर जाहेरी दिन सक्छन्। यदि यसो हुँदो हो त निर्मला पन्तका अपराधी उम्कने थिएनन्। महिलामाथि हुने यौनजन्य हिंसाविरुद्ध महिलाले मात्र आवाज उठाउनुपर्ने समाजमा केही प्रश्न उठ्छन्। के यो समस्या महिलाको मात्र हो ? होइन भने यसमा पुरुषको आवाज र सहभागिता न्यून किन ? कतै हाम्रो समाजमा यौनहिंसा पुरुषको स्वभाव र विशेषता हो भन्ने पुरातन संस्कार अभैm जीवित त छैन ? हिंसापीडित महिलाले आफूलाई समाजमा मुख देखाउन योग्य नठान्नु तर पीडक पुरुष भने छाती फुलाएर हिँड्नुले यसैतर्फ संकेत गर्दैन र ? जबसम्म बलात्कारलाई दुर्घटना मात्र मान्नुको साटो त्यसलाई महिलाको इज्जतसँग जोड्ने परम्पराको अन्त्य हुँदैन, तबसम्म पीडितले त्यसविरुद्ध आवाज उठाउन सक्दैनन्।

यौनहिंसाका सबै घटना उत्तिकै निन्दनीय हुन्छन्। त्यसमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याएर हदैसम्मको सजाय दिनुपर्छ। ताकि कुनै पनि पुरुषले महिलामाथि कुदृष्टि राख्नुअधि बारम्बार सोच्नु परोस्। घटना भइसकेपछि कानुनी उपचारको आवश्यकता त हुन्छ नै तर घटनाका कारणहरूको खोजीका साथै त्यसको न्यूनीकरणको प्रयास पनि उत्तिकै आवश्यक देखिन्छ। हिंसापीडित महिलाका लागि आफू पीडित भएको प्रमाण जुटाउनु नै सर्वाधिक कठिन हुन्छ भने कानुनले बिनाप्रमाण न्याय दिन सक्दैन। हाम्रोजस्तो परम्परागत समाजका महिला तथा किशोरीहरू आफूमाथि यौनहिंसा हुनासाथ त्यसको प्रमाण लिएर प्रहरी प्रशासनसमक्ष पुग्न सक्दैनन्। पुगिहाले पनि त्यहाँ उसैलाई हतोत्साही र बदनाम गराउने प्रयास हुन्छ। त्यसैले त यस्ता घटनाहरू बाहिर नल्याई सहेरै बस्नेको संख्या बढी हुन्छ। त्यसैले यससम्बन्धी सोच तथा दृष्टिकोणमा परिवर्तन ल्याई स्थापित पुरुषवादी मूल्यबाट समाजलाई मुक्त गराउनुपर्छ।

सौन्दर्य बजारमा देखिएको कुरूपताको सानो उदाहरण हुन्, सुस्मिता। नारी–अस्मिताका दृष्टिले सौन्दर्य बजारभित्रको कुरूपता अत्यन्त निन्दनीय छ। 

पुरुषवादी यही सोचको जगमा अडेको छ, हाम्रो सौन्दर्य बजार ! परापूर्वकालदेखिको नारीप्रतिको दृष्टिकोण अध्यावधि कायमै छ भन्ने प्रमाण यसले दिइरहेको छ। नारीदेहको प्रदर्शन र प्रयोगबाट पुरुषले मनोरञ्जन गर्ने परम्पराको निरन्तरता नै हो, आधुनिक पुँजीवादी युगको सौन्दर्य प्रतियोगिता ! यसबाट ठूलो व्यापार चल्छ, प्रशस्त नाफा आर्जन हुन्छ। अनि, त्यसको अत्यन्त सानो भाग विजयी सुन्दरीहरूले प्राप्त गर्छन्। सौन्दर्यको यस्तो बजारभित्र कति कुरूपताहरू लुकेका हुन्छन् भन्ने यथार्थको एउटा झिल्को मात्र हो, सुस्मिताको पीडा। त्यो बजारभित्र किशोरीहरूलाई कसरी सुनियोजित रूपमा फसाइँदो रहेछ भन्ने प्रमाण उनको भिडियोले प्रस्तुत गरेको छ। सौन्दर्य बजारलाई व्यक्तित्व विकास र अग्रगमनको आधार मान्नेहरूले एकचोटि सोच्नै पर्ने प्रश्न छ– अहिलेसम्म हाम्रा सुन्दरीहरूले देश र समाजका लागि के कस्ता योगदान गरेका छन् ? यसको उत्तर सायद पूर्वमिस नेपाल माल्भिका सुब्बाको उपर्युक्त घटनामा देखिएको निरीहता र क्षमायाचनाको प्रसंगले नै दिएको छैन र ? सौन्दर्य बजारको सञ्जालभित्र सुन्दरीहरू विवश हुनाले बोल्न सक्दैनन्।

विश्वमा पुँजीवादी अर्थतन्त्रको विकाससँगै आरम्भ भएको सौन्दर्य बजारले महिलालाई वस्तुसरी प्रयोग गरेको भन्दै पश्चिमी मुलुकका नारीवादीहरूले त्यसको विरोध गरे। विशेषगरी आमूल नारीवादीहरूले ‘अल वुमन आर ब्युटीफुल’ भन्दै सौन्दर्य प्रतियोगिता तथा विज्ञापनमा नारीदेह प्रदर्शनको विरोध गरे। अहिले विज्ञापनका नाममा महिलाका अश्लील तस्बिरहरू समेत प्रदर्शित भइरहेका छन्। जुन आम नारीमाथिको अपमान हो। हुन त अहिले नारीवादी भनिएकाहरू नै सौन्दर्य प्रतियोगिता र मोडेलिङ एउटा पेसा भएको हुनाले यसको विरोध गर्न नहुने जिकिर गरिरहेका छन्। त्यसैले उनीहरूलाई पनि प्रश्न गर्न सकिन्छ, सौन्दर्य प्रतियोगितामा कुन वर्गका छोरीहरूको पहुँच हुन सक्छ ? यस्ता प्रतियोगितामा किशोरीहरूका विभिन्न अवयवको मापन गर्दै प्रदर्शन गर्नु कस्तो व्यक्तित्व विकासको आधार हो ? यी प्रतियोगितामा किशोरीका अंग तथा भावभंगिमाको आस्वादन महिलाले गर्छन् या पुरुषले ? त्यो पनि कुन वर्गका पुरुषले ? केही सम्भ्रान्त पुरुषहरूको मनोरञ्जन तथा व्यापारिक प्रतिष्ठानको मुनाफाका लागि महिलाले आफ्नो यौवन र सौन्दर्य प्रदर्शन गर्नु कुन गौरवको विषय हो ?

पुरुषसत्ताको चर्को विरोध गर्नेहरूले अब पुँजीवादभित्र सोही पुरुषसत्ताले फिँजाएको सौन्दर्य बजारको सञ्जालविरुद्ध पनि आवाज उठाउनुपर्ने बेला आएको छ। किनकि, महिला तन मात्र होइन मन–मस्तिष्क पनि हो। ऊ ज्ञान हो, विज्ञान हो, बुद्धि हो विवेक हो। अनि श्रम र शक्ति पनि हो। महिलाको सुन्दरता कुनै पुरुषको मनोरञ्जन र सन्तुष्टिका लागि नभई उसैका लागि हो भन्ने चेतनाको विकास यदि छोरीहरूमा हुने हो भने ख्याति र सम्पन्नता प्राप्तिका लागि नबुझेर नै सौन्दर्य बजारमा अल्झन जाँदैनथे सायद। सुन्दरताकै कुरा गर्ने हो भने काखमा नानी च्यापेर आआफूभन्दा अग्लो भारी बोकी हिँडेका श्रमिक महिला सुन्दर छन्। पर्यटकको भारी बोकेर उनीहरूलाई बाटो देखाउने हिमाली तथा पर्वतारोही महिला, निधारमा पसिनाका मोती टल्काउँदै खेतबारीमा सुन फलाउने किसान महिला, साना नानीहरूलाई तोतेबोली सिकाउँदै र ताते गराउँदै पढाउने शिशु विद्यालयका शिक्षिका आदि पनि कम सुन्दर छन् र ? समग्रमा, आआफ्नो कार्यक्षेत्रमा अहोरात्र खटिने सबै महिला सुन्दर छन्। त्यसैले सुन्दरताको परिभाषा पनि अब फेरिनु पर्छ अनि जन्मनासाथै छोरीलाई ‘सुन्दरी’ बनाउने उपक्रम थालिने संस्कृति पनि हटाउनु पर्छ।

अहिले हाम्रो सौन्दर्य बजारमा देखिएको कुरूपताको एउटा सानो उदाहरण मात्र हो, सुस्मिताको उत्पीडन। यस बजारमा कुनै एउटा पुरुष मात्र सहभागी र दोषी छैन। यसमा संलग्न हरेक पीडकले सजाय पाउनु पर्छ। शरीर–राजनीतिको यस्तो सञ्जालभित्र पीडित हुनेहरूले यसरी नै खुलेर आउने साहस गर्नुपर्छ। परिवार, समाज तथा सिंगो राष्ट्र नै यसप्रति संवेदनशील भई पीडितलाई खुल्ने वातावरण बनाइदिनु पर्छ। किशोरीहरूलाई प्रसिद्धिका सपना देखाएर उनीहरूको शरीर प्रदर्शन गरी मुनाफा आर्जन गर्ने अनि षड्यन्त्रपूर्वक उनीहरूकै यौन शोषण गर्ने सौन्दर्य बजारको मुखौटो यसरी नै उतारिनु पर्छ। यद्यपि, अन्य क्षेत्रमा कार्यरत महिला पनि यौनहिंसाका सिकार नभएका होइनन् तर ती दुर्घटनाका रूपमा भएका हुन्छन्। त्यहाँ उनीहरूको शरीर, सौन्दर्य र यौवनको व्यापार निर्धक्क गरिएको हुँदैन। नारी–अस्मिताका दृष्टिले सौन्दर्य बजारभित्रको कुरूपता अत्यन्त निन्दनीय छ। 

ad