देश मात्र स्वाधीन भएर पुग्दैन, हामी नागरिक पनि स्वाधीन बन्न सक्नुपर्छ

image रमेश ढकाल बिहीबार, आषाढ २ २०७९
image

-र्यापर जिबब र उनका आमाबुबा बिचको विवादलाई छोडेर अहिले मुख्यता तिन वटा विषयहरू विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा निक्कै नै चर्चामा रहेका छन् ।

पहिलो, न्याय खोज्दै आफ्नो २१ महिनाको बच्चासँगै अनशनमा बसेकी निहारिका राजपूत बहिनीको विषय । दोस्रो, हाम्रा अहिलेका अर्थमन्त्री ज्युले बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गराएको विषय ।

र, तेस्रो अमेरिकाले नेपाली सेनासँग सहकार्यका लागि गरेको ’एसपीपी’ सम्झौताको प्रस्ताव र उक्त प्रस्तावलाई मूर्त रूप दिनका लागि नेपाल आएका अमेरिकी सेनाका प्रतिनिधिहरूको विषय ।

कुमारी अवस्थामै आमा बन्न विवश निहारिका राजपूत साढे दुई वर्षदेखि चिच्याइ चिच्याइ भन्दै छिन् – म १७ वर्षकी नाबालिग हुँदाखेरि नै मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरे । परिणाम म गर्भवती बन्न पुगे ।

जुन बच्चा÷छोरा अहिले २१ महिनाको भइसक्दा सम्म मैले न्याय पाउन सकेको छुइन । न्यायको खोजीमा मैले न्यायालय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोग लगायतका सबै संस्थाहरूको ढोका ढकढक्याए तर  कतैबाट पनि सहयोग प्राप्त भएन । बरु उल्टै जहाँ जहाँ पुगे पनि मलाई नै गलत  देखाइयो, र पीडकलाई  सफाइ दिइयो ।

कुमारी आमा निहारिकाले मेरो साथमा रहेको यो बच्चाको डिएनए टेस्ट गरिनु पर्छ भन्ने माग राखेकी छन् । उनले यो बच्चाको बाउ फलानो व्यक्ति नै हो भनेर स्पष्ट रूपमा भन्दै गर्दा हाम्रो समाज तथा सम्बन्धित न्यायालयले यो कुरालाई किन पुष्टि गर्न सकिराखेको छैन ? अर्थात् त्यो २१ महिने बच्चाको बाबुको पहिचान अहिलेसम्म किन हुन सकिराखेको छैन ? यो कुरालाई पुष्टि गर्ने प्रविधि नै हाम्रो देशमा नभएको त पक्कै पनि होइन होला १ यदि त्यसो होइन भने, यो विषय किन यति लामो समयदेखि अल्झिएर बसेको छ ? कि त निहारिकाको दावा गलत हो अर्थात् शिवराज श्रेष्ठ त्यो बच्चाको बाउ हैनन् भनेर हाम्रो न्यायालयले स्पष्ट पार्न सक्नु पर्‍यो । 

पीडक र पीडित बिचमा अन्य विषयहरूमा सहमति सम्झौता जुट्न नसक्नुलाई स्वाभाविक पनि मान्न सकिन्छ । तर १७ वर्षको उमेरमा बलात्कृत भएर अविवाहित अवस्थामा नै आमा बन्न पुगेकी निहारिकाले यो बच्चाको बाबु फलानो व्यक्ति हो भनेर स्पष्टसँग देखाउँदै गर्दा पनि हाम्रो समाज तथा न्यायालयले यतिन्जेल सम्म उक्त बच्चाको बाउको पहिचान गर्न इन्कार गर्दै आएको यो घटनाले म जस्ता कयौँलाई पक्कै पनि झस्काएको हुनु पर्छ ।    

हाम्रो देश तथा समाजमा यो घटना त एउटा उदाहरण मात्र हो । पछाडि फर्केर हेर्ने हो भने राजनीतिक शक्तिको दुरुपयोग र आर्थिक चलखेलका कारण अन्यायमा परेका वा अन्याय सहेर बस्नु परेका यस्ता अनेकौँ उदाहरणहरू भेटिने छन् । 

हाम्रो देश स्वाधीन भएर के गर्नु, हाम्रो न्यायालय तथा हामीलाई न्याय निसाफ दिनेहरू स्वाधीन छैनन् । हाम्रो प्रशासनिक निकाय तथा प्रशासकहरू स्वाधीन छैनन् । हाम्रा अधिकांश सांसद, नेता, मन्त्रीहरूलाई देशी विदेशी दलाल तथा बिचौलियाहरूले आफ्नो मुठ्ठीमा राखेका छन् ।

बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गराएको विषय पनि हाम्रो देशमा बिचौलियाहरू कति सम्म शक्तिशाली हुँदा रहेछन् भन्ने कुराको एउटा उदाहरण हो । र यो सबै कुराको प्रतिकुल प्रभाव हाम्रो देशको सिङ्गो राज्य सञ्चालन प्रणालीमा पर्ने गरेको छ । जसले गर्दा राज्यका अधिकांश आम नागरिक सधैँ निरीह तथा उदासीन भएर बस्नु परेको अवस्था छ ।

हाम्रो देशको अहिलेको यस्तै अवस्थाका कारण आज बलात्कृत निहारिका जस्ता पीडितहरूले न्यायको माग गर्दै अनशन बस्नु परेको छ । हाम्रा किसान आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूले मल बिउ प्राप्त गर्नका लागि पनि अनशन आन्दोलन नै गर्नु पर्ने अवस्था छ । यसै गरेर भोलि हाम्रा विद्यार्थी भाइबहिनी तथा छोराछोरीहरूले पाठ्यपुस्तक प्राप्त गर्नका लागि पनि अनशन बस्नु पर्ने दिन नआउला भनेर भन्ने सकिने अवस्था रहेन ।

यसो भन्दै गर्दा, एउटा नबिर्सनु पर्ने कुरा के हो भने, आज देश भित्र यस्तो अवस्थाको सिर्जना हुनमा हाम्रा राजनीतिक दलका नेताहरु जति जिम्मेवार छन्, हामी आम नागरिकहरू यसका लागि अझ धेरै जिम्मेवार छौँ । किनभने अझै सम्म पनि राजनीतिक दलका नेताहरूले हामी आमजनतालाई उनीहरूको गोठमा बाँधिएको गाई वस्तु ठान्ने गरेका छन् र हाम्रो मताधिकारको दुरुपयोग गर्दै आएका छन् । 

हामी आम नागरिकको सबै भन्दा ठुलो हतियार भनेकै हाम्रो मताधिकार हो । यदि हामीले हाम्रो मताधिकारलाई सचेत रूपमा अर्थात् सही ढङ्गले प्रयोग गर्न सक्ने हो भने, राजनीतिक दलहरूको एकाधिकार र यो सँग जोडिएका भ्रष्टाचार लगायतका बेथितिहरूलाई पक्कै पनि क्रमिक रूपले मेटाउँदै लैजान सकिने छ ।    

यसको सुरुवात हामीले गएको स्थानीय चुनावमा दलहरूले उठाएका भ्रष्ट उम्मेदवारहरूलाई बेवास्ता गर्दै देशको राजधानी लगायतका प्रमुख सहरहरूमा स्वतन्त्र उम्मेदवारहरूलाई जिताएर गरिसकेका छौँ । यसै गरेर, आगामी मङ्सिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा हामीले अझ धेरै सङ्ख्यामा योग्य तथा क्षमतावान्  स्वतन्त्र उम्मेदवारहरूलाई जिताएर पठाउन सक्नु पर्छ । हाम्रो मताधिकारको सही प्रयोगले योग्य उम्मेदवारहरू चुनिएर देश तथा आमजनताको पक्षमा राम्रो काम गरेर त देखाउने नै छन् सँगसँगै यसले राजनीतिक दलहरूलाई पनि सचिन सुध्रन बाध्य तुल्याउने छ ।  

रमेश ढकाल
भद्रपुर, झापा (हाल, दोहा-कतार)