मोटरसाइकल चोरीको आरोपमा दुइ वालक र पाँच किशोर सहित आठ जना पक्राउ

image आँखा बिहीबार, जेष्ठ १९ २०७९
image

बिर्तामोड, जेठ १९ । बिर्तामोड प्रहरीले मोटरसाइकल र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी एकसाथ सार्वजनिक गरेको छ ।

आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरेर प्रहरीले आफ्नो ११ दिनको अपरेसनबाट प्राप्त सफलताअन्तर्गत मोटरसाइकलसहित चोरीकार्यमा संलग्न रहेका व्यक्तिलाई सार्वजनिक गरेको हो ।

प्रहरीले झापाका विभिन्न स्थान र इलामबाट १२ वटा मोटरसाइकल बरामद गरेको छ भने चारीकार्यमा संलग्न आठजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।

पक्राउ परेका एकजनाबाहेक पाँचजना किशोर उमेरका छन् भने दुई बालक हुन् । उनीहरुले चोरी गरेको मोटरसाइकल अर्जुनधारा ८ कदमगाछी र वडा नम्बर १० मा रहेको ग्यारेजमा पुर्याउने गरेका थिए ।

यी दुवै ग्यारेज सप्तरी टिकुली घर भएका करण मोहम्मदले सञ्चालन गर्दै आएका थिए । चोरी भएका मोटरसाइकल त्यहीँ पुर्याउने र नम्बर प्लेट परिवर्तन गरी उनीहरुले अतिसस्तो दरमा बिक्री गर्दै आएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा दुवै ग्यारेज बाहिरबाट हेर्दा बन्द रहने भए पनि भित्रचाहिँ नम्बर प्लेट परिवर्तन र अन्य परिवर्तनको कामहरु हुने गरेको पत्ता लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।

प्रहरीका अनुसार चोरी भएका अधिकांश मोटरसाइकल पहाडी क्षेत्रमा बिक्री हुँदै आएका छन् । प्रहरीको पहुँच कम हुने तथा खोजपड्ताल नहुने भएकाले पहाडी क्षेत्रमा चोरीका मोटरसाइकल बिक्री हुने गरेको प्रहरीको निष्कर्ष छ ।

प्रहरीले बरामद गरेका १२ वटा मोटरसाइकलमध्ये चारवटा पल्सर, चारवटा हिरो होन्डा र बाँकी चारवटा यामाहा, अपाचे, होन्डा र सुजुकी ब्रान्डका छन् ।

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ग्यारेज सञ्चालक २७ वर्षीय करण मोहम्मद, बिर्तामोड ५ का १८ वर्षीय करण मण्डल, वडा नम्बर ८ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा ८ का १८ वर्षीय समिर मिया छन् ।

त्यस्तै, गौरीगञ्ज ५ का १८ वर्षीय ओमप्रकाश यादव, इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ छन् भने दुईजना १४ र १५ वर्षका बालक छन्