कहाँबाट आयो यो मान्छे! 

image सरला गौतम  शनिबार, जेष्ठ २१ २०७९
image

स्थानीय चुनाव हुँदै गर्दा भोट हाल्ने जाँगर पनि मतदातामा देखिएको थिएन। चुनाव नजिक आउँदै गयो। नयाँ नयाँ अनुहार प्रकाशमा आउँदै गए। मानिसहरूको चासो जाग्दै गयो। काठमाडौंका मेयर उम्मेदवार बालेन शाह र धरानका हर्क साम्पाङले कोमामा पुगेको नेपाली जाँगर जगाइदिए। परिणाम आउँदै गर्दा मानिसहरूमा उत्साहको आँधी आउन थाल्यो।

आँधी यतिखेर शान्त भएको छ। मानिसहरू दैनिकीमा फर्केका छन्। परम्परागत बौद्धिकहरूको आलोचना सहेरै मानिसहरूले नयाँ अनुहारप्रति भरोसा देखाए। नयाँ मानिसहरूलाई रोज्नेहरूले अनेक ‘टाइटल’ पाए, गाल खाए। उनै जनप्रतिनिधिको कार्यकाल अब नागरिकले चनाखो भएर हेर्दै छन्। मान्छेहरूको मनबाट नैराश्यको खिल निकाल्न सकेका यी उम्मेदवार कहाँबाट आए? नेपाली समाज अहिलेसम्मै जिल्लिएको छ।

सामान्य पोशाकमा नेपाली झण्डा बोकेर चोक चोकमा एक्लै बोल्दै हिंड्ने हर्क साम्पाङ यतिखेर मानिसहरूको भीडले घेरिएका छन्। उनलाई बुझ्न र चिन्न धरानमै पुग्नेहरूको लर्को छ। चुनावी अभियानमा एउटै मिडियाकर्मीको चासो नबनेका हर्क, नेपाली मिडियाको एकल हेडलाइन छन् यतिखेर। उनी भन्छन् “मलाई काम गर्न दिनुस्।” मानिसहरू भन्छन्, “एकै छिन हामीसँग कुरा गर्नुस्।” उनको सादगी र झर्रोपनमा मानिसहरू लोभिएका छन्। अर्गानिक फलको सुगन्धमा मानिस लोभिए जस्तै उनको खरो भाषामा नेपाली समाज लट्ठ भएको छ। हर्क भन्छन्, “म नेता हुँ। अलमलमा हराउने मानिस होइन।” उनले आफ्नो चुनावी घोषणा पत्र आफैंं लेखे। आफैंं बाँडे। ‘एक्लो बृहस्पति झूटो’ भन्ने उखान हर्ककै कारण सङ्कटमा परेको छ। एक्लो मानिसले मानिसहरूको लावालस्कर आफैंतिर डोर्‍याएर हिंडेको छ। नेपाली राजनीतिका सबै पूर्व मान्यताहरूलाई हर्क साम्पाङको लौरोले ढालिदियो। एक आम मान्छे शक्तिको पछि लागेन। मिडिया खोज्दै हिंडेन। अन्ततः शक्तिलाई उसको पछि लगायो। कुन बाटो हुँदै कताबाट आए हर्क? जसमा मानिसहरूका आँखा टक्क रोकिएका छन्।

कहाँबाट आयो यो मान्छे? 
अफगानिस्तानको मरुभूमिबाट आए उनी एक दिन। सुर्के झोलामा सप्पैथोक बोकेर। आफ्नो अठोट अनि धरानको सपना बोकेर। आम नेपालीको भन्दा भिन्न थिएन उनको तकदीर। देशमै आरामको जिन्दगी हर्कलाई पनि मिलेन। रसाएका पहाडमुनि काकाकुले जिन्दगी बाँचेका उनी मरुभूमिको बीचैमा पुगे। तर, अचम्म भयो। मरुभूमिमा पानी नै पानी थियो। खानेपानीका लागि तड्पनु परेन। दिनै नुहाउन सोच्नु परेन। वैदेशिक रोजगारीको सिलसिलामा उनी अफगानिस्तान पुगेका थिए। अमेरिकन आर्मीको क्याम्पमा व्यवस्थापनको काम सम्हालेर बसेका थिए। मरुभूमिको पानीले एक दिन उनको मनमा चिसो पसाल्यो। पानी नै पानीको देशको मान्छे पानीकै अभावले कराइरहन्छन्। मरुभूमिको पानीले नेपाली चेतनालाई गिज्याए झैं लाग्यो। उनी देश फर्किए। सुर्के झोलाका कपडाको खातमा अठोट लुकाएर। मरुभूमिबाट फर्किएर हर्क पानी अभियन्ता बने। 

हर्कलाई आफैंं तम्सेर सारा अव्यवस्थासँग एक्ले लड्न मन थिएन। उनी पनि नायकको खोजीमा थिए। कोही आफ्ना लागि लड्दा लड्दै मरिदिने शहीदको खोजीमा थिए। सिनेमामा जस्तो सिन चेन्ज हुँदैन समाजमा। भद्रगोल, भद्रगोल नै रह्यो। दृश्य बदलिएर ‘टुडुम् टुडुम् ढिस्’ गर्दै कोही नायक उभिएन। अनि हर्क आफैंं उभिन थाले चोक चोकमा। 

उनी आउँदैमा मानिसहरूले पत्याउनै पर्छ भन्ने थिएन, पत्याएनन्। मानिसले नपत्याउँदैमा हर्कले हार मान्नुपर्ने थिएन। हार मानेनन्। जहाँ जहाँ अप्ठेरो त्यहाँ त्यहाँ गएर उभिए। चुनावी परिणामपछि धरानका मान्छेहरूले भन्ने एउटै कुरा हो, “जब जब कसैलाई अप्ठ्यारो पर्‍यो हर्क साम्पाङ विना शर्त उभिनुभयो।” बाटोमा पोल लड्यो, विद्युत्‌मा फोन गरे। चोकमा फोहोर थुप्रियो नगरपालिकाको घण्टी बजाए। जनतालाई, हाम्रो को छ र भन्ने लागेको बखत, म छु नि भन्दै हानिए। बाटोमा खाल्डो पर्‍यो, हर्कको पारो तात्यो। लोकतान्त्रिक व्यवस्थाको नाममा मौलाएका अव्यवस्थासँग हर्क रिसाए। हर्कको कार्यकाल कस्तो रहला, हेर्दै जाने कुरा हो। धरानका उनका समर्थकको एउटै राय देखिन्छ, “यो मान्छे निकै इमानदार छ। आफूले सकेको कोशिश गर्छ भन्ने हामीलाई विश्वास छ।” यूट्युबभरि यत्रतत्र छरिएका उनका समर्थक नतमस्तक देखिन्छन्। धरानका स्थानीय शम्भु शाक्य हर्कको अभियान सम्झँदै भन्छन्, “चुनावको मुखमा देखावटी गरेको होइन। यो मानिसको प्रयास र मिहिनेत वर्षौंदेखिको हो।” रङ रङका हन्डर खाएको ईखालु हर्कले इमान सहित प्रयास गर्नेछन्। यही विश्वास अहिले धरानमा छ। 

हर्क कुनै वेला नागरिक अधिकारका लागि एक्लै प्लकार्ड बोकेर नगरपालिका पुगे। सारा अतिथिलाई खादा र मालाले सम्मान भइरह्यो। उनी एउटा कुनामा उभिए। अपमानको विष घुटुक्क पिए। खोला जोगाउन खोलातिर हानिए। दलतन्त्रका दादाहरूको कुटाइ खाए। खप्परबाट रगत बगाए। जेल पनि सहे, नेल पनि सहे। दूरदृष्टिका हर्कलाई थाहा थियो, उनले सहेको अपमान र सकस नै अन्तिम दृश्य होइन। यी त केवल बाटो हिंड्दा लाग्ने ठेसहरू हुन्। आउँछन् जान्छन्। संसारले नदेखेको आँखाभित्र हर्कले अर्कै दृश्य साँचेका थिए। तर, उनले सहेको अपमान मतदाताहरूले सम्झिरहे। बाहिर देखाएनन्, तर हर्कका लागि मन दुखाइरहे। उनै हर्क फूलमाला सहित नगर प्रमुख भएर भित्रिंदा धराने जनताभन्दा खुशी को होला यतिखेर? 

नागरिक हितकै लागि हर्कले सारा शक्ति खन्याएका थिए। २०७६ सालको उपनिर्वाचनमा ४२२ भोट ल्याएपछि उनको जमानत जफत भएको थियो। यता जमानत जफत भयो, उता हर्क जनमत निर्माण गर्न लागिपरे। हार नमान्ने हर्कलाई जमानत जफतले हल्लाउन सकेन। मानिसहरूले अब भाषणमा भाइरल हुने नेता होइन, घर आँगनमा उभिने नेतृत्व खोजिरहेका थिए। धराने जनताले भनी पनि रहेका छन्, “हामीले चाहेको नेता पाएका छौं। बाँकी कसले के भन्छ, हामीलाई चासो छैन।”

हर्कलाई देख्न नचाहने र सुन्न नचाहनेहरूको पनि राम्रै जमात थियो। अधिकांश पत्रकारका लागि उनी समाचारमा नसमेटी नहुने पात्र थिएनन्। जस्तो पत्रकार ऋषि धमला धरान पुगेर उम्मेदवारहरूको भेला गर्दा हर्कलाई निम्तोसम्म गरिएको थिएन। आफ्नो हकहितको कुरा गर्ने उम्मेदवार नदेख्दा स्थानीय जनता रिसाएका थिए। “हाम्रा लागि बोल्नेलाई नबोलाएर यो के अपमान गरेको” भनेर प्रश्न सोधेका थिए। 

 

हर्क साम्पाङ बाहेकका उम्मेदवारहरूबीचको बहस।  
हर्कलाई नदेख्ने नसुन्ने मानिसको दुःखमा पनि उनै उभिए। उनी बोल्दा झ्यालढोका थुन्ने मानिसलाई पनि पराई भनेनन्। दुःखको वेला दैलोमा पुग्ने पहिलो व्यक्ति हर्क नै भए। मानिसहरू हुन्, ढुङ्गा होइनन्। उनीहरू पग्लिए। चुनाव आयो। हर्कले लोरौ चिह्न पाए। मानिसहरूले मतपेटिकामा आफ्नो माया पोखे। नबोली नबोली धराने जनताले भने, “हामी तिमीलाई मन पराउँछौं।” एकसुरमा एउटा दिशामा बगिरहेको नेपाली राजनीतिको प्रवाह उल्ट्याउने साम्पाङ एक जबर्जस्त योद्धा हुन्। मानिसहरू उनकै खोजीमा थिए। 

हर्क एक चिन्तक, एक कनेक्शन  
चुनावी अभियानका क्रममा नेपाली झण्डा र माइकको सहारामा हर्क साम्पाङ चोक चोकमा डुले। उनको एक्लो भाषणलाई ध्यान दिएर सुन्नुपर्छ। बिग्रिएको राजनीतिलाई गाली मात्र छैन। लोकतन्त्रको नाममा के के भइरहेछ, किन भइरहेछ एकोहोरो भनिरहेछन्। उनी जति साधारण छन्, त्यस्तै भाषामा सम्झाइरहेको भेटिन्छन्। राजनीति कुनै मङ्गल ग्रहको कुरा होइन। हाम्रै चोक–गल्लीको कुरा हो। यो केवल अखबारमा डबल कोर्टभित्र लेखिने दर्शनको कुरा पनि होइन। धारामा पानी किन आउँदैन? बाटोको फोहोर किन उठ्दैन? यस्ता कुरासँग राजनीतिको साइनो के छ? यी सबै कुरा हर्कले बुझाइरहेको देखिन्छन्। हर्कले राजनीतिका बोझिला दर्शनहरूलाई सरलीकरण गरे। दर्शनलाई संवादमा बदले। राजनीतिसँग रिसाएर व्यवस्थासँग सम्बन्ध विच्छेद गर्न लागेका नागरिकलाई, लोकतान्त्रिक व्यवस्थासँग जोड्ने पात्र हर्क साम्पाङहरू नै हुन्। उनी हुन्, एक शानदार कनेक्शन। 

विश्वप्रसिद्ध लेखक युभाल नोआ हरारीले कम्युनिज्मलाई धर्म भनेका छन् सेपियन्स पुस्तकमा। बौद्ध, हिन्दू, जैन जस्तै कम्युनिज्म पनि एक धर्म हो भन्ने उनको तर्क छ । धर्मलाई अफिम भन्ने कम्युनिष्टहरूलाई यो सुनेर रिस उठ्ला। तर, हरारीको तर्कमा शक्ति छ । धार्मिक दर्शनहरूप्रति अति आस्थाको कारण मानिसहरूले एकअर्काको ज्यान लिएका छन्। त्यही स्तरको लडाइँ वैचारिक आस्थामा पनि छ। मानिसले राजनीतिक दर्शनलाई धार्मिक सम्प्रदाय सरह पुजेको देखिन्छ। खतरनाक अन्धविश्वास राजनीति दर्शनमा पनि पाइन्छ। समाज यो अन्धविश्वासबाट अछुतो छैन। नेपाली समाजको हर अङ्ग कांग्रेस–कम्युनिष्टमय भयो। पार्टीको झण्डाले छोपेका सारा अराजकता सामान्य मान्दै गए। धरानका चोकहरूमा उभिएर साम्पाङले सम्झाउने कुरा यस्तै हुन्। हरारीले भने विश्व दर्शन हुने, हर्कले भन्दा लहडी तर्क हुने हुँदैन।

साम्पाङले एक्लै उभिएर कांग्रेस हुुनु र कम्युनिष्ट हुनुको अर्थ सोध्छन्। झण्डाले मुख छोपेर पार्टीले तोकेको चुनाव चिह्नमा आँखै नहेरी भोट हाल्ने मतदाताको चेतनामा प्रश्न गर्छन्। हर्क भन्छन्, “लोकतन्त्रमा सर्वोच्च अधिकार मताधिकार हो। यो बीउ जस्तै हो, हामी कस्तो माटोमा हातको बीउ छर्दै छौं त्यसले हाम्रो जीवनमै फरक पार्दछ।” उनको तर्क यहीँ  सकिन्न। “आलुप्याज किन्दा छानी छानी किन्नेले भोट दिंदा किन लापरवाही गरेको?” प्रश्न गर्छन्। आफ्नो एकल अभियानलाई उनले जोगीले फेरी लाउँदै हिंड्ने घटनासँग जोडेका छन्। आधा रातमा फेरी लाउँदै हिंड्ने जोगी घर घरमा भूतपिचाश भगाउदै हिंडेको भन्ने मान्यता छ। त्यसरी नै उनी राजनीतिका भूतपिचाशहरूको सातो खान आएको हुँ भन्दै हिंड्थे। भूतपिचाश त केवल एक बिम्ब हो। सबै किसिमका अनियमितताबाट वाक्क हर्कले जनतालाई सम्झाउने एक तरीका मात्र हो। उनी बेथितिहरूको सातो लिन चाहन्थे। अराजक झुण्डहरूको सानो सातो त अहिले नै गइसक्यो।

राजनीतिक दलहरूको चुनावी चिह्नसँग जोडिएको अन्धविश्वाससँग आजित हुँदै उनले भनेका छन्, “म यो चोकमा ठूलो रूखको चिह्न बनाउँछु। अलि पर सूर्यको त्यत्रै चिह्न बनाउँछु। एक–दुई महीना हेर्नुस्। के ती चिह्नले उठेर काम गर्छन्? काम गर्ने चिह्नले हो कि मान्छेले?” हर्कले भने जस्तै पार्टीले उठाएका मानिसहरूलाई भन्दा पार्टीका चुनाव चिह्नमा मानिसले अधिक आस्था देखाए। जस्तै– बदमासी हुँदा पनि चुनाव चिह्नसँग मोह तोड्न सकेनन्। पार्टीका चिह्नमा अपराधी, माफिया, ठगहरू पनि उठे। यस्ता मानिस पनि जनप्रतिनिधि कहलिए। लोकतान्त्रिक व्यवस्थालाई गिज्याउने यस्ता उदाहरण देशैभरि छन्। 

गएका पच्चीस वर्षमा मानिसहरूले आफैंले अँगालिरहेका सम्प्रदाय बाहेक अरू दुई सम्प्रदायको शपथ लिए। एक कांग्रेस सम्प्रदाय, अर्को कम्युनिष्ट सम्प्रदाय। धार्मिक साम्प्रदायिक अतिवादलाई राजनीतिक अतिवादले बिर्साइदियो। गाउँघरमा पार्टीको नाममा झैझगडा भइरहे। बिहेबारी पनि राजनीतिक आस्था हेरेर गरिन थालियो। राजनीतिक दलहरूले दर्शन, सिद्धान्त पोलेर हिंड्दा पनि मानिसहरू यो जालोबाट निस्कन सकेनन्। दलहरूको मनोमालिन्य यही कारण बढ्यो। मान्छेहरूको समूहलाई उनीहरूले कांग्रेसको गढ र कम्युनिष्टको किल्ला भनिरहे। नेपाली समाजका नेतृत्व र बौद्धिक पङ्क्तिले मानिसको चेतना योभन्दा पर हुन्छ भन्ने कल्पना गर्न चाहेनन्। उनीहरूले मानिसहरूलाई कांग्रेस र कम्युनिष्टभन्दा माथि देखेनन्। नेपालमा हलिया, कमैया प्रथा त उन्मूलन भयो। दलीय दासप्रथा फैलिरह्यो। यही कारण दलीय बौद्धिकहरू मानिसहरूले स्वतन्त्र उम्मेदवारप्रति देखाएको झुकाव र विश्वासलाई सहनै सकेका छैनन्।

बौद्धिकहरूले नागरिकलाई दलको कैदमा रमाउन भनिरहे। हर्क साम्पाङले दलहरूको दासताबाट मुक्त हुन आह्वान गरिरहे। स्थानीय निकायमा दलीय हस्तक्षेपले कस्तो प्रभाव पार्छ भनेर सरल भाषामा सम्झाइरहे। उनले मानिसहरूलाई बडे बडे शब्दजालमा अड्काएनन्। स्थानीय निकायले प्रभावशाली ढङ्गले काम गर्न दलको दबदबाबाट बाहिर आउनैपर्छ भन्ने कुरा स्थानीय लवजमा सम्झाइरहे। अखबारमा डुलिबस्ने राजनीतिक दर्शनलाई सडकमा ओराले। मतदान के हो, स्थानीय चुनाव के हो, भ्रष्टाचार के हो यी सबैको फेहरिस्त दिए। नीतिगत भ्रष्टाचार र आर्थिक भ्रष्टाचार बुँदा बुँदामा सम्झाए। उनले यही राजनीतिक सामाजिक चेतको आधारमा घोषणापत्र तयार पारे। हर्क सडकमा बोलिहिंड्ने एक लहडी होइनन्। एक चिन्तक र विचारक हुन्।

बुद्धको पालाको एउटा कथा छ। बुद्धभन्दा अघिका धर्मगुरुहरू धर्मलाई निकै बोझिलो भाषामा प्रवचन दिन्थे। उनीहरूलाई सामान्य मानिसभन्दा विशिष्ट देखिने लोभ हुन्थ्यो। जब बुद्ध आए उनले निकै सरल भाषामा पाप र धर्मबारे बुझाउन थाले। उनलाई अरू मानिसभन्दा भिन्न देखिनु थिएन। मानिसहरूप्रति करुणा थियो। जतिसक्दो सरल भाषामा सम्झाउनु थियो। 

अहिलेको समयको राजनीति, अर्थनीति पनि त्यस्तै भएको छ। मानिसहरूले बुझे भने सानो भइएला भन्ने पण्डितहरूलाई सरल भाषा मन पर्दैन। कोही सरल भाषामा बुझाउन आएको पनि मन पर्दैन। यस्तो विशिष्ट विषय आम मानिसहरूले बुझ्न थाले पण्डितहरूको धन्दा चौपट हुनेछ। हर्क साम्पाङहरूलाई खिसी टिउरी गर्ने जमात यस्तै मानिसहरूको हो। यस पटक चुनावमा जनप्रतिनिधिहरूले दिएको दिक्दारीसँग रिसाउने तागत पनि सकिएको थियो मानिसहरूसँग। एक्कासि चारै दिशाबाट छाएका स्वतन्त्र उम्मेदवारहरूले उत्साहको सञ्चार गरे। लामो खडेरीपछि अचानक परेको वर्षात जस्तो भयो चुनावी मौसम। मानिसहरू बौरिए। 

साम्पाङको एकल चुनावी अभियान नेपाली राजनीतिका लागि एक ऐतिहासिक दृश्य हो।  चोक चोकमा रात दिन नभनी, नथाकी मानिसहरूलाई सम्झाउँदै हिंड्नु चानचुने कुरा होइन। हेर्दा सामान्य देखिन्छ। तर, यो पूरै संरचनागत बेथितिसँग एक्लै होमिएको युद्ध हो। हर्क साम्पाङले चुनाव होइन, युद्ध जितेका हुन्। उनी कहींबाट होइन, मानिसहरूकै बीचबाट आएका हुन्। निष्पट्ट अन्धकार चिरेर आफ्नै प्रकाशमा उदाएका हुन्। उनको विजय सामूहिक चेतनाको विजय हो।
 

ad