देशभरका ३४ स्थानमा मतदान स्थगित

image आँखा संवाददाता शुक्रबार​, बैशाख ३० २०७९
image

नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको जनाएकाे छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ । 

नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएको छ । यस्तै प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ स्थानका मतदान केन्द्रमा मतदान स्थगित भएको छ । लुम्बिनी प्रदेशमा भने आज तय भएका सबै स्थानमा मतदान कार्य सम्पन्न भएको छ । केसीका अनुसार कर्णालीका ३ मतदान केन्द्रको पनि मतदान स्थगित भएको छ । उनका अनुसार विभिन्न कारणले ११० स्थानमा मतदान स्थगित भएकामा ७६ स्थानको भने पुन सुचारु भएको छ ।

यसैबीच निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल) ले छिटपुटरुपमा भएका आपसी द्वन्द्व, झडप, झगडा र हिंसात्मक घटना भएको जनाएको छ । समितिले घटनाहरूले पर्यवेक्षकहरूले समेत असुरक्षित महसुस गर्न परेको र भयभीत वातावरणमा पर्यवेक्षण गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हुम्ला, बारा, बाजुरा, गोरखा, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिरहा, सर्लाही, बझाङ, रोल्पा, सप्तरी, रौतहट, जुम्ला, तनहुँ, पर्वत, दैलेख लगायतका कतिपय निर्वाचन केन्द्रहरूमा हिंसात्मक घटनाहरू भई प्रहरीहरूद्वारा हवाई फायर नै गर्नुपर्ने अवस्थाहरूको सिर्जना भएको पाइयो, जसले निर्वाचनमा आयोगले प्रचार गरेबमोजिम निर्वाचन सुरक्षामा पनि सवाल उठेको छ । कतिपय स्थानहरू मतदान स्थगन भई फेरी निर्वाचनको दिन तोक्नुपर्ने अवस्था सिर्जना भएको छ ।’