मेलम्चीः पानी प्रवाह पुनः बन्द, अब कहिलेबाट फेरि आउला

image मङ्गलबार, जेष्ठ १७ २०७९
image

वर्षायामको जोखिम बढेसँगै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गर्न लागिएको बताइएको छ।

मङ्गलवारबाट सुरुङमा पानी प्रवाह क्रमिक रूपमा घटाउन सुरु गरिएको र साँझसम्ममा पूर्ण रूपमा सुरुङको ढोका बन्द गरिसकिने बताइएको छ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार अब मनसुनपश्चात् मेलम्चीमा सफा पानी प्रवाह हुने समय सुरु भएपछि मात्रै पुनः काठमाण्डूतर्फ पानी पठाउन सुरु गरिने छ।

विगतमा मेलम्चीमा असोज महिनातिरै सफा पानी प्रवाह हुने गरेको भए पनि हाल नदीको माथिल्लो भागमा बालुवा, माटो र ढुङ्गा जम्मा भएको र त्यो क्रमिक रूपमा पानीमा मिसिएकाले लामो समय धमिलो पानी रहनसक्ने बताइएको छ।

हाल वैकल्पिक मार्ग हुँदै सुरुङमा पानी प्रवाह गरिएकाले धमिलो पानी आउँदा समस्या परेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

''मुख्य हेडवर्कसमा पानी थिग्र्याउने संरचना छ। त्यसैले सुरुङमा धमिलो पानी जाँदैन। तर त्यो मुख्य संरचना अहिले क्षतिग्रस्त छ,'' पन्तले भने।

मङ्गलवार बिहानसम्म आयोजनाले काठमाण्डूमा पानी प्रवाह गरेको उनले जानकारी दिए।

आयोजनाबाट काठमाण्डूमा प्रतिघण्टा ७,२०० घनमिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रवाह गरिरहेको थियो।

मेलम्ची

तस्बिर स्रोत,MELAMCHIWATER.GOV.NP

हाल त्यसको एकचौथाइ पानी सुरुङबाट प्रवाह भइरहेको बताइएको छ।

मनसुन कहिलेसम्म रहन्छ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जुन १३ तारिख (जेठ ३० गते)को छेकोमा मनसुन सुरु हुने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले यसपालि औसतदेखि औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन्।

मनसुनका बेला अधिकतम तापक्रम औसतभन्दा कम हुने देखिएको र न्यूनतम तापक्रम औसत र औसतभन्दा केही बढी हुने देखिएको महाशाखामा वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

Map: Melamchi

यो वर्ष मनसुन अक्टोबर महिनाको २ तारिख (असोज १६ गते) आसपासमा सकिने सम्भावना रहेको विज्ञहरूको अनुमान छ।

के छ काठमाण्डू उपत्यकाको मागको अवस्था?

काठमाण्डू उपत्यका खानेपानी लिमिटेड केयूकेएलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ।

तर वितरण भने मौसमअनुसार फरक पर्छ।

बर्खायाममा ११ करोडदेखि १२ करोड लिटर र सुक्खयाममा आठ करोडदेखि नौ करोड लिटरसम्म पानी वितरण गर्न सकिने केयूकेएलको भनाइ छ।

धारो

तस्बिर स्रोत,SPL

केयूकेएलका अनुसार सामान्यतया असार महिनादेखि असोज दोस्रो हप्तासम्मलाई 'वेट सीजन' अर्थात् बर्खायाम मानिन्छ भने त्यसपछिको समयलाई 'ड्राई सीजन' अर्थात् सुक्खायाम मानिन्छ।

यसअघि मेलम्चीको पानी थपिँदा उपत्यकामा केयूकेएलले झन्डै २७ करोड लिटर पानी वितरण गर्दै आएको थियो।

तर पुरानो संरचनाका कारण प्रवाह गरिने पानीमध्ये लगभग २० प्रतिशत चुहावट हुने गरेको उसको अनुमान छ।

उपत्यकामा मेलम्चीको पानी वितरण हुँदा एक दिन बिराएर पानी दिने गरिएको थियो।

तर त्यस्तो नहुँदा भने सातदेखि १२ दिनसम्मको अन्तरालमा मात्रै पानी दिइने गरिएको थियो। BBC