जिल्लामा तालमेल नभएपछि सत्ता गठबन्धनका नेताहरु छलफलमा

image आँखा सम्वाददाता शनिबार, बैशाख १० २०७९
image

काठमाडौँ — स्थानीय तह निर्वाचनमा देशभरको चुनावी तालमेलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । केन्द्रबाटै महानगरपालिका र उपमहानगरपालिकाको तालमेलबारे टुंगो लगाए पनि विभिन्न जिल्लामा देखिएको समस्याबारे छलफल गर्न नेताहरू छलफलमा जुटेका हुन् । 

केहीबेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । जिल्लामा गठबन्धन दलहरूले गठबन्धन नगर्ने भन्ने निर्णय गर्न थालेपछि नेताहरूले त्यस्तो हकमा केन्द्रबाटै निर्णय गर्ने वा स्थानीय निर्णयलाई प्राथमिकता दिने भन्नेबारे दलहरूबीच मतभेद छ । 

नेकपा एकीकृत समाजवादीले केन्द्रबाटै विवाद भएका जिल्लामा गठबन्धन गर्नेबारे निर्णय गर्नुपर्ने माग गरेको छ । कतिपय जिल्लामा कांग्रेस र माओवादी केन्द्र मात्रै मिलेपछि एकीकृत समाजवादीले असन्तुष्टि पोखेको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबारै आयोजित एक कार्यक्रममा जिल्ला जिल्लामा भइरहेको गठबन्धनको रिपोर्ट आशावादी नभएको भन्दै गुनासो गरेका थिए ।