स्थानीय निर्वाचन : सहमति नजिक छौं, भोली सार्वजनिक गर्छौ: सरकारका प्रवक्ता

image आँखा सम्वाददाता सोमबार, बैशाख ५ २०७९
image

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा मंगलबार सहमति जुट्ने दावी गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले ६ वटा महानगर र ११ वटा उपमहानगरको प्रमुख र उपप्रमुखबारे सहमति नजिक पुगेको बताएका हुन् । उनले मंगलबार साढे ११ बजे गठबन्धनको बैठक बस्ने र सहमतिको खाका सार्वजनिक हुने बताए ।

‘हामी समग्ररुपमा सहमतिको नजिक पुगेका छौं । भोली साढे ११ बजेको बैठकपछि मैले तपाईहरुलाई सहमतिको खाका सुनाउनेछु । गठबन्धनमा सबैकुरा सकरात्मक भइरहेको छ’, मन्त्री कार्कीले भने । 

सबै महानगर र उपमहानगगरबारे वस्तुनिष्ठ छलफल भइरहेको भन्दै मन्त्री कार्कीले मंगलबार सुखद परिणाम आउने दावी गरेका हुन् ।