कचनकवलका अध्यक्षका उम्मेदवार राजवंशीविरुद्ध उजुरी

image आँखा मङ्गलबार, बैशाख १३ २०७९
image

झापा , बैशाख १३ । नेपाली कांग्रेसका तर्फबाट कचनकवल गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका कालेन्द्रप्रसाद सिंह राजवंशीविरुद्ध उजुरी परेको छ ।

कचनकवल १ स्थित बुद्ध आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुँदा पेश्की फछ्र्यौट नगरेको भन्दै उम्मेदवार राजवंशीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । त्यस विद्यालयको करिब १६ लाख पेश्की फछ्र्यौट हुन बाँकी रहेको जनाइएको छ । राजवंशी २०७४ सालमा सो विद्यालयको व्यवस्थापन समिति अध्यक्ष रहेका थिए ।

अध्यक्षका उम्मेदवार राजवंशीविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश पाण्डेले बताए । उनले मेचीनगरका वडाध्यक्षका एकजना उम्मेदवारविरुद्ध पनि उजुरी परेको जानकारी दिए । ती उम्मेदवारको नाम थाहा हुन सकेको छैन । नेकपा एमालेसंग गठबन्धन गर्ने गरी कांग्रेसका तर्फबाट राजवंशी अध्यक्षमा उठेका हुन् ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उनी अध्यक्षमा उठेका थिए । मनोनयन दर्ता गराएका उम्मेदवारहरुमाथि उजुरी गर्ने समय मंगलबार साँझ ५ बजेसम्म रहेको थियो । ती उजुरीमाथि बुधबार र बिहीबार छानबिन गरेर १६ गते अनितम नामावली प्रकाशन गरिने सूचना अधिकारी पाण्डेले जानकारी दिए ।