ओलीको गृहनगर दमकमा गठबन्धन र राप्रपाबीच तालमेल

image आँखा संवाददाता आइतबार​, बैशाख ११ २०७९
image

लामो रस्साकस्सीबीच झापाको दमक नगरपालिकामा गठबन्धनले भागबन्डा टुंग्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले निकै महत्त्वका साथ हेरिएको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धन बनेको हो। जसअनुसार दमकमा राप्रपाले नगरप्रमुख पाउने सहमति भएको नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए।

कांग्रेसले उपप्रमुखसहित चारवटा वडा र माओवादीले चारवटा वडा पाउने सहमति भएको उनले बताए। राप्रपाले नगरप्रमुखसहित वडा नम्बर १ र ७ पाउने सहमति भएको उनले बताए। यस्तै, कांग्रेसले उपप्रमुख सहित वडा नम्बर ३, ४, ५, र १० नम्बर वडा पाउने सहमति भएको छ। 

माओवादीले वडा नम्बर २, ६, ८ र ९ लिने सहमति भएको बस्नेतले  जानकारी दिए। जसपा र नेकपा (एस)लाई पनि वडामा समेटेर अघि बढ्ने सहमति भएको बस्नेतले बताए। 

राप्रपा दमकमा शक्तिशाली पार्टी मनिन्छ। यसअघि ०७४ को निर्वाचनमा राप्रपाबाट राम थापा दोस्रो स्थानमा थिए। यसपटक पनि राम थापा नै राप्रपाबाट उम्मेदवार बन्नेछन्। गठबन्धनका अरू दलले उम्मेदवार भने टुंगो लगाएको छैन। 

दमकमा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन दल एक जुट भएका हुन्। दमकको नगरप्रमुखका लागि एमालेले गीता अधिकारीको मनोनयन दर्ता गराएको छ। उनी यसअघि दमक नगरपालिकाकी उपप्रमुख थिइन्।