बिर्तामोड ४ मा कांग्रेसका तर्फबाट बागी उम्मेदवार खड्का

image आँखा मङ्गलबार, बैशाख १३ २०७९
image

बिर्तामोड, बैशाख १३ । नेपाली कांग्रेसभित्र बिर्तामोड ४ मा उम्मेदवार छनोटका क्रममा विवाद मात्र भएन, बागी उम्मेदवारी समेत पर्यो ।नेपाली कांग्रेसका सक्रिय सदस्य हेमकुमार खड्का(हेमु) ले वडाध्यक्ष पदमा बागी उम्मेदवारी दिएका हुन् । बहालवाला वडाध्यक्ष कुलप्रसाद संग्रौलाले फेरि वडाध्यक्षको टिकट पाएपछि धेरैजना आकांक्षी असन्तुष्ट देखिए ।

शुरुमा वडाध्यक्षका लागि २६ जना आकांक्षी देखिएका थिए । लामो रस्साकस्सीपछि वडा समितिले त्यसमध्ये ७ जनालाई वडाध्यक्षका लागि सिफारिस गरेको थियो । सिफारिस हुनेहरुमा राजकुमार प्रसाई , कुलप्रसाद संग्रौला , ध्रुव सुवेदी , उत्तम खनाल , हेमकुमार खड्का ,देवेन्द्र सिटौला र तारा कार्की रहेका थिए ।

त्यस्तै खुल्ला वडा सदस्यमा मनोज खड्का , राजु राजवंशी (सन्तोष), लक्ष्मी गौतम , लक्ष्मी खरेल , यादवकुमार ओली , विजय काफ्ले , बमबहादुर मैनाली , तुफान शेख , बिनोद प्रसाई , किरण बिमली , कमल सिटौला , प्रेम मैनाली , उत्तम चौधरी , रणदेव हजाम , महिला सदस्यमा बालादेवी खरेल , मनकुमारी चुडाल , सम्भा राजवंशी , रबिना खड्का , मन्जु ओली न्यौपाने , कमला गुरागाई , सरिता मगर , जमुना राजवंशी , सुस्मिता संग्रौला र दलित महिला सदस्यमा आसा परियार सिफारिस भएका थिए ।

वडाध्यक्षमा सिफारिसमध्ये पहिलो नम्बरमा परेका वडा सभापति राजकुमार प्रसाई र तेस्रो नम्बरका हेमकुमार खड्काले टिकट पाएनन् । टिकटका लागि दोस्रो नम्बरका कुलप्रसाद संग्रौला भाग्यमानी सावित भए । संग्रौलाले टिकट पाइरहँदा अन्य आकांक्षीहरु रुष्ट मात्र नभएर त्यसमध्येबाट खड्काले बागी उम्मेदवारी दिएका हुन् ।

गत चुनावमा जित्ने बेलामा उम्मेदवार संग्रौलाले अर्को पटक आफूलाई वडाध्यक्ष छोड्ने प्रतिवद्धता जनाएर यसपटक पनि आफ्नै स्वार्थ पूरा गर्न लागेपछि स्वतन्त्र उम्मेदवारी दिएको खड्काले बताए । ‘मलाई यसपटक जिताउनुस्, अर्को पटक तपाईलाई छोड्छु भन्नुभएको थियो ’ गत चुनावको कुरा संझिदै खड्का भन्छन्‘ तर उहाँको रहर कहिल्यै पूरा भएन ।’ पार्टीमा सक्रिय भएर लामो समयसम्म खटिरहँदा पार्टीले मूल्यांकन नगरेपछि कार्यकर्ता साथीहरुको सल्लाहले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । खड्का गत चुनावदेखि नै वडाध्यक्षको आकांक्षी रहँदै आएका छन् ।

करिब ३५ वर्षदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका खड्का दुई कार्यकाल वडा सभापति थिए । त्यस्तै उनी एक कार्यकाल क्षेत्रीय प्रतिनिधि भए । आफूले सामाजिक रुपमा विभिन्न संघसंस्था र मठमन्दिरलाई सहयोग गर्दै आएको खड्काको भनाई छ । उम्मेदवारी दर्ता गराएपछि उनले सचिवालय स्थापना गरेर चुनाव प्रचारप्रसार गर्दै आएका छन् ।

सचिवालयमा लक्ष्मी गौतम , आयुस थापा र युवराज ओली सदस्य छन् । खड्कालाई नगर कमिटी सचिव उत्तम खनाल, वडा सचिव लक्ष्मी गौतम , पूर्व वडा सचिव मोहन चुडाल , वडा सहसचिव चन्द्र खरेल ,वडा सदस्य देवी घिमिरे , क्षत्रीय प्रतिनिधि विवेक पाठक , उत्तम चौधरी , राजु न्यौपाने , संजीव चापागाई , तुलसा खनाल , विनोद प्रसाई , विजय काफ्ले, सम्भा राजवंशी, रमेश थापा मगर, भक्ति प्रसाईलगायत ५० भन्दा बढी कार्यकर्ताले समर्थन जनाइसकेका छन् । यो क्रम बढ्दै जाने वडा सभापति राजकुमार प्रसाईले बताए । सिफारिस भएका ७ जना आकांक्षीमध्ये पाँचजनाले सर्वसम्मत नाम दिँदा समेत पार्टीले वास्ता नगरेको उनले गुनासो गरे ।

उम्मेदवार खड्का पार्टीका पूर्व जिल्ला सचिव स्व. लक्ष्मण खड्काका दाजु हुन् । खड्काको परिवारले पार्टीको नगर समिति भवनको लागि लाखौं पर्ने एक कठ्ठा जग्गा दान दिएको थियो । आफूहरुको परिवारले पार्टीलाई दिएको योगदानको मूल्यांकन नगरिएको उम्मेदवार खड्काको गुनासो छ । उनले अमूल्य मत दिएर आफूलाई जिताउन वडाका सम्पूर्ण मतदाताहरुलाई आग्रह गरेका छन् ।