जनआन्दोलनका सहिद सुरज र राजनको १६ औं स्मृति दिवस मनाइयो

image आँखा मङ्गलबार, बैशाख ६ २०७९
image

भद्रपुर , ६ वैशाख ।आज वैशाख ६ गते, शाही सेनाको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको सम्झनामा सहिद सुरज विश्वास र राजन गिरीको १६ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी आज मनाइएको छ । 
२०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा सहिद सुरज विश्वास र राजन गिरीले शाही शासनको अन्त्य गरी लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि देशका लागि बलिदान दिएका थिए । 
सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले भद्रपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सहभागीहरूले भद्रपुर– ६ स्थित सहिद सुरजको अर्धकदको सालिक र राजनको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । 
सहिद सुरज विश्वास पार्क निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य शुभलक्ष्मी राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहिद माता मिना विश्वास, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ, ३ नम्बर वडा अध्यक्ष कमला थुलुङ, वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बरुवाल, ७ नम्बर वडा विनोद पोखरेल, नेकपा एमाले जिल्ला उपसचिव असारु राजवंशी, एमालेका नगर इन्चार्ज हरि तिम्सिना, एमालेका नगर अध्यक्ष ब्रह्मलाल ढुङ्गाना, घनश्याम अधिकारी लगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य समितिका सन्ध्या हाडाले राखेकी कार्यक्रमको सञ्चालन सचिव दीपक अग्रवालले गरेका थिए । 

 

त्यस्तै चन्द्रगढी विमानस्थलमा सङ्गठित यातायात व्यवसायीको चन्दगढ यातायात प्रा.लि.ले सहिद सुरज विश्वासको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । व्यवसायीले भद्रपुर–८ स्थित आफ्नै भवनमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा २४ जनाले रगत दिएको चन्दगढ यातायातका अध्यक्ष विजय वैधले जानकारी दिए ।  सहिद सुरज चालक भएको र उनी चन्द्रगढी विमानस्थलमा ट्याक्सी चलाउँथे ।  उता सहिद राजन गिरीको अर्ध कदको सालिकमा पनि माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको थियो ।