"कर्तव्यको देहावसान"

image रमेश कुमार सुबेदी शनिबार, चैत्र १२ २०७८
image

"कर्तव्यको देहावसान"

हिजो उसले हामी गरिब हौं,भन्यो।
फाटेको कमिज र टायरको चप्पल लगायो
राज्य दोहन गर्नेको विरुद्ध,नारा लगायो।
अन्यायको बिरोधमा राँको बाल्यो
आज उसकै विरुद्धमा आगो बालिदै छ
फरक यति नै हो,
हिजो उ कर्तब्यपालन कर्ता थियो
आज उ कर्तव्यको देहावसान कर्ता भएको छ
त्यसैले आज नेपाल बन्द छ

नेपाल बन्द छ
सडकको बिचमा रुख छ
रुखको टुप्पोमा बनेको गुँड भत्किएको छ
गुँड भित्रको अन्डा फुटेर छ्याल्लब्याल्ल छ
चरा अर्को रुखको टुप्पोमा बसेको छ
चिचिचुचु गरेको छ
आँखामा उसको रोदन छ,
एउटा न्याय खोज्ने आन्दोलनले
अर्काको न्याय मारेको छ,
नसकेर नै हो क्यारे
उ आन्दोलन गर्दैन
उसको चिचिचुचु एउटा आन्दोलन नै हो
न्याय खोज्ने आन्दोलहरुको बिचमा
अर्को न्यायको माग हो,
उसको माग कसले सुन्छ?
कसले बुझीदिन्छ ?
आखिर हार मानेर नै हो कि!
उ आज सागुरीएको छ
खै ति रुखहरु? खै ति हाँगाहरु ?
आज उसले खोजेको छ।
अफसोच!
हाँगा र पातको गुँडहरुसंग
उसले नाता तोडेको छ
त्यसैले होला!आजभोलि उ
तार र प्लास्टिकको गुँडमा
सीमित भएको छ
तार र प्लास्टिकको गुँडमा
सीमित भएको छ

नेपाल बन्द छ
सडकमा एउटा जमात  छ
बार्‍ह,तेर्‍हका नाबालखको हातमा
लौरो,रड,भाला र गुलेली छ
गुलेलिको ढुङ्गाले बसमा चुम्बन गरेकोछ
बिचरा सिसा चकनाचुर हुन्छ
ढुङ्गाको चुम्बन बिष हुन्छ
अर्को बालक रडले बसमा
ड्याम्म हान्छ,तोडफोडमा रमाउछ
ओहो!
नेतृत्वले स्याबासीको उपहार दिन्छ,
ठोक केटा हो! ठोक !
अर्को नाबालख तम्सिन्छ,जोसिन्छ
बसको भित्तामा पेट्रोल छर्कन्छ
यात्रीहरु कोकोहोलो गर्छ्न
उसको मन वैरी भएको छ
बसले आज आफ्नो अस्तित्व गुमाएको छ
यहा न्याय हराएको छ
अन्यायको बिरोधको बिचमा न्याय मरेको छ
यात्रीको घर-घर पुग्ने अधिकार खोसिएको छ
उसको स्वार्थमा अर्काको अधिकार हराएको छ
यस्तै छ यहा!
अधिकार खोज्नेले
कर्तब्य बिर्सेको छ
मेरो अधिकार,मेरो कर्तब्य भन्नेले
अरुको अधिकार र कर्तब्यको
देहावसान गराएको छ

आज बार्‍ह तेर्‍हका नाबालक
युवा कार्यकर्ता भएको छ
देशले होनहार नेता पाएको छ
आफ्नो नेता पुजनका लागी
अरु नेताको देहावसान गराएको छ
जीउँदो नेताको तस्बिरमा
हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ
गुलेलीको ढुङ्गा र पेटोलको आगोले
मान र सम्मान जलाएको छ
हिजोको नाबालख युवा भएको छ
लौरो,रड र भालाको भारीले
अपराधमा भासिएको छ
यसरी मेरो देशको युवा नेता
अपराध मनोबिज्ञानको बोझले थिचिएको छ
उपचार खोज्न उ कहा जाओस् ?
अन्यायको सन्तानोत्पादन भएको बेला
न्यायले देहावसानको उपहार पाएको छ
त्यसैले आज किन- किन
उ आफै देहावसानको बाटोमा हिडेको छ
देहावसानको बाटोमा हिडेको छ

                   अस्तु
                   रमेश कुमार सुबेदी
                   भद्रपुर - ७ झापा।