पासपोर्ट लिने भीड थेगिनसक्नु

image आँखा सम्वाददाता शुक्रबार​, चैत्र ११ २०७८
image

काठमाडौं : गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो– ‘वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।’ तर, भीड सरेन। बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे।  

विभागले बिहीबार सूचना निकाल्दै भन्यो, ‘राहदानी विभागका लागि खोलिएको आज मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ। बुकिङ २०७८ चैत १३ बाट हरेक दिन अपराह्न साढे ४ बजेपछि मात्र खोलिने व्यहोरा अनुरोध छ।’ राहदानी बनाउन अहिले अग्रिम बुकिङ गर्नुपर्छ। तर, सर्भरले थाम्दैन। सर्भरको क्षमता कम हुँदा नयाँ युगमा राहदानी प्रवेश गरेको बताए पनि नागरिकको सास्ती कम छैन। ‘म राति ३ बजे नै आएर लाइनमा बसेँ,’ बिहीबार बिहान १०ः५६ बजे कार्यालय परिसरमा भेटिएका बाग्लुङका २७ वर्षीय समिपराज आचार्यले भने, ‘डेढ महिना पहिले नै बुक गरेर आएँ। अहिले त सर्भर चलेको छैन भन्छन्। के गर्ने ?’

त्यहीँ भीडमा भेटिए कञ्चनपुरका गोविन्द जोशी। कोरिया पढ्न जाने तयारीमा रहेका उनी भन्छन्, ‘पढ्न जाने मौका मिल्छ भन्ने आस छ। नभए पेट पाल्न विदेश जानुको विकल्प छैन। तर, यसरी राहदानी बनाउन आउँदा पनि काम सहज छैन।’ सरकारले लाइन घटाउन ई–पासपोर्ट बनाउन थाले पनि सर्भरलगायतका प्राविधिक कुरालाई व्यवस्थित बनाउन नसक्दा दुःख पाएको जोशी बताउँछन्। ‘लाइनको झन्झटको विकल्पमा अनलाइनबाट सेवा दिने भनियो। तर, यसलाई सरकारले व्यवस्थित गर्न नसक्दा हामीले दुःख पायौं,’ उनले भने। 

सर्भर डाउन हुँदा सेवाग्राही मात्रै होइनन् कर्मचारी पनि हैरान छन्। सेवाग्राहीलाई सम्झाउन सक्ने क्षमता उनीहरूमा देखिएन। सप्तरीबाट आएका देवकृष्ण यादव ११ः३० बजे विभाग पुगे। तर, अलमलमा थिए। ‘पासपोर्टको फारम कहाँ रुजु गराउने ? राजस्व कहाँ तिर्ने ?’ भीडमा भएकाहरूलाई सोधे। तर, उनले सही जवाफ पाउन सकेनन्। कर्मचारी पनि नसुने झै देखिए। भद्रगोल लाइन र भीड मिलाउन नसकेर सुरक्षाका लागि खटिएका प्रहरी पनि हैरान थिए। ‘धेरैको एउटै गुनासो थियो, ‘अनलाइनले झन् लाइन बढायो।’ 

अनलाइनलाई व्यवस्थित गर्न नसक्दा भएको सर्भर डाउनले गर्दा राहदानी बनाउने, रिन्यू गर्ने र अन्य राहदानीसँग सम्बन्धित काम गर्नेले सास्ती भोगिरहेका छन्। केहीले धाउँदा–धाउँदा मात्रै काम भएको बताए। त्यो भीडमा काम भएका केही सेवाग्राही पनि भेटिन्थे। ताप्लेजुङका पूर्ण थेबे त्यहाँ खुसी देखिने सेवाग्राहीमा पर्थे। तीन दिनको लगातार लाइन लाग्दा बल्ल उनले राहदानी पाएका थिए। ‘भित्रदेखि बाहिरसम्म धेरै मान्छे छन्। दुःखको त कुरै छोड्नुस्। हातमा पासपोर्र्ट आएपछि त्यो दुःख सम्झिन मन लागेको छैन’, उनले भने। रुजु गर्न र राजस्व बुझाउन पनि लाइन नै बस्नुपर्छ। फोटो खिच्न र राहदानी लिन पनि लाइन नबसी काम हुँदैन। एक दिनमा काम भएन भने अर्को दिन फेरि आएर लाइन लाग्नुपर्छ। 

‘सर्भरको क्षमता थप्दैछौं’

– डोरनाथ अर्याल महानिर्देशक, राहदानी विभाग

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू राहदानी लिन आएका छन्। सन् २०१३ देखि २०१६ सम्म अत्याधिक संख्यामा यन्त्रवाचक (एमआरपी) राहदानी जारी भएको थियो। त्यसको नवीकरण गर्ने समय आएको छ। हालै कोरिया, जापानलगायत मुलुकहरूमा रोजगारी खुलेका कारणले निकै भीड बढेको हो। सर्भर डाउन भएर पनि समस्या थपिएको छ।

विभागमा कर्मचारी अभाव छ। स्थायी कर्मचारीहरूको दरबन्दी खाली छ। लोकसेवाबाट पदपूर्ति हुन सकेको छैन। हाम्रो कार्यालयमा १ सय बढी कर्मचारीको दरबन्दी छ। तर, अहिले ८० जना मात्रै छन्। उता जिल्ला प्रशासन कार्यालयहरूमा पनि दरबन्दी अनुसारको कर्मचारी छैनन्। दिनहुँ राहदानी लिन पाँच हजार बढी सेवाग्राही आउँछन्। हाम्रो क्षमता भनेको एक हजारदेखि १२ सयसम्म हो। हामी २ हजार ७ सम्मलाई राहदानी दिन बुकिङ खुला गर्छौं। सबै जिल्लामा सेवा नपुगेका कारणले हामी रातदिन खटेर सेवा दिइरहेका छौं। सर्भरलाई अपग्रेड गर्दा समस्या आएको हो। थोरै संख्यामा राहदानी जारी गर्दा समस्या देखिएको थिएन। मलेसियाबाट प्राविधिक टोली आएर सर्भरको क्षमता बढाउने काम भइरहेको छ। 

हामीले एकदिनमा ६ हजार २ सय ६० राहदानी पनि उत्पादन गरेका छौं। विभागले पहिला ७ सयदेखि ९ सयसम्म यन्त्रवाचक राहदानी जारी गरेको थियो। विभागको जनशक्ति र यन्त्रको अधिकतम प्रयोग गरेर उच्च सेवा दिइरहेका छौं। भर्खरै काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला प्रशासन कार्यालयसँग बैठक बसेको छु। राहदानी उत्पादन र वितरणका लागि पहिले जस्तो धेरै समय लाग्दैन। यन्त्रवाचक राहदानी बनाउन एक महिनादेखि करिब २ महिनासम्म समय लाग्थ्यो। अहिले एकदेखि दुई सातासम्ममा जिल्लास्तरमा राहदानी वितरण गर्दै आएका छौं। त्यसमा पनि उपत्यकामा सातामा दुई पटक विभागले राहदानी वितरण  गर्न पठाइरहेको छ।

हाल ६४ जिल्लाबाट विद्युतीय राहदानी वितरण भइरहेको छ। जनसंख्याको हिसाबले हामी ९० प्रतिशत जनसंख्यामा सेवाको पहुँच पुर्‍याइसकेका छौं। विदेशस्थित ३९ वटा नियोगमध्ये १५ वटा नियोगबाट राहदानी वितरण भइरहेको छ। मंसिर १ गतेदेखि चैत ९ गतेसम्म कुल १ लाख ३५ हजार ४ सय १ वटा विद्युतीय राहदानी जारी भएको छ। यो सोचेभन्दा ठूलो संख्या हो। पहिले मासिक ३५ देखि ४० हजारको संख्यामा राहदानी जारी हुन्थ्यो। अहिले त्यसको दोब्बर भएको छ। एकै महिनामा ७८ हजारसम्म राहदानी जारी गरेका छौं।