‘पार्टी विधिसम्मत चलाउने हो भने नेतृत्व परिवर्तन हुनुपर्छ : प्रकाशमान सिंह

image आँखा सम्वाददाता सोमबार, मङ्सिर २७ २०७८
image

कांग्रेसको १४ औं महाधिवेशमा नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । पार्टीको केन्द्रीय कार्यसमितिका विभिन्न पदमा सयौं आकांक्षीहरूबीच प्रतिस्पर्धा चलिरहेको छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले प्यानलै बनाएर नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । 

सभापतिमा युवा नेता कल्याण गुरुङले पनि उम्मेदवारी दिएका छन् । महाधिवेशनमा उम्मेदवारका समीकरण, नेतृत्व र एजेन्डाबारे सभापतिका उम्मेदवार प्रकाशमान सिंहसँग  गरेको कुराकानी :  

अन्तिम समयमा आएर एक्लै उम्मेदवार बन्ने निर्णय लिनुभयो । तयारी कस्तो छ ?

अन्तिम समयमा होइन, मैले धेरै अगाडिदेखि तयारी गर्दै आइरहेको हो । यो १४ औं महाधिवेशन हो । मैले त बहुदलीय व्यवस्था आइसकेपछिका सबै महाधिवेशनहरू भोगिसकेको अनुभव छ । म आठौं महाधिवेशन मै महाधिवेशन प्रतिनिधि भएर आएको थिएँ । त्यसैले यो लामो समयमा कुन नेता कस्तो छ ? भनेर सबैले मुल्यांकन गरिरहेकै छन् । पद पाउादा खेरि कत्तिको काम गरेको छ ? के–के गरेको छ ? सबैलाई थाहै छ । त्यसैले यो दुई दिनको तयारीमा चुनाव लड्ने होइन, यो त विगतदेखिको कामको मुल्यांकन हुने समय हो । 

तपाईंको उम्मेदवारी के–का लागि त ?

म ग्राउण्ड लेभलदेखि नै राजनीति गरेर आएको हुँ । विद्यार्थी हुँदा काठमाडौंमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएँ । दलहरूमाथि प्रतिबन्धित अवस्थामै म सक्रिय राजनीतिमा आएँ । त्यसपछि म पार्टीको काठमाडौं जिल्ला सभापति भएको मान्छे हुँ । मैले विद्यार्थी र पार्टीको तल्लो तहको संगठन देखि नै काम गरेको छु । १० औं महाधिवेशन अघि १६ जिल्ला संगठनहरू विघटन भए, त्यसमा काठमाडौं पनि पर्‍यो । लोकतान्त्रिक पार्टीभित्र महाधिवेशनको तिथिमिति तोकिसकेपछि नतिजा नै प्रभावित पार्नका लागि जिल्ला कार्यसमितिहरू भंग गर्न मिल्दैन भनेर देशभरि साथीहरूमाझ अभियान चलाएको थिएँ ।

लोकतान्त्रिक पार्टीभित्र विधान मिच्नुहुँदैन भनेर अभियान चलाएको थिएँ । म पोखरा महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यहरूमध्ये तेस्रो धेरै मत ल्याएर जितें । नेपाली कांग्रेस पार्टी विधि र विधानमा नचल्दा खेरि विधि र नियमअनुसार चल्नुपर्छ भनेर आवाज उठाउँदा खेरि देशभरिका साथीहरूबाट मुल्यांकन हुन्छ, हुँदै आएको छ । पछि पार्टी विभाजित हुँदा म शेरबहादुर देउवाजीको उपसभापति भएको मान्छे हुँ । त्यसपछि पार्टी एकतापछि गिरिजाप्रसाद कोइरालाको उपसभापति भएँ, र १२ औं महाधिवेशनपछि सुशील कोइराला सभापति हुनुभयो, म नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक निर्वाचित महामन्त्री भएको मान्छे हुँ, त्यो पनि सभापतिको भन्दा धेरै भोट ल्याएर ।

मेरो अनुभव के हो भने जिल्ला सभापति हुँदा पनि मैले देशैभरिका लागि नमुना जिल्ला बनाएँ । महामन्त्री र उपसभापति हुँदा पनि मैले महत्वपूर्ण भूमिका खेलेको छु । म महामन्त्री भएकै बेला कांग्रेसले दोस्रो संविधानसभाबाट संविधान जारी गरेको हो, त्यो बेला म महामन्त्रीमात्रै होइन, उपसभापति पनि थिएा । त्यसैले साथीहरूले जति बेला मलाई जिम्मेवारी दिनुभएको छ, मैले खरो उतारेर आफूलाई प्रस्तुत गरेको छु, आफ्नो भूमिका निभाएको छु । मैले कसैलाई काखापाखा गरेको छैन । आफू पनि पार्टीको विधानअनुसार चल्नुपर्छ, र अरुपनि त्यही विधिअनुसार चल्नुपर्छ भन्ने मान्यता राख्छु । 

त्यहीकारण मलाई धेरैले के भन्छन् भने एउटा कुशल संगठनकर्ता, दिएको जिम्मेवारीलाई पूरा गर्न सक्ने । त्यतिमात्रै होइन, लोकतन्त्रमाथि खतरा उत्पन्न हुँदा लड्न भिड्न पनि तयार हुने व्यक्तिको रुपमा चिन्छन् । मैले पुलिसको लाठी खाएको छु, भद्रगोल जेल बसेको छु । मैले धेरै दु:ख गरेको छु नि । त्यसैले मलाई विधि र नियमअनुसार चल्न, चलाउने खोज्ने कांग्रेसको नेताकोरुपमा सबैले लिन्छन् । अहिले मैले त्यहीकारण आफूलाई उम्मेदवारको रुपमा अघि सारेको हुँ ।

अर्को कुरा, १३ औं महाधिवेशनपछिको नेतृत्वले पार्टीलाई विधान र पद्धतिबमोजिम अघि बढाउन सकेन । यो नेतृत्वले त विधानले निर्देशित गरेका काम नै गर्न सकेन । हाम्रो विधानले त के स्पष्ट निर्देशित गरेको छ भने महाधिवेशन भएको दुई महिनाभित्र विभागहरू गठन गर्नुपर्छ भनेर निर्देशित गरेको छ ।

तर, दुई महिना होइन, दुई वर्षमा पनि ती विभागहरू गठन भएनन् । ती विभाग त पार्टीको विधानबमोजिम ४ वर्षे कार्यकाल पूरा भएपछि पो गठन भएका छन् । हामीले त्यसको विरोध गर्‍यौं । १३ औं महाधिवेशनपछि पार्टी त विधि र नियमअनुसार चल्न सकेन ।

क्रियाशील सदस्यता वितरणमा पनि उस्तै अवस्था छ । यो नेतृत्वले त न्यूनतम काम नै गर्न सकेन नि । महाधिवेशन पनि हरेक ४ वर्षमा हुनुपर्ने भनेको छ । तर, यो नेतृत्वले अहिले साढे ५ वर्षमा पनि अधिवेशन गर्न मानिरहेको छैन । सामान्य अवस्थामै असामान्य भनेर कार्यकाल लम्ब्याइयो । अहिले महाधिवेशन त भइरहेको छ, तर पार्टीको नीति र कार्यक्रम नै छैन । पार्टीलाई विचार दिनसक्ने नेतृत्व नै छैन । त्यसैले पार्टीलाई विधि र पद्धतिको बाटोमा हिडाउनका लागि मेरो उम्मेदवारी हो । 

तपाईं अस्तिसम्म जुन समूहमा हुनुुहुन्थ्यो, त्यो समूहबाट भदौ १७ गते तपाईंहरूले साझा उम्मेदवार तय गर्छौं भन्ने प्रतिवद्धता जनाउनुभएको थियो, तर अहिले तपाई आफैं एक्लै अघि बढ्नुभएको छ, यस्तो किन ?

म जुन विचार समूहमा थिएँ, त्यो विचार समूहले मलाई न्याय दिन सकेन । त्यो विचार समूहले मलाई न्याय नदिएका कारण मैले एक्लै अघि बढ्नुपर्ने परिस्थिति बन्यो । त्यो विचार समूहमा म सधैं पार्टीलाई विधिसम्म्तरुपले चलाउनुपर्छ भनेर लागिरहेको थिएँ । तर, त्यहाँ मैले आफैंले न्याय पाइनँ । त्यसो भएपछि म त्यही विचार समूहमा किन बसिरहने ? भनेर मैले यो जोखिम मोलेको हुँ । फेरि मैले पहिले पनि यसरी जोखिम मोलेर राजनीति गर्दै आएकै हुँ । अहिले पनि मैले त्यही जोखिम मोल्न तयार भएको हुँ ।

१३ औं महाधिवेशन पनि मैले उम्मेदवारी दिने तयारी गरेको थिएँ । त्यो बेला शेरबहादुर देउवाजीको समकालिन तपाईं होइन नि भनेर मलाई उहाँहरूले स्टेप डाउन गर्नुभयो । मैले त्यो बेला रामचन्द्र दाइलाई सघाएको पनि हुँ । बीपीको छोरा भनेर शशांक कोइरालालाई महामन्त्री बनाउन प्रस्तावक पनि बसेकै हुँ ।

म त्यो बेला महामन्त्री नै थिएँ, त्यो बेला म फेरि त्यही पदमा लड्छु भन्दाखेरि सबैले मलाई त्यो पदमा नदोहोर्‍याउनुस्, बरू केन्द्रीय सदस्य लडेर पार्टीलाई सहयोग पुर्‍याउनुपर्छ भनेपछि मैले त्यसै गरेको थिएँ । तर, अहिले १४ औं मा पनि मलाई रोक्ने प्रयास भएको पाएँ । साथीहरूले मलाई अहिले पनि पार्टीको सभापति हुन नदिने देखें । न्याय त गर्नुपर्‍यो नि ।

समुहमा बसेपछि वरिष्ठताको कुरा त हेर्नुपर्‍यो नि । १६५ बाट २३ सीटमा त कांग्रेस झरेकै हो नि । त्यो बेला त कांग्रेसले दुई तिहाई पाउनुपर्ने थियो, किनकि कांग्रेसले आफ्नो नेतृत्वमा यत्रो संविधान जारी गरेको, संघीयताको कार्यान्वयन गरेको, त्यो बेलामा पार्टीले हार बेहोरेपछि त्यसको जिम्मा त पार्टीको नेतृत्वले लिनुपर्‍यो । पार्टीको नेतृत्वले त्यहीबेला गुमाइसकेको थियो । कांग्रेसले म्याण्डेड नपाउनुको कारण त नेतृत्व नै हो ।

म त के भन्छु भने जनताले त्यही बेलादेखि नै भित्तेलेखन गरिसकेको छ कि हामीले बहुमत दिनुपर्ने हो भने नेतृत्व परिवर्तन गरेर आऊ । जनताले त अघिल्लो महाधिवेशनमै त्यो सन्देश दिइसकेका छन् । त्यसैले त्यो कुरा त पार्टीले मनन गर्नुपर्‍यो । हामीले अहिले नेतृत्व परवर्तन गर्न सक्यौं भने आगामी तीन तहकै निर्वाचनमा हामीले राम्रो परिणाम पाउन सक्छौं । होइन, अवसर पाएर पनि काम गर्न नसकेको त्यही पूराना नेतालाई फेरि पार्टीको जिम्मेवारी दिने हो भने त पहिले १६५ बाट २३ मा झर्‍यो, अब कुन हालत हुने हो ? म त अनुमान पनि गर्न सक्दिनँ ।

त्यसैले अहिले नेतृत्व परिवर्तन आवश्यक छ, अहिले सबैको माग नै नेतृत्व परिवर्तन गरौं भन्ने हो । पार्टीलाई विधि र पद्धतिको बाटोबाट हिडाऔं । पार्टीमा कसैलाई पनि अन्याय नहुने अवस्था बनाऔं । म यसअघि पटक पटक नम्बर टु म्यान भएर काम गरिसकेको छु, दुई पटक उपसभापति र महामन्त्री भएर काम गरेको छु । नम्बर टु म्यान भएर धेरै काम गरिसकेको छु, अब मलाई फस्ट म्यान बन्ने अवसर दिनुस् । मैले मेरो पहिलेको समूहमा पनि भनेको थिएँ, मलाई साझा उम्मेदवार बनाउनुस् भनेर । तर, उहाँहरूले मलाई नै स्टेप डाउन गराउन खोज्नुभयो । मैले अघिल्लो पटक रामचन्द्र दाइकालागि छोडिदिएँ । यो पटक मलाई म भन्दा जुनियरसँग कम्पेयर गरेपछि मैले त्यहाँ बस्नुपर्ने आवश्यकता ठानिनँ । मैले त्यसलाई अन्याय ठाने, त्यो सहन सकिनँ, त्यही भएर मैले यो बाटो रोजेको हुँ ।

अहिले कांग्रेसवृत्तमा प्रकाशमान सिंहले अस्वीकार गरेका कारण रामचन्द्र पौडेलले सक्रिय राजनीतिबाट विश्राम लिनुभयो भन्ने सन्देश गएको छ । तपाईंले उहाँलाई समर्थन गर्न मान्नुभएको भए साझा उम्मेदवार चयन हुन्थ्यो भन्ने कुरा छ नि ?

यसमा मेरो कुरा स्पष्ट छ, १६५ बाट २३ सीटमा झरेपछि केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने निष्कर्ष हो । मैले ठाने पछि त्यो गर्छु । यो बोल्नुका लागि मात्रै बोलेको होइन । ०४६ को परिवर्तनपछि अहिलेकै नेताहरूले पार्टीलाई संचालन गर्दै आउनुभएको हो, उहाँहरूकै कारण पार्टीको यो हालत भइसक्यो । उहाँहरूले अब त विश्राम लिनुपर्‍यो नि । उहाँहरूले जे जति गर्नुभएको छ, त्यो राम्रो छ । फेरि उहाँहरूलाई मेरो सम्मान छ, उहाँहरूले डेमोक्रेसीका लागि जे जति गर्नुभएको छ, म त्यसको सम्मान गर्छु । तर, अब त उहाँहरूले राजनीतिबाट विश्राम लिनुपर्‍यो नि । उहाँहरूले राजनीतिबाट अवकाश हुने समय भइसकेको हो ।

मैले न शेरबहादुरजीलाई मान्ने कुरा थियो, न रामचन्दजीलाई । त्यहीकारणले मैले उम्मेदवारी दिएको हुँ । मलाई कसैले गाली पनि गर्दो रहेछ, तर मेरो कुरा क्लियर छ, विचार समूहमा मैले अन्याय सहेर बस्दा चाँहि म राम्रो, मैले अन्याय नसहँदाचाँहि म नराम्रो भन्ने त हुदैन नि । मैले संसदीय दलको नेतामा विचार समूहको तर्फबाट प्रतिस्पर्धा गर्दा खेरि विचार समूहभित्रैबाट कत्तिको को–अपरेट भयो भनेर त सबैले देखेको छ नि । मलाई त्यत्रो न्याय नदिँदा पनि मैले विचार समूहमै बस्नुपर्ने । अहिले फेरि मैले चाँहि जुनियरलाई साथ दिनुपर्ने भन्ने त कसरी हुन्छ र ?

अहिले सभापतिको प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ?

हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । महाधिवेशन प्रतिनिधिहरूले हामीहरूमध्येबाट एक जनालाई चयन गर्न पाउने अधिकार छ, त्यसबाट उहाँहरूलाई बञ्चित गर्न त मिल्दैन । उहाँहरूले छान्नुहुन्छ, हामीमध्ये को राम्रो हो ? को उपयुक्त हो ? हरेक नेताको विगत छ, उसले कुन पदमा बसेर कसरी काम गरेको छ ? भनेर त महाधिवेशन प्रतिनिधिहरूले मुल्यांकन गर्नुहुन्छ, त्यो मुल्यांकन त हुन्छ नि त । त्यसैले १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने कुराले उहाँहरूको भविष्य निर्धारण गर्छ, पार्टीको भविष्य निर्धारण गर्छ, र सिंगो देशकै भविष्य निर्धारण गर्छ । पार्टी जोगाउनका लागि म सबै महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्दछु ।

सभापतिमा निर्वाचित हुनका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ । तपाईंलाई के लाग्छ, सभापतिमा तपाईंहरुको प्रतिस्पर्धा कस्तो हुन्छ ?

मैले सम्भावना देखेको छु । डेमोक्रेटिक पार्टी हो, प्रतिस्पर्धीहरू त छन् । प्रतिस्पर्धीहरूले त भन्छन् कि यो के लोकप्रिय छ र भनेर । तर, म कति लोकप्रिय छु भनेर त भनिरहनुपर्ने कुरा होइन । मैले त भनेको छु, कि भोट नभएर नै मैले थर्ड हाइयेष्ट मत लिएर केन्द्रीय सदस्य भएँ, १२ औं महाधिवेशनमा त्यतिकै सभापतिको भन्दा धेरै भोट लिएर जितें । यो सबै लोकप्रिय नभएरै भएको हो ? मैले सधैं पार्टीलाई विधान र विधिपद्धति बमोजिम चलाउनुपर्छ भनेर भनेको छु । त्यहीकारण मलाई विश्वास छ, म दोस्रो धेरै भोट पाउँछु, र दोस्रो चरणमा जान्छ भन्नेमा म ढुक्क छु ।