२४सै घण्टा व्यवसाय खोल्ने सुरुआत पोखराबाट : होटल, रेस्टुरेन्ट बन्द गर्न नजान प्रहरीलाई गृहमन्त्री खाणको निर्देशन

image आँखा सम्वाददाता शुक्रबार​, पौष १६ २०७८
image

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले पोखराको पर्यटन व्यवसाय २४सै घण्टा खोल्ने तयारी गरेको बताएका छन् । २३ औं पोखरा सडक महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले देशका अन्य भूभागमा पनि २४ घण्टा व्यवसाय खोल्न दिने आफ्नो चाहना रहेको बताए । 

‘रेस्टुरेन्टलाई २४ घण्टा नै खोल्न दिने खालको प्रबन्ध पोखराबाटै होस् भन्ने मेरो चाहना छ । त्यसमा व्यवसायीकै सबैभन्दा ठूलो सहयोग हुन्छ,’ उनले भने, ‘पोखराका व्यवसायीसँग सरकार साथमा छ । होटल, रेस्टुरेन्ट व्यवसायी, लगानीकर्ता, कर्मचारी मजदूरको साथमा सरकार छ, त्यही कुराको जनाउ दिन म पोखरा आएको हुँ ।’ 

कहाँ कहाँ २४ घण्टा खुल्ने रेस्टुरेन्ट चलाउने भन्ने व्यवसायीले नै तय गर्नुपर्ने उनको भनाइ छ । नजिकका स्थानीयले अवरोध नगर्ने गरी ठाउँ छुट्याउन उनले व्यवसायीलाई आग्रह गरे । रातभर व्यवसाय खोल्ने वातावरण बनाउन जनप्रतिनिधिले स्थानीयलाई मनाउन भूमिका खेल्नुपर्ने उनले बताए । उनले तत्काल बैठक डाकेर पोखरामा २४ सै घण्टा रेस्टुरेन्ट खोल्ने ठाउँ तोक्न कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

कहाँ कहाँ २४ सै घण्टा होटल, रेस्टुराँ खोल्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्न गृह मन्त्रालयमा सहसचिव फणिन्द्र पोखरेलको संयोजकत्वमा कार्यदल बनेको र त्यसको आफ्नो तयारी गरिरहेको उनले सुनाए ।

प्रहरी प्रशासनलाई पनि सहयोगी भूमिका निर्वाह गर्न उनले कार्यक्रममार्फत नै निर्देशन दिए । ‘रेस्टुरेन्ट र होटललाई बन्द गर्न तपाईंहरु जाने होइन,’ उनले भने, ‘त्यहाँको शान्ति सुरक्षा खलल भयो, होटलका मजदुर, कर्मचारी, लगानीकर्तामाथि अभद्र व्यवहार भयो वा उनीहरुको सुरक्षाको आवश्यकता भयो वा त्यहाँ बस्ने उपभोक्तालाई सुरक्षाको आवश्यकता भयो भने प्रहरी पुग्नुहोला ।’ होटल रेस्टुरेन्टमा गएर प्रहरीले व्यवसायीलाई दु:ख दिने या जबर्जस्ती बन्द गराउने काम नगर्न उनले आग्रह गरे । 

उनले फेवातालको जग्गा अतिक्रमण सम्बन्धी प्रतिवेदन गम्भीर रुपमा अध्ययन गरेर कार्यान्वयन गर्ने बताए । उनले एमालेलाई संसद् अवरुद्ध नगर्न कार्यक्रममार्फत आग्रह गरे ।

अंग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले सडक महोत्सव आयोजना गरेको हो । ‘सडकमै खाऔं, सडकमै नाँचौं र सडकै रमाऔं’ भन्ने नारासहित शनिबारसम्म गरिने महोत्सव पर्यटकीय क्षेत्र लेकसाइडको ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुन्छ । शहिदचोकदेखि डिहिकोपाटनसम्मको सडकमा यातायात बन्द गरी सडकमै राखिएका रेस्टुरेन्टको मज्जा लिन हजारौं आन्तरिक तथा बाह्य पर्यटक यतिखेर पोखरा आउँछन् ।

कोमागाने पार्कमा पर्यटन, संस्कृति, खानाको प्रवर्द्धन गर्ने किसिमका स्टल राखिएका छन् । पार्कमा दिउँसो लोकदोहोरी र साँझ पप कन्सर्ट हुन्छ । सडकका विभिन्न स्थानमा लोपोन्मुख वेशभूषा, कला, ग्रामीण भेगका घरेलु सामग्रीको प्रदर्शनी गरिन्छ । लेकसाइडलाई भरपूर सिंगारिएको छ । फेवातालको किनारमा हुने नेपालकै ठूलो सडक महोत्सवले पर्यटकीय नगरीमा नयाँ रौनक थपेको छ ।