नेताजीले भाषण ठोके - आउदो चुनावमा हाम्रा बिरोधिको पत्ता साफ बनाई दिन्छौ।हामीलाई एक सिट जित्न नदिने भन्नेलाई हामी देखाई दिन्छौं ।हामीले चुनाव जित्ने निश्चिति भैसकेको छ , अब कसैको केहि लाग्दैन,ढुक्क हुनुहोस - उनले जोडदारसंग भाषण गरे ।यो सुनेर सभामा भेलाभाकाले मरुन्जेल ताली ठोके, पररररररर।
नेताजी जोसिए,सायद तालीको प्रभाव नै होला !
उनले आफ्ना बिरोधिलाई " यि देशका लागि धमिरा हुन् ।फटाहा हुन् । यिनको पाखण्डपन हामीले देखिसक्यौं।यिनलाई गल्हत्याई बारीको पल्लो पाटामा पुर्याउनु पर्छ " , एउटा औलो ठड्डियाएर बारीतिर देखाउदै " उ त्यो भित्तामा पुर्याउनु पर्छ , बुझ्नु भो "। जोसिएर ठुलो स्वरमा कराए ।
फेरि ताली बज्यो अघिजस्तै परररररररर ।
ताली बजाउनेमा एक दुई त बडो जोसिला थिए , हो हो पुर्याउनु पर्छ, पुर्याउनु पर्छ , भन्दै उफ्रिन पनि भ्याउँथे।
नेताजी तिनलाई हेर्दै मुस्कुराउथे र कहिले औंला ठड्याउदै , कहिले मुड्कीले रोष्ट्रममा हिर्काउदै देशलाई स्वर्ग बनाउने कुरा पनि बेलाबेलामा भन्थे । सबैलाई भाषणले आफुतिर आकर्षित पारेर बिच्चबिच्चमा आफ्ना प्रतिद्वन्द्वीलाई कामै नलाग्ने खलनायक बनाइ दिन भ्याउथे। मानौ यि देशका लागी अभिशाप नै हुन ।
यिनले राजनीति गरे नेपालको कल्याण कहिल्यै हुदैन,उनि निर्धक्क भाषणमा भन्थे । उनले आफ्ना बिरोधिलाई कुनै न कुनै तरिकाले सकेसम्म नाङ्गेझार बनाई छाड्थे । यस्तो बेलामा भाषण सुन्नेले हातै दुख्नेगरी ताली ठोकेर उनको कुरालाई समर्थन गरिदिन्थे ।
उनको भाषण सकिएपछि अरु अथितिले हात मिलाएर दमदार भाषण गरेकोमा उनलाई बधाई समेत दिन भ्याईसक्थे । ऊनी निक्कै पुलक्कित हुदै गजक्क परेर दर्शक दीर्घाको दायांँ बायाँ नियाल्दै मुसुक्क हासेर आफ्नो ठाउँमा बस्थे।
आफुले कस्तो भाषण गरेछु भन्ने उत्सुकताले राति ऊनी टेलिभिजन हेर्न बसे। मुख्य समाचारमा उनका कुनै बिरोधि नेताले उनलाई , बिदेशीको एजेन्डामा रमाउने राष्ट्रघाती नेता भएको समाचार आयो। ऊनी नेपालको कामै नलाग्ने डलरे नेता भएकोले जनताले बिश्वास नै गर्न नहुने समिक्षा सहितको समाचार सुने।
उनले टेलिभिजनको च्यानललाई तलमाथि सारे , सबै च्यानलमा उस्तै उस्तै अर्थ लाग्ने समाचार आईरहेको थियो । बिरोधिले उनको घोर अपमान गरेको महसुस गरे।उनले अघि दिउँसो भाषणमा आफ्ना बिरोधिलाई भन्नसम्म भनेको बिर्से । उनको कन्पारो तात्तै गयो।त्यहिमाथि आफुले गरेको भाषण कहिँ कतै कुनै च्यानलले भनेको सुनेनन। पत्रकारले उनको भाषणलाई महत्त्व दिएको ठानेनन।
ऊनी रीसले झन् रन्थनिए, उनका हातगोडा चिसा भए । उनले केहि देखेनन । दाहिने पट्टि बसेकी श्रीमती जुरुक्क उठेर झुल लगाउन हिडेको समेत भेउ पाएनन । उनले टेलिभिजन बन्द गरे र जुरुक्क उठे । सरासर दोस्रो तलाको कोठामा गएर आधा फुटेको सिसाको र्याकमा राखेको पुस्तकहरु लाई एकोहोरो हेरिरहे । र्याकको एउटा कुनाबाट "नेपाली शब्दकोष" निकाले ।
शब्दकोषमा लागेको धुलो झारे । बिद्यार्थी भएको उवेला आफु सुत्ने कोठाको सिरानी तिर त्यो र्याक राखेको हुन्थ्यो । २०४६ साल पछि त्यो र्याक त्यहाँबाट छोराछोरी सुत्ने कोठामा सारेका थिए। पछि गणतन्त्र आएको एकदुई बर्षपछि घरको दुइतला थपेर त्यो र्याक छोराछोरी सुत्ने कोठाबाट दोस्रोतलामा सारेका थिए। त्यहीबेला र्याकसार्दा सीसा फुटेको उनले आजसम्म बनाएको छैन,सायद अब पुस्तक चाहिदैन भनेर हो कि ! नभ्याएर हो , सिसा फेरेको छैन।
नेताजी शब्दकोष बोकेर सुत्ने कोठामा आए । श्रीमती सिरक भित्र पसेर ओछ्यानमा कोल्टेपरी मोबाईल चलाई रहेकि थिइन ।उनले छेउको टेवल तानेर शब्दकोष राखेर पन्नाहरु पल्टाउदै केही शब्दहरु टिप्न थाले , यो क्रम निकैबेरसम्म चल्यो । श्रीमतीले "भोलि कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम छ अब आराम गर्नुस, नेताजी " - अनुरोध गरिन । नेताजी अबेरसम्म आफ्नै काममा तल्लीन भए।
नेताजीको अध्ययनको कारण श्रीमती लाई निदाउन गार्हो भएछ क्यारे ! नेताजी के अध्ययन गर्दैछन् ? किन बत्ती निभाएर नसुतेका ? ऊनी दिक्क मान्दै नेताजीले थाहा नपाउने गरी उठिन र नेताजीले एकोहोरो शब्दकोषको पन्ना पल्टाउदै शब्दहरू टिपोट गरेको देखिन् । ति शब्दहरू मनमनै पढ्न सुरु गरिन।डायरीमा " हत्यारा , लुटेरा, देशद्रोहि, भ्रष्टाचारी, गद्दार, शोषक, भाईमारा,नातावाद , फरियावाद , दक्षिणपन्थी, बलत्कारी, बिदेशी दलाल , अवसरवादी जस्ता अनेकौं शब्दहरू लेखिएको थियो।
नेताजीले अब आउने भाषणको तयारी गरेको हुनसक्ने अनुमान लगाईन क्यारे मुख खुम्च्याउदै ओछ्यानमा कोल्टेपरेर सिरक तान्न थालिन। सिरक कतै अड्किएको थियो।उनि गोडा तन्काउदै सिरक तान्दै थिइन् ,उनको गोडाले नेताजीलाई लागेछ क्यारे, नेताजी त शब्दकोष सहित गर्ल्याम्म भुईमा पो पछारिए ।
शब्दकोष उत्तर तिर पुगेछ, नेताजीले छनौट गरेका शब्दले भरेको डायरी दक्षिण तिर खसेछ,नेताजी त यि दुईको बिचमा लम्पसार परी ऎया ऐया मलाई बचाउ,मलाई बचाउ भन्दै लडिरहेका थिए। उता श्रीमती डरले काम्दै खाटबाट नेताजी लडेको एकोहोरो हेरिरहेकी थिइन् ।नेताजीलाई उठाउने उनको सामर्थ्य थिएन। "अस्तु"
रमेश कुमार सुबेदी
भद्र्पुर - ७ झापा ।