झापामा पनि दशौं राष्ट्रिय कर दिवस मनाइयो

image आँखा संवाददाता बुधबार, मङ्सिर १ २०७८
image

चन्द्रगढी, १ मंसिर। झापामा दशौं राष्ट्रिय कर दिवस मनाइएको छ । सँगसँगै कर सप्ताहको शुभारम्भ गरिएको छ ।आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजना र विर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा आज बुधबार विर्तामोडमा विशेष समारोह सम्पन्न गरियो ।

विर्तामोडको मुक्तिचोक परिसरमा आयोजित दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।

सो अवसरमा साविक मेची अञ्चलको चार जिल्लाका एक–एक सर्वाधिक करदातालाई सम्मान गरिएको थियो । 

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले नेपालको राजश्व आयातमा निर्भर रहेकोले आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई बढाउन र आन्तरिक करको दायरा बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

सञ्चारकर्मी स्वस्तिका आचार्यले सञ्चालन र विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेको समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य हेमराज ढकाल, १ नं प्रदेश सदस्य कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए भने क्षितिज नाट्य समूहसम्बद्ध क्षितिज संगीत साधना प्रतिष्ठानका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेको थिए । 

समारोहमा चारै जिल्लाका उद्योग–व्यवसायसम्बद्ध संघ–संस्थाका पदाधिकारीलगायत उद्योगी–व्यवासयीको उल्लेख्य सहभागिता थियो ।समारोहअघि उद्योगी–व्यववसायीहरुको संलग्नतामा विर्तामोडमा प्रभातफेरी निकालिएको समारोहको सहआयोजक विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनु भयो ।

ad