पत्रकार सन्तोष आचार्यको ‘रिडर्स गफ’ नामक पुस्तकको लोकार्पण

image आँखा संवाददाता मङ्गलबार, आश्वीन २६ २०७८
image

विर्तामोड, २६ असोज । पत्रकार सन्तोष आचार्यको ‘रिडर्स गफ’ नामक कृति  मंगलवार लोकार्पण भएको छ । वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले विर्तामोडको शिक्षा सहकारी सभाहलमा आयोजित एक कार्यक्रममा पुस्तकको लोकार्पण गर्दै कृति गहकिलो र स्तरीय भएको बताए ।
विचार मञ्च अनलाइनका सम्पादक तथा सूर्योदय टेलिभिजनका अन्तरवार्ताकार आचार्यको यो पहिलो प्रकाशित कृति हो ।विभिन्न राजनीतिक तथा सामाजिक विषयवस्तुलाई आधार बनाएर पत्रपत्रिकामा उनी रिडर्स गफ स्तम्भमा लेख लेख्दै आएका थिए । तिनै लेखको संगालोको रुपमा कृति प्रकाशित भएको हो ।
रिडर्स झापाका संस्थापक अध्यक्ष तथा लेखक उज्ज्वल प्रसाईले कृतिले समयको चोटिलो आवाज बोलेको जनाउँदै झापाली पत्रकारहरु सृजनशील बन्नु पर्ने आफ्नो मान्यता रहेको बताए ।प्रकाशकका तर्फबाट मिडिया रिसर्च सेन्टरका प्रमुख तथा पत्रकार तीर्थ सिग्देलले रिडर्स गफ लेखकको सशक्त कलमको उपज रहेको बताए ।
कृतिको भाषा सम्पादन गरेका विश्वविद्यालयका शिक्षक जनार्दन दाहालले रिडर्स गफ निबन्ध संग्रह भएको र यसमा यात्रा संस्मरण, शैक्षिक बेथिति, राजनीति र दर्शन, समाज सुधार, चेलीबेटी बेचविखन, देशप्रेम लगायत स्थानीय विषयवस्तु समेटिएको बताए ।
कहिलकाहिँ गफहरु पनि स्तम्भ लेखनका खुराक हुने जनाउँदै दाहालले निबन्धमा बहुलबादी दृष्टिकोण र सामाजिक विकृति विसंगतिको चिरफार भएको बताए ।
पत्रकार सरोज पौडेलले सञ्चालन गरेको लोकार्पण समारोहमा साहित्यकार कुमार भट्टराई, साहित्यकार लीला अनमोल र कृतिकार आचार्यले आफ्ना धारणा र पुस्तकको रचनागर्भका विषयमा बोलेका थिए । कार्यक्रममा पत्रकार, प्राध्यापक र साहित्यकारहरुको उपस्थिति रहेको थियो 


 

ad