नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापति पदमा ज्ञानबहादुर चौहानको उम्मेदवारी घोषणा

image आँखा संवाददाता आइतबार​, भाद्र २७ २०७८
image

भद्रपुर ।  नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापति पदमा ज्ञानबहादुर चौहानले उम्मेदवारी घोषणा गरेका छन् ।नेपाल विद्यार्थी सङ्घबाट २०४६ सालको जनआन्दोलनमा सशक्त भूमिका सहित भाग लिएर राजनीति यात्रा सुरु गरेका वर्तमान उपसभापति चौहानले सबै कार्यकर्ताको भावना अनुरूप उम्मेदवारी घोषणा गरेको दाबी समेत गरेका छन् । नेपाली काँग्रेसमा सक्रिय रूपमा काम गरिरहेका चौहान वर्तमान उपसभापति समेत हुन् । राजनीतिमा लागेर लाभको पद समेत नलिएका चौहान काँग्रेस भद्रपुरका सबै नेता कार्यकर्तासँग परिचित रहेका व्यक्ति पनि हुन् ।

नगर काँग्रेसलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने चौहान प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध कार्यकर्ताको पहिचान समेत निर्माण गरेका व्यक्तिमा पर्दछन् । काँग्रेसको १२ औं महाधिवेशनमा साबिक चन्द्रगढी गाउँ उपसभापतिको नेतृत्व सम्हालेका चौहानले १३ औं महाधिवेशनमा भद्रपुर नगर उपसभापति सम्हाल्न पाएको अनुभव समेत राखेका छन् ।

उनले नगर नेतृत्वका लागि निम्न अवधारणा समेत प्रस्तुत गरेका छन् । म नगर पार्टीका आम कार्यकर्ता र शुभेच्छुकको  विकास र उन्नतिको दियो (प्रकाश) मा केही तेल थप्न , पुरानो जीर्ण नगर पार्टी भवनलाई पुनर्निर्माण गरी पार्टीको सबै तहलाई सचिवालय मार्फत नियमित र व्यवस्थित रूपमा लिपिबद्ध गरी अनुशासित रुपमा सङ्गठन सञ्चालन गर्न गर्ने छु ।

सबै तहको आम निर्वाचनमा सर्व सम्मत उम्मेदवार छनौट गर्न विधि र पद्धति मार्फत चयन गरी सबै उम्मेदवारहरूलाई निर्वाचित गराउने वातावरण निर्माण गर्दछु ।  अग्रजहरूको उचित सम्मान गर्दै सहकर्मी र युवाहरूलाई सम्मानित र उचित पदहरूमा व्यवस्थित गराउँदै पार्टी र कार्यकर्ताको  हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु भनेर चौहानले अवधारणा समेत सार्वजनिक गरेका छन् ।

 

ad