एमालेले दल विभाजनसम्बन्धी अध्यादेश र सभामुखको भूमिकाबारे सदनमा प्रश्न उठाउने

image आँखा संवाददाता बुधबार, भाद्र २३ २०७८
image

काठमाडौं, २३ भदौ बुधबार आज अपराह्न सुरु हुने संघीय संसदको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

संघीय संसद् भवन, नयाँबानेश्वरमा सुरु संसदीय दलको बैठकले संसदमा  एमालेको आगामी भूमिका र रणनीतिका बारेमा नीति तय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘बदलिँदो परिस्थितिमा एमालेले संसदमा कसरी प्रस्तुत हुने ? भन्ने बारेमा छलफल हुनेछ,’ प्रमुख सचेतक भट्टराईले न्युज कारखानासँग भने, ‘आजको बैठकको निर्णायानुसार संसदमा एमाले प्रस्तुत हुनेछ ।’ तर, उनले कसरी एमाले प्रस्तुत हुनेछ भन्ने बारेमा कुनै बिषय खुलाएनन् ।

आठौँ अधिवेशन स्थगित गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले एमाले विभाजन गराएको तथा सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीका लागि सिफारिस गरेका माधवकुमार नेपाललगायतका सांसद नहटाएको प्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।

‘राजनीतिक दल सम्बन्धी अध्यादेश र सभामुखको भूमिकालगायतका बारेमा अध्यक्षज्यूबाट केही निर्देशन हुनसक्छ, बैठक जारी नै भएकाले ठोस निर्णय भइसकेको छैन,’ भट्टराईले न्युज कारखानासँग भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा दुई विषयमा शेरबहादुर देउवा नेतृत्वको सरकार र सभामुख सापकोटा दुबैप्रति रोस प्रकट गर्दै आएका छन् ।