भद्रपुर नगरपालिका प्रदेश सरकारबाट सम्मानित

image गंगा बराल मङ्गलबार, भाद्र २९ २०७८
image

भद्रपुर, भदौ २९, झापाको भद्रपुर नगरपालिका प्रदेश नं १ सरकारबाट सम्मानित भएको छ प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बनेर बालबालिकाको सर्वांगीण विकासका लागि महत्वपूर्ण र उपलब्धिमूलक कार्य गर्दै आएको भन्दै ५७ औं राष्टिय बाल दिवसको अवसर पारेर १ नं प्रदेश सरकारले भद्रपुर नगरपालिकालाई सम्मान गरेको हो ।
आज मंगलबार विराटनगरस्थित सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित समारोहका बीच सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले सम्मानपत्र हस्तान्तरण गरे । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नगर बाल सञ्जालकी अध्यक्ष आराध्या प्याकुरेल, नगरपालिकाका बालमैत्री फोकल पर्सन टिकाराम पाण्डे, बालमैत्री अभियानकर्मी फणिन्द्र दाहालले संयुक्तरुपमा सम्मानपत्र ग्रहण गरेका थिए ।
समारोहमा सामाजिक विकास मन्त्री साम्सोहाङले बालबालिकाको क्षेत्रमा भद्रपुर नगरपालिकाले गरेका क्रियाकलाप र लगानीको प्रशंसा गर्दै अन्य स्थानीय तहले पनि अनुशरण गर्नुपर्ने बताए ।
भद्रपुर नगरप्रमुख श्रेष्ठले अभियानका क्रममा गरिएका क्रियाकलाप र अनुभवहरु बरे चर्चा गर्दै थुप्रै चुनौतीका बीच अभियान सफल भएको बताए ।
यसैबीच, बाल दिवसको अवसर पारेर भद्रपुर नगर बाल सञ्जालले मंगलबार नै मेची अस्पतालका बिरामी बालबालिकालाई फलफूल वितरण गर्नुका साथै भद्रपुर ४ स्थित नागरिक अपांगग्राममा संरक्षणविहीन बालिका दिपशिखा पुरीलाई पुनस्र्थापना गरिएको फोकल पर्सन टिकाराम पाण्डेले बताए । 

ad