काँग्रेसको १४ सभापति पदका लागि ४१ जना आकांक्षी,सबैभन्दा धेरै भद्रपुर नगरपालिकामा

image आँखा संवाददाता बुधबार, भाद्र ३० २०७८
image

भद्रपुर, भदौ ३० । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गते हुन लागेको झापा जिल्लाको गाउँ र नगर अधिवेशनका लागि अत्यधिक आकांक्षी देखिएका छन् ।

झापा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यसबाहेक १४ वटा पालिकाको सभापति पदका लागि अहिलेसम्म ४१ जनाले आकांक्षा प्रस्तुत गरेका छन् । सबैभन्दा धेरै भद्रपुर नगरपालिकामा देखिएका छन् । भद्रपुरमा काँग्रेसको नगर नेतृत्वका लागि ८ जनाले दावेदारी प्रस्तुत गरेपछि निर्वाचन रोचक हुने देखिएको छ ।

नगर समितिको नेतृत्वका लागि जिल्ला सदस्य तोया गड्तौला, उपसभापति ज्ञानबहादुर चौहान, सचिव राम कँडेल, महिला नेतृ शर्मिला अधिकारी, भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, साविक पृथ्वीनगर गाउँ सभापति मनकुमार कोइराला र साविक महेशपुर गाउँ सभापति मदनबहादुर बस्नेत र युवा नेता भरत प्रसाईले दावी नछोड्ने भएपछि भद्रपुरमा निर्वाचन हुने निश्चित देखिएको हो ।

त्यसैगरी हल्दिवारीमा काँग्रेस नेतृत्वका लागि दुईजना दावेदार उत्रिएका छन् । उपसभापति तथा हल्दिवारी ४ का वडाध्यक्ष समेत रहेका होमप्रसाद चुँडाल र माओवादी छोडेर काँग्रेसमा आएका हल्दिवारी गाउँपालिकाको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी समेत रहेका तुलसीप्रसाद ओलीले आकांक्षीका रूपमा दावी गर्दै आएका छन् । दुवै जनाले नछोड्ने भएपछि निर्वाचन प्रकृयामै जाने संभावना देखिएको स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

त्यसैगरी कचनकवल गाउँ समितिको सभापति पदका लागि वर्तमान सभापति तुलाराम अधिकारी र पुराना नेता सिताराम खड्काले दावेदारी गरिरहेको भएपनि तुलरामका पक्षमा स्थानीय नेता कार्यकर्ता खुलेरै लागेपछि सर्वसम्मतको प्रयास भइरहेको बताइन्छ ।

त्यस्तै अर्जुनधारा नगरपालिकामा नेपाली कांग्रेसको सभापतिका लागि भिष्म मिश्रले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका छन् । उनी यसअघि साविक शनिश्चरे गाविस हुँदा कांग्रेस सभापति थिए । अर्जुनधारा नगरका वर्तमान पार्टी संयोजक हेमराज खरेलले पनि औपचारिकरुपमा घोषणा गरेका छैनन् । तर, सभापति पदका लागि उनी चुनावी मैदानमा भएको बुझिएको छ । उनी आफ्नो तर्फबाट मत माग्न कार्यकर्तामाझ पुगिरहेको कार्यकर्ता बताउँछन् ।

त्यस्तै धेरैको चासो रहेको बिर्तामोडमा नगर सभापति पदका लागि दुईवटा प्यानलबीच कडा टक्कर पर्ने देखिएको छ । बिर्तामोड वडा नं ३ का वडाध्यक्ष समेत रहेका वर्तमान नगर सभापति भोजराज सिटौला र वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । भोजराज, सिटौला प्यानलबाट र कुलप्रसाद देउवा प्यानलबाट उठेका हुन् । बिर्तामोडमा २८० जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

त्यस्तै मेचीनगरमा ६ जनाले नगर सभापतिमा उठ्ने इच्छा व्यक्त गरेका छन् । त्यसमध्ये तीनजना वडा अध्यक्षहरु रहेका छन् । वडा नं ४ का वडाध्यक्ष नवीन बराल , वडा नं ५ का वडाध्यक्ष योगेन थापा मगर , वडा नं १० का वडाध्यक्ष सुदय पनेरु , अहिलेका नगर उपसभापति सुरेन्द्र बुढाथोकी , सहसभापति पुष्प कार्की र विद्यार्थी नेता धनकाजी खत्रीले नगर सभापतिमा उम्मेद्वारी दिने इच्छा व्यक्त गर्दै भोट माग्न थालेका छन् । ६ जनाले नै दिनभरि भोट मागेपनि उनीहरुबीच एक आपसमा सहमति गराउने प्रयास भइरहेको क्षेत्रीय सभापति मणि उप्रेतीले बताए ।

त्यस्तै दमकमा नगर सभापतिका लागि तीनजनाले उम्मेद्वारी घोषणा गरेका छन् । प्रकाश प्रसाई , पर्शु रिजाल र रोशन विष्टले उम्मेद्वारी सार्वजनिक गरिसकेका छन् । प्रसाई सिटौला प्यानल , रिजाल देउवा प्यानल र वर्तमान नगर सभापति विष्ट कुनै पनि प्यानलमा खुलेका छैनन् ।
त्यस्तै कमल गाउँपालिकामा गाउँ सभापतिका लागि ५ जनाले आकांक्षा देखाएका छन् । वर्तमान सभापति खगेन्द्र भण्डारी , वडा नं १ का वडाध्यक्ष केदार कटुवाल , तरुण दलका जिल्ला उपसभापति राजकुमार न्यौपाने , नेता पूर्णानन्द शर्माका छोरा प्रमोद दाहाल र साविक तोपगाछीका सभापति बुद्धि न्यौपानेले उम्मेद्वारको रुपमा आफूहरुलाई प्रस्तुत गरेका छन् ।

त्यस्तै गौरादहमा वर्तमान नगर सभापति यादवराज सेडाई र गोपाल कोइराला नगर सभापतिका लागि उम्मेद्वार बन्ने देखिएका छन् ।

त्यसैगरी गौरीगञ्जमा वर्तमान गाउँ सभापति राजेन्द्र कार्की , गौरीगञ्ज २ का वडाध्यक्ष अघ्नु राजवंशी र क्षेत्रीय प्रतिनिधि कमलेश्वर राजवंशी उठ्ने चर्चा छ ।

त्यस्तै कनकाई नगरपालिकामा नगर सचिव दुर्गा प्रसाई र पूर्व शिक्षक प्रल्हाद घिमिरेले उम्मेद्वारी दिने भएका छन् ।

त्यस्तै शिवसताक्षीमा नगर सचिव अशोक बस्नेत र उपसभापति तुला बोखिम उठ्ने भएका छन् । दुवैले दावेदारी नछोडेपछि निर्वाचन हुने देखिएको छ ।

तर , बुद्धशान्ति गाउँपालिकामा गाउँ सभापति पदका लागि चक्र शेर्माको मात्र चर्चा सुनिएको छ । गाउँ सभापति पदमा सर्वसम्मत हुने भएपनि अन्य पदमा भने निर्वाचन हुने देखिएको छ ।

त्यस्तै बाह्रदशीमा गाउँ सभापतिका लागि टंक शाह र इन्द्र बस्नेत उठ्ने भएका छन् । त्यसमध्ये एकजनालाई सर्वसम्मत गराउने प्रयास भइरहेको बताइएको छ ।

यसअघि झापा गाउँपालिकामा गाउँ अधिवेशन हुनुपूर्व नै गाउँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।सागीरथ गणेशको नेतृत्वमा गाउँ कार्य समितिलाई सर्वसम्मत बनाउन प्रमुख भूमिका काँग्रेसका महासमिति सदस्य देउमान थेवेका साथै क्षेत्रीय सभापति जयनारायण शाह, क्षेत्रीय सचिव शिवकुमार कँडेललगायतका नेतृत्वहरुले भूमिका निर्वाह गरेका थिए ।


गणेशको नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल , सचिवमा संजय गणेश र प्रताप विश्वकर्मा तथा सहसचिवमा सफिउल्ला अन्सारी रहेका छन् ।Pratidin 

ad