रसुवामा ९२ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोपको पहिलो मात्रा

image आँखा संवाददाता आइतबार​, भाद्र २७ २०७८
image

रसुवा, २७ भदौ रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्दैछ । खोप लगाउन योग्य १८ वर्ष माथिका नागरिकहरूलाई खोप लगाउने अभियान अन्तिम चरणमा पुगेसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्न लागेको हो ।
 
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । कोरोनाविरुद्धको खोप लगाउन योग्य २९ हजार १ सय ६ जना रहेका छन् । जसमध्ये हालसम्म ९२ दशमलब ४४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा पाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 
कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप ३ हजार २ सय ८० जनाले पाएका छन् । १७ हजार ५ सय ९० जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । ३ हजार ६ सय ४ जनाले एष्टाजेनेकाको खोप पाएका छन् भने एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन दुई हजारले लगाएका छन् । 

गोसाईकुण्ड गाउँपालिकाका सबैले पाए दुबै डोज

जिल्लामा पाँच वटा गाउँपालिका रहेका छन् । जसमध्ये तीन वटा गाउँपालिकाका १८ वर्ष माथिका सबै नागरिकले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । गोसाईकुण्ड, आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाका खोप लगाउन योग्य सबै नागरिकले खोपको पहिलो मात्रा लगाइसकेका हुन् ।

त्यसैगरि गोसाइकुण्ड गाउँपालिकामा कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाउन बाँकी सबैलाई खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बताए । 

स्वास्थ्य कार्यालय रसुवाको तथ्यांक अनुसार गोसाइकुण्ड गाउँपालिकामा ८ हजार ६ सय १८ जनसंख्या रहेको छ ।  गाउँपालिकामा १८ वर्ष माथिका  खोप लगाउन योग्य व्यक्ति ५ हजार ६ सय ८१ जना रहेका छन् ।  जसमध्ये १ हजार २ सय ९५ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् । त्यसैगरि ५ हजार ६ सय ४३ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । २ सय ३७ ले एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोनसन खोप लगाएका छन् । 

तथ्यांक अनुसार गोसाइकुण्ड गाउँपालिकामा लक्ष्यभन्दा बढी १ हजार ४ सय ९४ जनालाई खोपको पहिलो मात्रा दिइएको छ । गाउँपालिकाले  लक्ष्यभन्दा ५ प्रतिशत बढीलाई दुबै डोज खोप लगाएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा ५ हजार ७ सय ३८ जनसंख्या छ । जसमध्ये १८ वर्ष माथिका कारोनाको खोप लगाउन योग्य व्यक्ति ३ हजार ५ सय २३ जना रहेका छन् ।  ३ सय ६२ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् । २ हजार ९ सय ४० जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार २ सय ६३ जनाले एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । आमाछोदिङ्मो गाउँपालिकामा लक्ष्य भन्दा ४२ जनालाई कोरोनाको पहिलो मात्राको खोप लगाइएको छ । 

उत्तरगया गाउँपालिकामा ८ हजार ५ सय ९८ जनसंख्या छ । जसमध्ये १८ वर्ष माथिका कोरोनाको खोप लगाउन योग्य व्यक्ति ५ हजार ५ सय ८८ जना रहेका छन् । उनीहरू मध्ये ४ सय ६१ जनाले कोभिसिल्डको पहिलो मात्राको लगाएका छन् । ३ हजार १ सय ६० जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् । ५ सय जनाले एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । १ हजार ४ सय १७ जनाले एष्टाजेनेकाको खोप लगाएका छन् । उत्तरगया गाउँपालिकामा लक्ष्य भन्दा १ सय ४४ जनालाई खोपको पहिलो मात्रा दिइसकिएको छ ।

कालिका गाउँपालिकामा ९ हजार ९ सय ११ जनसंख्या रहेको छ । जसमध्ये जसमध्ये १८ वर्षमाथिका कारोनाको खोप लगाउन योग्य व्यक्ति ६ हजार ४ सय ४२ जना रहेका छन्  । हालसम्म ५ हजार ३ सय ३८ जनालाई खोपको पहिलो मात्रा लगाइएको छ । १ हजार १ सय ४ जनालाई पहिलो खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

नौकुण्ड गाउँपालिकामा १२ हजार १ सय १६ जनासंख्या छ । जसमध्ये जसमध्ये १८ वर्षमाथिका कारोनाको खोप लगाउन योग्य व्यक्ति ७ हजार ८ सय ७२ जना रहेका छन् । यहाँ ५ हजार १ सय ५४ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । अझै २ हजार ७ सय १८ जनाले खोपको पहिलो मात्रा लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
 
७० प्रतिशतले लगाए दोस्रो खोप

जिल्लामा कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा ७० दशमलब ८८ प्रतिशत नागरिकले लगाएका छन् । कोभिशिल्ड खोपको दोस्रो मात्रा १ हजार ३० जनाले पाएका छन्  । भेरोसेलको दोस्रो मात्रा लगाउनेको संख्या १५ हजार ९ सय ८४ रहेको छ । त्यसैगरि एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन खोप २ हजारलाई लगाइएको जनाइएको छ । १६१७ जनाले भने एष्टाजेनेकाको खोप लगाएका छन् । 

भदौ महिना भित्र सबैलाई कोभिड १९ विरुद्धको पूर्ण खोप लगाउने स्वास्थ्य कार्यालय रसुवाको लक्ष्य एक महिना पर धकेलिएको छ । अब असोज महिना भित्रमा लक्ष्य पुरा हुने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए ।