भद्रपुरमा आजबाट रक्तदान सप्ताह शुरू

image आँखा संवाददाता शनिबार, भाद्र १९ २०७८
image

भद्रपुर / नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा भद्रपुरमा आजबाट रक्तदान सप्ताह शुरू भएको छ। विभिन्न संघ संस्था संगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले रक्तदान सप्ताह प्रारम्भ गरेको हो।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य र रेडक्रस भद्रपुरका सभापति गोपाल गिरीको अध्यक्षतामा भएको रक्तदान सप्ताहको उद्घाटन समारोहमा सहभागी संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो।

रक्तदान सप्ताहलाई प्रमुख अतिथि श्रेष्ठ र रेडक्रस झापाका कार्यालय प्रमुख केदार महतले शुभकामना दिदै रेडक्रसको स्थापना र यसले पुर्‍याएको सेवाको वारेमा चर्चा गर्नुभएको थियो।

रेडक्रस भद्रपुर उपशाखाका सह-कोषाध्यक्ष सीता भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन साताव्यापी कार्यक्रममा संयोजक तथा भद्रपुर रेडक्रसका सचिव दीप लिम्बूले गर्नुभएको थियो। 

रेडक्रसको स्थापना दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले रक्त संचार सेवा केन्द्र भद्रपुरलाई २५ थान पिपिई र मास्क प्रदान गरेको छ। प्रमुख अतिथि श्रेष्ठ र सभापति गिरीले ती सामग्री रक्त सञ्चार सेवाकी कर्मचारी पूजा लिम्वूलाई हस्तान्तरण गर्नुभएको हो। 

नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले आयोजना गरेको रक्तदान सप्ताहमा रोटरी क्लब अफ भद्रपुर, रोट्रयाक क्लव भद्रपुर, इनरह्वील क्लब भद्रपुर, भद्रपुर जेसीज, साना हातहरु नेपाल, भद्रपुर नगर युवा परिषद, संगम युवा परिवार, भद्रपुर मारवाडी सङ्घ लगायत संघ संस्थाको सहकार्य रहने कार्यक्रमका संयोजक तथा सचिव लिम्बूले जानकारी दिनुभयो।