कमरेड नभन्ने ! कम्फोर्टेबल पार्टी

image ल्वान्छरो आइतबार​, भाद्र १३ २०७८
image

‘वर्तमान परिप्रेक्षमा हामी हात बाँधेर बस्न सक्दैनौं । खुट्टा कमाउने कुरा छैन ।’ पार्टीका अध्यक्ष एवं अन्तर्राष्ट्रिय ईन्चार्ज कमरेडले गर्जदैँ भन्नुभयो । ‘गठबन्धनको माध्यमबाट अब हामी यस पार्टीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउँछौं । प्रतिगनकारी, अहंकारी शक्तिहरूलाई निमिट्यान्न पार्दै हामी अघि बढ्छौं । सच्चिएर आए भने, माफी मागेर आए भने, हाम्रा अगाडि घुँडा टेके भने, होलि वाइन पिए भने, हामीले जे गरे पनि चुपचाप बस्ने भए भने सोचौंला ।’

पानी पिएर भन्नु भयो, ‘अहिले हामी गठबन्धनमा छौं । हामी क्रान्तिकारी धार, गठबन्धनलाई छोड्न सक्दैनौं । जसजसले यसलाई साथ दिन्छन्, आगामी चुनावमा जिताउने जिम्मा, आकर्षक पदमा नियुक्ति दिलाउने जिम्मा मेरो भो ।’
अझै थप्नु भयो, ‘वर्तमान परिप्रेक्षमा यो गठबन्धन भनेको, क्रान्तिकारी, संघर्षको मैदानमा जित्ने र कथंकदाचित हारियो भने हराउनेहरूलाई देखाइदिने हो ।’

थप जोशिदैँ भन्नु भयो, ‘हराए भने, अपमाऽन गरे भने, तिनीहरूलाई हामीले सवक सिकाउने छौं । इतिहासबाट सिक्न नसक्नेहरू प्रगति गर्न सक्दैऽनन् । मलाई दुई–दुई ठाउँबाट हराएको होइन ? प्रचण्डजीलाई हराएको होइन ? आज हेर्नुहोस् त ! ती हराउनेको हविगत के भयो । ती जितेकाहरू कहाँ छन् ? अहंकार गर्नेहरू गर्ल्याम्म्म ढले । हामी यहाँ छौं । हामी देखाउँछौं । हामीले देखाएको हेर्न जनता छन् । हामी कम्फोर्टेबल छौं । कम्फोर्टेबल भएपछि अरुसँग गर्न सजिलो हुन्छ । अरुका मान्छे पनि आफ्नै हुन्छन् । हामी अरुकै भोटमा जित्न सक्छौं । अरुका भोटमा कसरी जित्ने भन्ने हामीले प्रचण्डजीसँग सिकेका छौं । वर्तमान परिप्रेक्षमा देउवाजीले सहयोग गर्ने वचन दिनु भएकोछ । अनि हामी अघि बढ्छौं । हामीलाई कम्फोर्टेबल हुनु छ, प्रतिगमनको मतियार बन्नु छैन । कम्फोर्टेबल भएपछि स्वदेशीसँग मात्र हैन, विदेशीसँग पनि सजिलो हुन्छ । वर्तमान परिप्रेक्षमा हामी अघि बढिसक्यौं । हामी विदेशमा पनि अघि बढ्छौं ।’

अघि बढेर कता जाने, कहाँ पुग्ने भन्ने चाहिँ बैठकमा भएका कसैलाई थाहा छैन । तैपनि नयाँ पार्टीका सबै कमरेडहरू उत्साही छन् । विदेश भन्ने शब्दले कमरेड खतिवाला बढी नै रोमाञ्चित हुनुभयो । कोखामा बसेका कमरेड फार्मेसी पाण्डेतिर झुक्दै भन्नु भयो, ‘अमेरिका जानुपर्ला । नानी उतै छ, उतै कम्फोर्टेबल हुन्छ ।’

‘पहिले पेरिस(डाँडा) जाने अनि त्यहाँ रक्तरमण–कुञ्जको छतमा भुटेको भुटनसँग होलीवाइन खाने, अनि थप गन्तव्य निश्चत् गर्ने कुरा छ ।’ पछाडिबाट कमरेड उज्वालाले आफूले भावी योजनाको अलिकति भेउ पाएझैं गरी भन्नु भयो, ‘तैपनि मेरो गन्तव्य निश्चत छ । त्यो खान्छु, यो (कम्युनिष्ट, समाजवादी भनी चिनिने) वस्त्र उतारेर साकालारालाम्वा लगाउँछु । त्यहाँबाट उतै जान्छु, अलि लामो बाटो भए पनि ।’ जसरी पनि मुनुचिन्ते गन्तव्यमा पुगिनेमा कमरेड खतिवाला आशावादी हुनु भयो ।

अघि बढेर कता जाने, कहाँ पुग्ने भन्ने चाहिँ बैठकमा भएका कसैलाई थाहा छैन । तैपनि नयाँ पार्टीका सबै कमरेडहरू उत्साही छन् । विदेश भन्ने शब्दले कमरेड खतिवाला बढी नै रोमाञ्चित हुनुभयो ।

‘अब बैठक शुरु गरौं । हामीले सायड टाक पनि गरिसक्यौं । खुट्टा कमाउने कुरा छैन ।’ कमरेड अध्यक्षले बैठक शुरू गर्नुभयो । ‘कसैको अपमाऽन गर्नु हुँदैन ।’ अध्यक्षले भन्नुभयो, र कमरेड नागदेव र कमरेड सुनदेवलाई वरिष्ठ नेताको आसनमा बस्न अह्राउनु भयो ।

सुनदेवलाई आफ्नो समकक्षी बनाएकोमा नागदेव कमरेडलाई कत्ति चित्त बुझेको छैन । तैपनि आफ्नो दायाँ हातको फँडा उठाउँदै बैठकलाई अभिवादन गर्नुभयो । कमरेड सुनदेव चाहिँ भत्केको पार्टीमा उखान–टुक्का सुन्न जानु भएकोले आइपुग्नु भएको छैन ।

आसन ग्रहणलाई निरन्तरता दिँदै भन्नु भयो, ‘कमरेड सम्धी, कमरेड साडु, कमरेड बर्बरिक, कमरेड फार्मेसी, कमरेड फुट, कमरेड मेटलगायतका सबै कमरेडहरू वर्तमान परिप्रेक्षमा आ–आफ्नो सिटमा बस्नुहोस् ।’

आसन ग्रहण सकिएपछि अध्यक्ष कमरेडको आदेशमा कृष्णपट्टिधारिणी कमरेड उग्रचण्डीले स्वागत मन्तव्य शुरु गर्नु भयो । अनुहार छोपेको कालोपट्टी हटाउँदै भन्नु भयो, ‘अफकोर्स अब हामी यस अग्रगामी क्रान्तिकारी समाजवादी पार्टीलाई हाँक्ने हो । अहिले हामी अग्रगमनको यात्रामा छौं । म कमरेड अध्यक्षलाई हात समातेरै प्रचण्डपथमा डोर्याउँछु । अफकोर्स म उहाँलाई भगवानपाउसम्मै पुर्याउँछु ।’

सबै कमरेडहरूले भगवानपाउका बारेमा आ–आफ्नै अर्थ निकाले । कसैले अमेरिका, युरोप सम्झे । कसैले सिक्किम सम्झे । कसैले दक्षिण कोरिया सम्झे । कसैले पेरिसडाँडा सम्झे । कसैले अध्यक्ष कमरेडले पुरानो कम्पनीमा हुँदा नगएका कुनै देश बाँकी छन् कि, त्यहाँ पो लैजाने हो कि भनेर सम्झे ।

‘यहाँहरूलाई यो यात्रामा स्वागत छ ।’ कमरेड उग्रचण्डीले सम्बोधन पुनर्चालु गर्नु भयो । ‘हामी छिट्टै गन्तव्यमा पुग्छौं । गन्तव्यमा पुगेर मात्रै हामी बिसाउने छौ ।’

तो पहिला पडाव पेरिसडाँडामा मै हुन्छ ।’ कमरेड मेट कौन बनेगा करोडपति स्टाइलमा गुनगुनाउनु भयो ।

हात उठाएर मुट्ठी कस्दै शरीरमा कम्पन पैदा गरेर कमरेड उग्रचण्डीले भन्नु भयो, ‘हामी सबक सिकाउँछौं । हामी दुनियाँलाई देखाइदिन्छौं । म सबैलाई फेरि स्वागत गर्छु ।’ कमरेडले मन्तव्य समाप्त गर्नुभयो । तासघरमा ताली बजिरह्यो ।

दुनियाँलाई देखाइदिने कुराले बैठकमा भित्रभित्र तरङ्ग पैदा भयो । कुनै कमरेडहरूले एम सर सम्झे, कसैले कमरेड रक्तरमणपुत्र त्रिपत्नीवान सम्झे, कसैले ६० को दशकमा सांसद हुँदा सरकारलाई विश्वासको मत दिन होटलमा बस्दा हेरेका कथानक भिडियो सम्झे, कसैले हालसालैको बस्नेतसँग उठ्नेत गरेको तस्बिर सम्झे ।

यस्तो क्षणमा कमरेड तिघ्रादृष्टि पन्त त्यो बैठकमा नहुनु भएकोमा सबैले पछुतो माने ।

आसन ग्रहण सकिएपछि अध्यक्ष कमरेडको आदेशमा कृष्णपट्टिधारिणी कमरेड उग्रचण्डीले स्वागत मन्तव्य शुरु गर्नु भयो । अनुहार छोपेको कालोपट्टी हटाउँदै भन्नु भयो, ‘अफकोर्स अब हामी यस अग्रगामी क्रान्तिकारी समाजवादी पार्टीलाई हाँक्ने हो । अहिले हामी अग्रगमनको यात्रामा छौं । म कमरेड अध्यक्षलाई हात समातेरै प्रचण्डपथमा डोर्याउँछु । अफकोर्स म उहाँलाई भगवानपाउसम्मै पुर्याउँछु ।’

कमरेड तिघ्रादृष्टिलगायतका केही किंकर्तव्यविमुढ कमरेडहरू चाहिँ नयाँ कम्पनीको शेयरमा नाफा बढी होला कि पुरानै कम्पनी राम्रो चल्ला भन्ने द्विविधामा सोचमग्न र विचारविमर्शमा हुनुहुन्छ ।

अध्यक्ष कमरेडले बैठक अगाडि बढाउँदै वर्तमान परिप्रेक्षमा पार्टी र कमरेडहरूको भूमिकाका विषयमा बोल्न कमरेड बर्बरिकलाई समय दिनु भयो । कमरेड बर्बरिक नयाँ पार्टीको महासचिव हुने हल्ला छ । कलियुगी द्रोणमा पैदा भएका दैवी र आसुरी शक्तिबीच भएको घर्षणबाट कमरेड बर्बरिक उत्पन्न हुनु भएको हो ।

देवासुर संग्रामको प्रचण्ड अग्निबाट उत्पन्न भएकाले कतिपय नगर–जन उहाँलाई आधुनिक धृष्टद्युम्न भन्दछन् भने कसैले द्रोणपुत्र भएकाले विधि पद्धति अनुसार अवश्वस्थामा भन्नुपर्छ पनि भन्दछन् । देवासुरसंग्रामको फल भएकाले बर्बरिक नै उपयुक्त हो भन्ने श्रीमानको अन्तरिम आदेश छ ।

हस्तिनापुरमा मन्त्री हुँदा पिता द्रोणले पाएको व्याजधेनु नामको गाईको दुध पिएर हुर्केका हुनाले कमरेड बर्बरिकमा दूरदर्शन क्षमता रहेको छ । अनेकानेक अलौकिक गुण छन् । वर्तमान परिप्रेक्षमा समयले कमरेड बर्बरिकलाई स्वजनबीच मारकाट गराइ ती सबै नष्ट भएपछि तिनको अस्तु लगेर देउपाटन र सत्र हजारे घाटमा विसर्जन गर्ने महत्वपूर्ण परमादेश दिएको छ ।

कमरेड बर्बरिकले भाषण गर्न ख्हँ गर्दै हुनुहुन्थ्यो । यत्तिकैमा शीरमा रातो वस्त्र बाँधेको एक नर हतारहतार मञ्चमा प्रवेश गर्यो । कमरेड उग्रचण्डीले उसलाई इँटा ताकेर अघि बढ्न रोक्नु भयो । आफै उसको नजिक जानु भयो । उसले खुसुक्क के भन्यो कुन्नि उग्रचण्डी कमरेडले हात समातेर तान्दै उसलाई अध्यक्षको नजिक लैजानु भयो ।

अब बैठकमा सन्नाटा छ । कमरेड बर्बरिक बोल्न तम्तयार हुनुहुन्छ ।

त्यो नर अखिल फोर्स र वाइसियल मिलेर बनेको फोर्सियलको सदस्य रहेछ । उसले रक्तरमण–कुञ्जबाट सदाध्यक्ष कमरेडको मने सन्देश लिएर आएको रहेछ । त्यसले के भन्यो भन्ने अध्यक्ष र कमरेड उग्रचण्डी बाहेक अरुले सुन्न सकेनन्। उसका कुरा सुनेपछि अध्यक्ष कमरेडले बर्बरिकलाई भाषण नगरी बस्न आदेश दिनु भयो ।

‘अब बैठक स्थगित गर्नुपर्ने भयो । प्रतिगमनकारीलाई छिट्टै समाप्त गर्न गठबन्धनमा छलफल गर्नुपर्ने भयो । वर्तमान परिप्रेक्षमा समन्वय गरेर, सहकार्य गरेर, समझदारी गरेर, सबैलाई मिलाएर, कसैलाई अपमाऽन नहुने गरी अघि बढ्नुपर्ने भयो ।’ अध्यक्षले भन्नु भयो । ‘तर वर्तमान परिप्रेक्षमा यो पहिलो बैठक छ । एउटा निर्णय त गर्नै पर्छ । खुट्टा कमाउनु पर्ने कुनै कारण छैन ।’

अध्यक्षले यो बैठकले निर्णय गर्ने प्रस्ताव अघि सार्नु भयो । ‘हामी परिवर्तनकारी, अग्रगमनकारी शक्तिहरू प्रतिगमनकारी जस्तो छैऽनौं । अब हामी नेक्पा समाजवादी भयौं । पुरानो हुँदा कमरेड हुन्थ्यो अब समाजवादी भएपछि पनि प्रतिगमनकारीले भन्ने जस्तो कमरेड भन्न हुन्छ ? हुँदैन ।’

नयाँ नामशीर्ष प्रस्ताव गर्दै भन्नु भयो, ‘अब हाम्रो पार्टीमा समरेड हुन्छ कि हामी दम भएका हुनाले दमरेड हुन्छ कि हामी पदका लागि दाम्लो पनि चुँडाल्न पछि नपर्ने हुनाले दामरेड हुन्छ ।’ अध्यक्ष कमरेडले प्रस्ताव थप स्पष्ट पार्नु भयो । ‘हामीसँग भन्ने विकल्प छन् । हामी कसैसँग झुक्दैऽनौं । हामीले प्रतिगमन परास्त गरेका छौं । हामीले अब कमरेड परास्त गर्छौं । कसैलाई कमरेड भन्दैनौं । कसैले भनेको पनि सहनेवाला छैनौं । हामी अग्रगमनकारी हौं । पहिलो निर्णय यहीं गरौं । बाँकी गठबन्धनमा सल्लाह गरे पछि गरौंला ।’

अध्यक्षलाई सहयोग गर्न बर्बरिकले समरेड शब्दको महत्ताका विषयमा प्रष्ट पार्दै भन्नु भयो । ‘बुवाले भन्नु भएको, समको अर्थ बराबर हुन्छ । अर्थात् हामी बराबर रेड । हामी कोही कम रेड छैनौं ।’

दमरेड र दामरेडमा त्यति उत्साह देखिएन । बरु कसैले कामरेड भन्ने प्रस्ताव राख्यो । तर यहीं विवादमा गुट बन्ला र फुट होला भनेर यी संसोधन प्रस्तावमाथि थप छलफल गरिएन ।

‘प्रतिगमनकारीहरूले आफूलाई बढी रेड देखाउन हामीलाई कमरेड भनेर बोलाउन्या हुन्, हामी त कहाँ तेइठो हो त !’ कमरेड बमले भन्नुभयो ।
सम्धी र साडु कमरेडले एउटा संयुक्त पूरक प्रस्ताव राख्दै भन्नु भयो, ‘प्रतिगमनकारीले अध्यक्ष भन्छन् । त्यसैका कारण यत्रो दुःख पाइयो । अब हाम्रो पार्टीमा सध्यक्ष पद हुने, अध्यक्ष नहुने व्यवस्था गरौं ।’

पूरक प्रस्तावमा विचार राख्दै कमरेड बर्बरिकले भन्नु भयो, ‘बुवाले भन्नु भएको, सद्धे अध्यक्षलाई वास्तवमा सध्यक्ष नै भन्नु एप्रोपिरियट हुन्छ ।’
‘अफकोर्स यही ठीक हुन्छ ।’ कमरेड उग्रचण्डीले चोर औंला ठड्याएर जोडदार समर्थन गर्नुभयो ।

‘विधि पद्धति बमोजिम नै हुन्छ ।’ कमरेड उर्वशी, मन्दोधरी, तारा, उषा, रमा, गङ्गा, भाग्य, जगन्नाथ, काशी, गोरख, नारद आदि कमरेडहरूले पालैपालो समर्थन गर्नु भयो ।

आइन्दा कमरेडलाई समरेड र अध्यक्षलाई सध्यक्ष भन्ने प्रस्ताव सर्वसम्मत पारित भयो ।

बैठकको माइन्युट गठबन्धनसँग समन्वय गरी लेख्न समरेड बेदुरामलाई अह्राउँदै बैठक भोलि सम्मका लागि स्थगित गरेर सध्यक्ष समरेड पेरिडाँडातिर सुइकुँच्चा ठोक्नु भयो ।

ईति माधवारत कथा प्रथम बैठकध्याय अस्तु !

ad