अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्णरुपमा फिर्ता : २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्यको घोषणा

image एजेन्सी मङ्गलबार, भाद्र १५ २०७८
image

काठमाडौँ। अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको जनाएको छ ।

तोकिएको समय सीमा अनुसार नै अगस्ट ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले काबुल छोडेको अमेरिकी सेनाले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु गए रातिको अन्तिम उद्धार उडानमा सहभागी भएका थिए ।

अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडे लगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गन मार्फत गोली चलाएर खुसीयाली मनाएको बिबिसीले जनाएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गरे ।

अमेरिकी फौज फिर्ता हुन थालेदेखि नै तालिबान समूहले अफगानिस्तान कब्जा अभियानलाई तीव्र पारेको थियो । तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरे लगत्तै त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका थिए । त्यसपछि सुरु भएको उद्धार उडानको क्रममा अमेरिकाले १ लाख २३ हजार अफगान नागरिकलाई उद्धार गरेको छ ।

अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएसँगै अब काबुल विमानस्थललाई तालिबानले आफ्नो हातमा लिने छ । तालिबानले अब विमानस्थलमा व्यापारिक उडानको सुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ ।