सांसद विकास कोष मार्फत जनयुद्धका शहिद परिवारलाई घर

image आँखा संवाददाता शनिबार, श्रावण ३० २०७८
image

श्रावण ३० झापा ।  शहिद गणेश लम्सालको परिवारलाई नेकपा माओवादी (केन्द्र) ले घर बनाएर हस्तान्तरण गरेको छ । तात्कालिन अर्जुनधारा गाविस वडा नम्बर ५ रातेखालका सहिद लम्सालका जनयुद्धका क्रममा दोहोर भिडन्तमा परी २०६१ साल फागुन २ गते मोरङ्गको जातेमा मृत्यु भएको थियो । 


परिवारलाई नेकपा (माओवादी केन्द्र) झापा क्षेत्र नम्बर १ का संघीय सांसद राम कार्कीको पहलमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो । 
घर निर्माणमा करिब ६ लाख रकम खर्च भएको छ । जसमा सांसद कार्कीको विकास कोषअन्तर्गत रहेको ‘आवाज विहीनका लागि आवास’ कार्यक्रममार्फत ३ लाख ४५ हजार रकम उपलब्ध भएको थियो । 
बाँकी रकम पार्टीका कार्यकर्ताबाट श्रमदान तथा सहयोगबाट जुटाइएको हो । 
सांसद कार्की संयोजक रहेको यस कार्यक्रम मार्फत मेचीनगर भित्र मात्र ३ लाख ४५ हजारको दरले २० वटा घर बनेका छन्। 
स्वर्गीय लम्सालकी श्रीमती मैया लम्साललाई उनी बस्दै आएकोे मेचीनगर ११ धाइजन स्थित बाँनिया गाउँमा तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेकपा माओवादी (केन्द्र) का जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारी ‘संजोग’ तथा पार्टीका नगर संयोजक पुष्प गुरागाईंलगायतको उपस्थितिमा निर्माण सम्पन्न भएको घर शहिद परिवारसमक्ष हस्तान्तरण गरिएको हो ।