भारतमा कोभिडका कारण चार लाख भन्दा बढीको मृत्यु

image आँखा संवाददाता शुक्रबार​, आषाढ १८ २०७८
image

दिल्ली । खोप कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउन प्रयास गरिरहेको भारतमा कोभिड सम्बन्धी कारणहरूबाट मृत्यु हुनेहरूको सङ्ख्या ४००,००० नाघेको बताइएको छ।

कतिपय मृत्युको विवरण आधिकारिक सरकारी तथ्याङ्कमा समावेश नभएको हुँदा ज्यान गुमाएकाहरूको खास सङ्ख्या निकै बढी हुन सक्ने विज्ञहरूले बताएका छन्।

कोभिडका कारण धेरैको मृत्यु हुने देशहरूमा भारत अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ।

भारतमा हालसम्म तीन करोड भन्दा बढी मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन् जुन अमेरिकापछिको सर्वाधिक सङ्ख्या हो।

भारतमा गत मे महिनामा सङ्क्रमणको लहर उच्च विन्दुमा रहेका बेला प्रत्येक दिन औसतमा ४००,००० जना सङ्क्रमित हुन्थे। त्यो सङ्ख्या अहिले घटेर ४०,००० भन्दा केही बढी छ।

विभिन्न राज्यहरूमा कडा लकडाउन गरिएका कारण उक्त सङ्ख्या घटेको बताइएको छ।

तर विज्ञहरूले भारतमा तेस्रो लहरको चेतावनी दिएका छन्।

भारतमा जनसङ्ख्याको पाँच प्रतिशत भन्दा कम मात्र सर्वसाधारणले कोभिड विरुद्धको खोपको दुवै मात्रा लगाएका छन्। त्यहाँ गत ज्यानुअरी महिनामा खोप कार्यक्रम सुरु गरिएको थियो।

सङ्घीय सरकारले सबै भारतीयलाई यो वर्षको अन्त्यसम्ममा खोप दिइसक्ने लक्ष राखेको छ तर सुस्त गति, खोप अभाव अनि खोप लगाउने विषयमा हिचकिचाहट जस्ता व्यवधानका कारण उक्त अभियान प्रभावित भएको बताइएको छ।