बृहत सिँचाइ परियोजना हँडिया नहरको मर्मत र सरसफाइ

image आँखा संवाददाता सोमबार, आषाढ २१ २०७८
image

झापा , असार २१ । झापाको मेचीनगर–१४, दुहागढीमा बाह्रैमास ३०० हेक्टर जमिन सिँचित हुने गरी निर्माण गरिएको हँडिया रेगुलेटर कुलो मर्मत तथा सरसफाइ गरिएको छ ।

एसियाली विकास बैंकको सहयोगमा ५ करोड लगानीमा दुई वर्षअघि निर्माण गरिएको ७ किलोमिटर लामो नहरको मुहानको हेडबक्स, नहर, शाखा नहर र फुट ब्रिज मर्मत गरिएको हो । मुहानदेखि २४ मिटर लामो पक्की नहर छ । एक दशकअघि हँडिया रेगुलेटर सिँचाइ जल उपभोक्ता संस्था गठन गरी सोही संस्थामार्फत नहरका लागि पहल गरिएको थियो ।
प्रदेश नं १ सरकारबाट यसै आर्थिक वर्षका लागि प्राप्त ४० लाख रुपैयाँ लागतमा नहरका विभिन्न पक्षको मर्मत गरिएको संस्थाका अध्यक्ष एवम् मेचीनगर नगरपालिका वडा नं १४ का वडाध्यक्ष शंकर पोखरेलले जानकारी दिए ।

७ सयजति सर्वसाधारण किसान परिवारलाई प्रत्यक्ष लाभ पुर्याइरहेको नहरको सरसफाइ पनि गरिएको छ । सबै उपभोक्ता मिलेर स्वतःस्फूर्त रुपमा सरसफाइ गरिएको हो । ‘हँडिया रेगुलेटर सिँचाइ आयोजनाको मुहान सरसफाइ शिविर’ नै आयोजना गरेर नहर र नहर वरिपरि सरसफाइ गरिएको संस्थाका सचिव अनिल ढुंगानाले बताए । वर्षातको समय भएकोले नहरमा लेदो जम्ने, नहर वरिपरि अनावश्यक झाडी हुने भएकोले सबै उभोक्तालाई सहभागी गराइ सरसफाइ गरिएको ढुंगानाले बताए । नहरको सरसफाइ वर्षेनि गरिएको छ ।

यसअघि सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने दुहागढीका किसानका लागि हँडिया रेगुलेटर सिँचाइ आयोजना वरदान सावित भएको छ । हिउँदमा पानी नहुँदा जमिन बाँझै छोड्नुपर्ने, वर्षातको समयमा पनि कहिलेकाहीँ खडेरी लागेर बालीनालीमा नोक्सानी व्यहोर्नुपर्ने नियतिबाट त्यस क्षेत्रका किसानले मुक्ति पाएका मात्र छैनन् , सिँचाइ सुविधाका कारण अधिकांश किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएको संस्थाका अध्यक्ष पोखरेलको भनाइ छ ।

संस्थाअन्तर्गत ६ वटा कृषि तथा सिँचाइ समूह रहेका छन् । तिनै समूहले पालो मिलाएर सिँचाइको व्यवस्था मिलाएका छन् । एउटा समूहमा ३० भन्दा बढी उपभोक्ता सामेल छन् । आयोजनामा आबद्ध किसानलाई मेचीनगरको कृषि शाखामार्फत व्यावसायिक खेतीसम्बन्धी तालिम पनि प्रदान गरिएको सचिव ढुंगानाले जानकारी दिए ।