खड्का छोडिए ,कार्वाही गर्न चौतर्फी माग

image आँखा संवाददाता शनिबार, श्रावण १६ २०७८
image

बिर्तामोड ,साउन १६ । झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको सय भायल कोरोनाबिरुद्धको भेरोसिल खोपसहित पक्राउ परेका फोकल पर्सन ओम खड्कामाथि कार्वाही गर्न चौतर्फी माग भएको छ ।

मानव अधिकार संजाल झापाले एक प्रेस विज्ञप्ति जारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीबाटै खोप अनियमित रुपले होटलमा लुकाइ राखेको अबस्थामा खोप बरामद हुनुले लज्जास्पद र निन्दनीय भएको जनाएको छ ।

महासचिव डा. रुपकप्रसाद खनालले जारी गरेको विज्ञप्तिमा जनताको स्वास्थ्य सम्बन्धी अधिकारमाथि खेलवाड गर्ने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीलाई कडाभन्दा कडा कार्वाही गरी आगामी दिनमा खोपलाई दुरुपयोग हुन नदिई सहज बनाउन बिर्तामोड नगरपालिका , जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग माग गरिएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले कार्वाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न बिर्तामोड नगरपालिकासमक्ष माग गरिएको छ ।

साथै यस्ता घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र विभिन्न बहानाबाजीमा ओठे जवाफले आफ्ना आसेपासेको संरक्षण गर्ने प्रवृत्तिको बिपक्षमा जनदबाब सृजना गर्न अपिल गरिएको छ ।त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले पनि कार्वाहीको माग गरेको छ ।

नगर अध्यक्ष रन्जु प्याकुरेलले एक विज्ञप्ति जारी गरी जनस्वास्थ्यसँग जोडिएको संबेदनशील बिषयमा जिम्मेवार निकायका व्यक्ति नै संलग्न रहनुले जनआक्रोश चुलिएको अवस्थामा सत्य तथ्य छानबिन गरी जनतालाई सुसूचित गर्न र त्यस्ता कर्मचारीलाई अबिलम्ब कार्वाही गर्न स्थानीय सरकारसमक्ष माग गरेकी छन् ।

त्यस्तै सामाजिक संजालमा विभिन्न व्यक्तिहरुले आक्रोश पोख्दै कार्वाहीको माग गरेका छन् । ‘बिर्तामोड नगरपालिका विभिन्न भ्रष्टाचारीहरुको अखडा नै भएको हो त ? भ्याक्सिन पनि भ्रष्टाचार गर्न छाडेनन् भने अरु के भएको होला ?’ लोकबन्धु कन्दङ्वाले लेखेका छन् । त्यस्तै विनोद बस्नेतले लेखेका छन् – होटलमा खोप ! कडा कार्वाही होस् , बिर्तामोड स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्काले १०० भायल खोप लुकाइछिपाइ अनियमितता गरी राखेको अवस्थामा फेला पर्नुले खोपको कालोबजारी कसरी भइरहेको छ भन्ने प्रष्ट हुन्छ ।

फ्रन्टलाइनमा काम गर्ने पेट्रोलियम मजदुरलाई खोप नदिने, तीनपुस्ते विवरण माग्ने, हजारौं वृद्ध बुवा आमालाई तातो घाममा दिनभर उभ्याएर खोप सकियो भन्दै फर्काउने तर अनियमित ढंगबाट पहुँचमा बसेकालाई खोप विक्री गर्ने माफिया खड्काजी र उनीसँग यस धन्दामा मिलेमतो गर्ने सबैलाई बर्खास्त गरी कडा कार्वाही गरियोस् ।

कोभिड शुरु भएदेखि फोकल पर्सनको नाममा खड्काजीको व्यापारिक धन्दा मौलाएको र केही कर्मचारीसंग साँठगाँठ गरी राम्रो कमाइ गरेको पनि बजारमा प्रशस्त सुनिन्छ । यसको पनि छानबिन होस् ।

त्यस्तै सुवास भट्टराईले तातोघाममा नागरिक उभ्याएर, होटल–होटलमा खोप लगेर चरम कालोबजारी गर्ने जो कोही होस् हदैसम्मको कार्वाही गर्न स्थानीय प्रशासनसमक्ष माग गरेका छन् ।
त्यसैगरी सजेश शिवाकोटीले लेखेका छन् –बिर्तामोड नगरपालिकाले साउन १२–१५ गतेसम्म लगाएको खोपको जानकारी सार्वजनिक गर । खोपको अनियमितताको पराकाष्ठा हुँदैछ । खबरदार ।उता कुमार थापाले जनतालाई सास्ती दिएर खोप चाहिँ होटलमा लुकाउने, बिर्तामोडका कर्मचारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

त्यस्तै अनुप सापकोटाले यस्ता माफियालाई कोभिड इञ्चार्ज बनाएकोले बृद्ध बुबाआमालाई सास्ती दिएर यो घटना निम्त्याएको प्रतिक्रिया दिएका छन् भने दिपेश प्रसाईले कार्वाहीको दायरामा ल्याउनुप-यो, यस्ता निच व्यक्तिलाई सबैको सामु चिन्नेगरी देखाइयोस् भनेका छन् । विष्णु आचार्यले खबरदारीसँगै यस्तो हर्कत गर्नेलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्ने धारणा राखेका छन् ।

त्यस्तै गजेन्द्रबहादुर पौडेलले लेखेका छन् – बिर्तामोडका फोकल पर्सनबारे धेरै कुराहरू सुनिएको थियो आज प्रमाण नै भेटियो । यति निच र गैरजिम्मेवार व्यक्तिले राजीनामा दिनुपर्छ । बिर्तामोडबासीमाथि यत्रो खेल ? यो प्रतिनिधि घटना मात्र हो ।

योभन्दा अगाडि यस्ता कति घटना थाहै पाइएन होला ? बिर्तामोड नपाले खोपको विवरण सार्वजनिक गर्नुपर्छ ।पक्राउ परेका खड्का राति नै छुटेका छन् । बिर्तामोड प्रहरीले बरामद खोपसहित पक्राउ परेका खड्कालाई स्वास्थ्य कार्यालयको जिम्मा दिएको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । स्वास्थ्य कार्यालयले राति नै छोडिदिएको बिर्तामोड स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए