युरोकप फुटबलमा इटली विजयी 

image आँखा संवाददाता आइतबार​, आषाढ २७ २०७८
image

इटालीले १६ औँ संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा इङ्ल्यान्डलाई हराउँदै इटाली युरोकप च्याम्पियन बनेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।इटालीले पेनाल्टी सुटआउटमा इङ्ल्यान्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् ।इङ्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस रासफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।इटालीले दोस्रोपटक युरोकपको उपाधि जितेको छ । यसअघि इटालीले सन् १९६८ मा युरोकपको उपाधि जितेको थियो ।

खेलमा इङ्ल्यान्डले इटालीमाथि सुरुवाती अग्रता बनाएको थियो । इङ्ल्यान्डका लागि खेलको दोस्रो मिनेटमा लुक शले इङ्ल्यान्डलाई अग्रता दिलाए । खेलको ६७ औँ मिनेटमा इटालीका लागि लेनार्दो बोनुयुकीले गोल गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए ।