जबरजस्ती करणी मुद्दाका फरार आरोपी आठ महिनापछि पक्राउ

image आँखा संवाददाता मङ्गलबार, आषाढ २९ २०७८
image

संखुवासभा : जबरजस्ती करणी मुद्दाका फरार आरोपी आठ महिनापछि पक्राउ परेका छन्। मादी नगरपालिका–५ का ३१ वर्षीय ज्ञानबहादुर मोक्तानलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

मोक्तानलाई सोमबार मादी राम्बेनीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले बताए। २०७७ मंसिर १८ गते ३६ वर्षीया महिलालाई जबरजस्ती आरोपमा पीडितले मोक्तानविरुद्ध मंसिर २२ गते ईलाका प्रहरी कार्यालय चैनपुरमा किटानी जाहेरी दिएका थिए। 

जाहेरी भएलगत्तै मोक्तान फरार भएका थिए। गाउँमा लुकिछिपि बसेको अवस्थामा मादी राम्बेनी प्रहरी चौकीको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक खतिवडाले बताए । पक्राउ परेका मोक्तानलाई सोमवार नै जिल्ला अदालत संखुवासभाबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।