पत्रकार धम्क्याउने प्रअको कार्यप्रति प्रेस क्लव र मञ्चको आपत्ति  

image आँखा संवाददाता मङ्गलबार, आषाढ २२ २०७८
image

भद्रपुर, २२ असार । पत्रकार पार्थ मण्डललाई धम्क्याउन कानुन विपरित पत्र काट्ने कचनकवल ६ बनियानी स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक राजु बुढाथोकीलाई कडा कारवाही गर्न प्रेस क्लव भद्रपुरले माग गरेको छ ।

क्लवका अध्यक्ष गोविन्दचन्द्र छेत्री तथा महासचिव उत्तम नेपालद्वारा जारी विज्ञप्तिमा आफू नै सर्वैसर्वा भएको शैलीमा स्वतन्त्र प्रेसमाथि धावा बोल्ने प्रअ बुढाथोकीलाई स्थानीय प्रशासन मार्फत कडा कारवाहीको माग गरिएको हो ।

प्रेस विज्ञप्तिमा भनिएको छ—प्रेस क्लब भद्रपुरका सचिव तथा भद्रपुरबाट प्रशारित टाइम अफ प्रदेश अनलाइन खवर पत्रिकाका सम्पादक पार्थ मण्डललाई झापाको कचनकवल गाउँपालिका ६ बनियानी स्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिन जारी गरेको पत्राचार गरेको विषयमा प्रेस क्लव भद्रपुरको गम्भीर ध्यानाकर्षण भएको छ । प्रअ बुढाथोकीले आफू नै सर्वैसर्वा भएको ठानेर सो पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको घटनालाई प्रेस स्वतन्त्रतामाथिको धावा बोल्ने प्रयास भएको हाम्रो ठहर छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो खुल्ला हुँदाहुँदै सार्वजनिक निकायका रूपमा रहेको विद्यालयको प्रधानाध्यापकजस्तो जिम्मेवार व्यक्तिबाट आफू नै राज्य र कानुन भएको छनक दिँदै पत्रकारलाई स्पष्टीकरण सोध्न पत्राचार गर्नु तथा सो पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु आफैंमा आपत्तिजनक अपराध उन्मूख प्रेस स्वतन्त्रताविरोधी काम हो । पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने धम्कीपूर्ण कार्यको प्रेस क्लव निन्दा र कडा भत्र्सना गर्दछ । यस्ता प्रेस स्वतन्त्रता विरोधी कार्य तत्काल सच्याउन र आइन्दा यस्ता गतिविधि नदोहोर्याउन सम्वन्धित पक्षलाई चेतावनी सहित सचेत गराइन्छ ।

समाचारको विषयलाई लिएर स्पष्टीकरणको नाममा पत्रकारलाई धम्क्याउने, हतोत्साहित र त्रसित बनाउने जस्ता  प्रेस स्वतन्त्रताविरोधी गतिविधि गर्ने प्रधानाध्यापक राजु बुढाथोकीमाथि छानबिन गरी कानुनी कारबाही गर्न सम्वन्धित स्थानीय सरकार तथा मातहतको शिक्षा समिति, शिक्षा विकास समन्वय इकाइलाई प्रेस क्लव भद्रपुर विनम्र आग्रह गर्दछ । साथै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन जिल्ला स्थित प्रहरी प्रशासनलाई समेत ध्यानाकर्षण गराउँदछौं भनिएको छ ।

यसैगरी खोज पत्रकारिता मञ्च चन्द्रगढीले पनि पत्रकारितामाथि धावा बोल्ने प्रयास गरेका प्रअ बुढाथोकीलाई कानुनी राज्यमाथि नजान चुनौती दिएको छ ।मञ्चले विधि र प्रकृया नदेख्ने प्रधानअध्यापकको कार्य निन्दनीय भएको ठहर गर्दै यस्तो हर्कत नगर्न चेतावनी समेत दिएको छ