सुजिता भण्डारी मृत्यु प्रकरण : ८ घण्टापछि राजमार्ग खुल्यो

image आँखा संवाददाता सोमबार, आषाढ २१ २०७८
image

चितवन । मृत भेटिएकी सुजिता भण्डारीको परिवारलाई न्याय दिनुपर्ने माग सहित करिब ८ घण्टा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ । घटनाको निष्पक्ष छानविन गर्ने सहमतिपछि राजमार्ग सुचारु गर्न स्थानीय तयार भएका हुन् ।

इलाका प्रहरी कार्यालय भण्डारामा मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, चितवन प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, मृतकका परिवारसहितको छलफलपछि सहमति बनेको हो ।

राप्ती-३ झुरझुरे स्थित पेट्रोलपम्प नजिकै स्थानीयले हत्यारालाई कडा कारवाही हुनुपर्ने ग्यारेण्टी गर्नुपर्ने मागसहित दिनभर नाराबाजी गरेका थिए । प्रदर्शनस्थलबाट करिब ४ किलोमिटर उत्तरतर्फको बह्रमस्थानी सामुदायीक बनको खोल्सामा शव भेटिएको थियो । उनको घरभने प्रदर्शनस्थलबाट दक्षिणतर्फ करिब ५ किलोमिटर टाढा पर्छ ।

आइतबार मृत भेटिएकी सुजिताको शव जंगलबाट एम्बुलेन्समा प्लास्टिकले बेरेर राजमार्ग क्षेत्रमा प्रहरीको रोहबरमा ल्याइएको थियो । मेयर प्रभा बरालले शवको पोष्टमार्टम गरेर छिट्टै निष्पक्ष छानविन गर्ने र दोषिलाई कडा कारबाही गर्ने प्रतिवद्धतापछि राजमार्ग सुचारु भएको बताइन् । चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले चितवन प्रहरीले शतप्रतिशत रिजल्ट दिने गरी अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाइने बताए ।